इलाम-२ उप निर्वाचन : ‘धर्म’ र ‘पहिचान’ मुख्य फ्याक्टर

इलाम-२ उप निर्वाचन : ‘धर्म’ र ‘पहिचान’ मुख्य फ्याक्टर

काठमाडौं : आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि स्वतन्त्र बाहेकका उम्मेदवारहरू तय भइसके। एमाले उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको विरासतमा उनका पुत्र सुहाङ चुनावी मैदानमा हुँदा उनलाई टक्कर दिन नेपाली कांग्रेसबाट डम्बर खड्का अनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू उम्मेदवार बनेका छन्।

माओवादी केन्द्रले एमालेलाई समर्थन गरेर उम्मेदवारी नदिए पनि एकीकृत समाजवादी, राप्रपा, जनमत पार्टी र पहिचानवादीहरूले उम्मेदवार घोषणा गरिसकेका छन्।

पहिचानवादीहरूको तर्फबाट डेकेन्द्रसिं थेगिम उम्मेदवार बनेका छन्। राप्रपाबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जीतबहादुर राई, जनमतबाट प्रेम थाम्सुहाङ र राप्रपा नेपालबाट गणेश चौहान उम्मेदवार बनेका छन्। तर मुख्य प्रतिस्पर्धा कांग्रेस,एमाले, रास्वपा र पहिचानवादीका उम्मेदवार थेगिमबीच हुने देखिन्छ।

खड्का यस अगाडि गठबन्धनबाट उम्मेदवार बनेर नेम्वाङसँग झिनो मतले पराजित भएका उम्मेदवार हुन्। उनी पार्टीभित्र शेरबहादुर देउवा निकट नेताका रूपमा परिचित छन्। उनलाई संस्थापनइतर समूहका नेताहरूको मन जित्नु मुख्य चुनौती देखिन्छ। सँगै गत निर्वाचनमा झिनो मतले पराजित भएपछि उनले पार्टीका मतदाताहरूलाई फोन गर्दै गरेको गालीले पनि नकारात्मक प्रभाव पार्न सक्छ।

सुहाङ लामो समय अस्ट्रेलिया बसेर नेपाल फर्किएका युवा हुन्। सुहाङलाई 'सुवासको ब्याज खान आएको' भन्ने आरोप छ। अहिले नै सामाजिक सञ्जालहरूमा ‘सनवाद’ भन्दै उनको आलोचना भइरहेको छ। पुस्त्यौली विरासतका आधारमा मात्र नभई क्षमता समेतको मूल्याङ्कनका आधारमा पार्टीले उम्मेदवार बनाएको पुष्टि गर्ने उनीमाझ ठुलो चुनौती छ। सँगै सो क्षेत्रका पुराना एमाले नेताहरूको मत जित्ने थप चुनौती सुहाइसँग देखिन्छ।

स्वतन्त्र उमेम्दवारहुँदै रास्वपाबाट उम्मेदवार बनेका मिलनमाथिको सबैभन्दा ठुलो आरोपै 'अवसरवादी' र उग्र जातिवादीको आरोप हो। उनी पत्रकारितामा रहँदा माओवादी केन्द्रसँग आबद्ध रहेर राजनीतिमा संलग्न थिए। सुवास नेम्वाङको निधनपछि उनी इलामबाट उम्मेदवार हुन माओवादी केन्द्र पार्टीभित्रै सङ्घर्ष गरेर नसकेपछि रास्वपामा प्रयास गरेका थिए।

रास्वपाले सुहाङलाई उम्मेदवार बनाउन कसरत सुरु गरेपछि हतारमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै उनले ‘रास्वपामा जानु भनेको वल्लो घरको नरे पल्लो घरमा सरे’ बराबर हुने भन्दै आलोचना गरेका थिए। अहिले सामाजिक सञ्जालमा उनको त्यही भिडियो क्लिप भाइरल भइरहेको छ।

उता मिलन दिनकै मतदातामाझ घरदैलोमा जाँदा यता केन्द्रमा भने रास्वपाका सभापति सहित एकपछि अर्को नेताको नाम सहकारी ठगीमा जोडिएर हेडलाइन समाचार बनिरहेकै छ।

