झन्डै ४६०० सय एकछापे ‘भोट बैंक’ मानिएका किराँत धर्मगुरुको शरणमा शेखरदेखि झलनाथसम्म

झन्डै ४६०० सय एकछापे ‘भोट बैंक’ मानिएका किराँत धर्मगुरुको शरणमा शेखरदेखि झलनाथसम्म

काठमाडौं : यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा चुनावी रापताप चलिरहेको छ। 

विगतका निर्वाचनभन्दा फरक परिस्थिति आकलन गरिएको इलाम–२ मा यसपालि कसले बाजी मार्छ भनेर ठ्याक्कै अनुमान गर्न कठिन छ। चुनावी प्रतिस्पर्धामा रहेका मुख्य दल र स्वतन्त्र उम्मेदवारहरू आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छन्। 

अहिले एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ भने रास्वपाले मिलन लिम्बु र पहिचानवादीहरूको तर्फबाट डकेन्द्रसिंह थेगीम चुनावी प्रतिस्पर्धामा छन्। थेगीमलाई धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले पनि समर्थन गरेका छन्।

मत विभाजन हुने अनुमान गरिएको यसपालिको उपनिर्वाचनमा सदा किराँत धर्मगुरु आत्मानन्द लिङ्देन सेइङको निजी आश्रम रहेको माङसेबुङको लारुम्बा क्षेत्र विशेष चासोका साथ हेरिएको छ। चुनाव नजिकिएसँगै किराँत धर्मगुरुको आशीर्वाद लिन र भेट दर्शन गर्न उम्मेदवारहरू धाइरहेका छन्। 

करिब ४ हजार ६ सय एकछापे ‘भोट बैंक’ मानिएको धर्म गुरुको क्षेत्रबाट उम्मेदवारहरूले ठूलो अपेक्षा गर्ने गरेका छन्।

चुनाव नजिकिएसँगै केन्द्रीय नेताहरु पनि गुरुको निवास पुग्ने गरेका छन्। 

उपनिर्वाचनकै सिलसिलामा इलाम पुगेका कांग्रेस नेता डा.शेखर कोइरालाले गुरुलाई भेटेर कांग्रेसको अवस्थाबारे बताए। गुरु र कोइरालाबीच देशको अवस्थाबारे पनि मन्थन भएको थियो। 

भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरेका थिए। 

गिरिजाप्रसाद कोइराला तीन पटक आफूलाई भेट्न आएको स्मरण गर्दै लिङदेनले कोइरालालाई भनेका थिए, ‘गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएन। अब तपाईँले जिम्मेवारी लिनुपर्छ।’

जवाफमा नेता कोइरालाले आफू यति बेला सबैभन्दा माथि देश र जनता छन् भन्ने अभियान बोकेर हिँडेको बताए। कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशीर्वाद लिन आएको बताएका थिए।

डा.कोइरालापछि पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले गुरुसँग भेट गरेका छन्। 

कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु र पूर्वमन्त्री तथा सांसद खिनु लङवालाई लिएर आश्रम पुगेका खनालले घुमाउरो पारामा सहयोगको याचना गरेका थिए। 

शीर्ष नेताहरु मात्र होइन, उम्मेदवारहरू पालैपालो गुरु आश्रम धाइरहेका छन्। तर गुरुले कसैलाई पनि सहयोग गर्ने बचन दिएका छैनन्। उनी कुनै दल र नेतालाई खुलेर समर्थन जनाउँदैनन्। उनले अवस्था हेरेर निर्णय लिने गरेका छन्। 

नेताहरूले गुरु दर्शन गरे वा माङगेन्ना गरे शिर उँचो हुने र शिर नढल्ने धार्मिक विश्वास छ। किराँत धर्मगुरु फाल्गुनन्दकै अवतार मानिने आत्मानन्द आफ्नो क्षेत्रमा राम्रो पकड जमाएर बसेको भए पनि गुरु निकटका मतदाताले गुरुकै आदेश पालना गरेर मत खसाल्ने गरेको स्पष्ट तथ्यांक छैन। 

किराँत धर्म, संस्कृति जगेर्ना र आश्रम रहेको क्षेत्रमा पूर्वाधार विकासका काममा सघाएका नेताहरूप्रति बढी नरम हुने गरेका गुरुले कसैलाई पनि मत दिन आदेश दिने गरेको थाहा नपाएको स्थानीय बताउँछन्। जसका कारण पनि उनी सबैका प्रिय बनेका छन्।

अढाइ दशकदेखि सोही निर्वाचन क्षेत्रबाट विजयी हुँदै आएको स्वर्गीय सुवासचन्द्र नेम्वाङले गुरुकै आशीर्वादबाट परिणाम आफ्नो पक्षमा पार्दै आएको बताइए पनि त्यसमा सत्यता रहेको पाउन मुस्किल छ। 

गत स्थानीय तह निर्वाचनमा माङसेबुङ ५ बाट राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार नरेन्द्रकुमार राई प्यानलसहित विजयी भएका थिए। उनलाई कांग्रेस, माओवादी लगायतको साथ थियो। एमालेलगायत अन्य उम्मेदवार पराजित भएका थिए। 

विशेषगरी गुरुका अनुयायीहरूले उक्त क्षेत्रमा भइरहेको विकास निर्माणमा सघाइरहेका नेताहरूप्रति बढी झुकाव राख्ने गरेको पाइन्छ। दशकौंदेखि पिछडिएको उक्त क्षेत्रमा विकास निर्माणका कामहरू सोचे अनुरूप हुन सकिरहेका छैनन्। 

विश्वभर छरिएका किराँत धर्मावलम्बीको मुख्य धार्मिक केन्द्र मानिएको माङ्सेबुङ विकासका हिसाबले पछाडि छ। पटक पटक सोही क्षेत्रबाट विजयी हुँदै आएका स्वर्गीय नेम्वाङको कार्यकालमा पनि भरपर्दो काम नभएको स्थानीयको गुनासा छन्। 

राजनीतिक दलका नेता–कार्यकर्ताले चुनावका बेला गुरुलाई ‘अलि बढी नै आदर’ गर्ने गरेको स्थानीयको अनुभव छ। गुरुको मन जित्न उम्मेदवारहरूले अनेक उपाय लगाउने गरेका छन्। मांगेना समिति र किराँत धर्म तथा साहित्य उत्थान मञ्चलाई प्रभावमा पार्न उम्मेदवारहरूले अधिकतम प्रयोग गर्ने प्रयास गर्ने गरेका छन्।
 
हरेक मंसिर १८ मा धर्मगुरु लिङ्देनको जन्मोत्सवको औपचारिक कार्यक्रम उद्घाटन गर्न बर्सेनि देशका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसद लगायत पुग्ने गरेका छन्। 

माओवादी सशस्त्र द्वन्द्वका बेला लारुम्बाबासीले चरम सास्ती ब्यहोरेका थिए। तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि गुरु र गुरुका अनुयायीहरू कांग्रेसप्रति नरम देखिए पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने गरेका नेम्वाङले फाल्गुनन्दलाई आफ्नो पहलमा राष्ट्रिय विभूति घोषणा गरेको भनेर मतदाता प्रभाव पार्ने गरेका थिए। तर यसपालिको परिस्थिति बिलकुलै भिन्न रहेको स्थानीय पत्रकार सचित राई बताउँछन्।

हुन त धर्म गुरुप्रति सामीप्यता बढाउन उम्मेदवारहरूले विभिन्न गतिविधि गर्ने गरेका छन्। कांग्रेस उम्मेदवार डम्बर खड्काले गुरु र धर्मगुरुपत्नी साँवा पवित्रहाङमालाई वृहत् अभिनन्दन नै गरेका थिए। धर्म गुरुको ६८ औं नुमाङगेन्ना तथा धर्मगुरुपत्नीको ६६ औं जन्मोत्सवको अवसरमा भव्य समारोहबीच अभिनन्दन गरिएको थियो।

विश्व शान्ति, मानव एकता, मानवप्राणी एवं सृष्टि जगतकै रक्षाको लागि महान अभियानमा सञ्चालन गरी मानवमा उच्च चेतना जगाई समाज रूपान्तरणको कार्यमा किराँत धर्म, संस्कृति, भाषा, लिपि र साहित्यको प्रचारप्रसारमा पु¥याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको खड्काले बताए।  

गुरु आश्रम भएको आसपासमा किराँत समुदायको बाक्लो बस्ती छ। आश्रम आसपास मदिरा, मासु, खैनी, चुरोट, सूर्ती सबै निषेध छ। 

२०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पहिलो पटक आश्रम स्थल पुगेका थिए। त्यसपछि निरन्तर विशिष्ट व्यक्तिहरू आश्रम पुगिरहेका छन्। २०३४ देखि गुरु लिङ्देन लारुम्बामा बसोबास गर्दै आएका छन्। 

जातीय, वर्गीय, लिंगीय, विभाजनका विरोधी गुरु शान्तिका प्रवर्धक मानिन्छन्।  

८ बैशाख, २०८१, १९:२६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।