यस अगाडिको निर्वाचन परिणामका आधारमा रास्वपाको मत जमानत जोगाउन सक्ने तहसम्मको समेत छैन। तर तनहुँको उपनिर्वाचनको परिणामको प्रभावले कतै इलाममा पनि चमत्कार हुन्छ कि भन्ने आशले उनको नाम पनि प्रमुख प्रतिस्पर्धीको सूचीमा देखिन्छ।

इलाममा पहिचानको मुद्दा सशक्त बनिरहेको बेलामा पहिचानवादी समूहले डेकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार बनाएका छन्। थेगिम यस अगाडि एमालेका कार्यकर्ता नै हुन्। उनलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले प्रचारमा साथ दिइरहेका छन्। अन्य दलबाट बनेका उम्मेदवारहरू पार्टीको अस्तित्व देखाउन बाहेक अन्य प्रभाव देखिन्न।

पार्टीगत पकेट भोट त भयो नै। तर यस पटकको निर्वाचनमा इलाममा केही मुद्दाहरूले नै उम्मेदवारको हार-जीतलाई निर्धारण गर्ने देखिन्छ।

देशव्यापी रहेको युवा (फ्रेस उम्मेदवार) को ह्विमले केही प्रभाव पारे पनि इलाम-२ को निर्वाचनमा मुख्य प्रभाव पहिचान र धर्मको विषयले ठुलो अर्थ राख्ने पक्का छ।

एमाले र रास्वपाले त्यही पहिचानको तीव्र हावा हेरेरै जातीय उम्मेदवार बनाएको प्रस्टै देखिन्छ। कांग्रेसले पहिचानको राजनीति मन नपराउने र खसहरूको भोट तान्ने रणनीति अनुसार खड्कालाई उम्मेदवार बनायो।

मतदाता र मतभार

इलाम क्षेत्र नम्बर २ लाई एमालेजनले आफ्नो किल्ला नै भन्दै आएका छन्। विगतका विभिन्न निर्वाचनले पनि यो तर्कलाई पुष्टि गर्छ। त्यहाँबाट स्व. सुवासचन्द्र नेम्वाङ लगातार जित्दै आएका छन्।

२०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका कूलबहादुर गुरुङलाई  नेम्वाङले हराएका थिए। त्यस्तै, २०६४ को संविधानसभा निर्वाचनमा पनि कांग्रेसकै केशव थापा नेम्वाङसँगै पराजित भए।

नेम्वाङको जितको शृङ्खला त्यतिमा मात्र सीमित छैन। २०७० र २०७४ कांग्रेसका तत्कालीन महासमिति सदस्य भेषराज आचार्यलाई नेम्वाङले हराए। २०७९ सालमा पनि  कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का नेम्वाङसँगै पराजित भएका थिए।

यद्यपि मतभारको हिसाबले हेर्दा एक वर्षअघिको निर्वाचनमा भने नेम्वाङ ११४ मतको झिनो मतान्तरले विजयी भएका थिए। एमाले उम्मेदवार नेम्वाङ ३० हजार २० मतका साथ विजयी हुँदा तत्कालीन सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका खड्काले २९ हजार ९०६ मत पाए।

तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवार प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए। चौथो स्थानमा मङ्गोल नेशनल अर्गनाइजेशनका मनीबहादुर लिम्बुले १ हजार ३ सय ६३ र जनमुक्ति पार्टीका खड्ग प्रसाद पालुङवाले १ हजार २ सय ७२ मत पाएका थिए। जसपाका याम प्रसाद लिम्बुले ७ सय २४ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्द लिम्बुले ६ सय ८४ मत पाएका थिए। त्यस्तै, राप्रपाका गणेश दुलालले ५ सय १० मत पाएका थिए।

भौगोलिक अवस्थितिको दृष्टिकोणबाट इलाम नगरपालिका समेत समेटिएको यो क्षेत्र सहरी बसोबासका साथै आदिवासी जनजाति त्यसमा पनि लिम्बुहरूको उल्लेख्य जनसङ्ख्या रहेको निर्वाचन क्षेत्र हो।

यहाँ इलाम नगरपालिकासँगै देउमा नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन्।

गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ।

इलाम नगरपालिकाको मेयर र चुलाचुली गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको थियो। २०४९ सालको स्थानीय निर्वाचनपछि पहिलो पटक इलाम नगरपालिकामा कांग्रेसले जितेको हो।

स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने इलाम–२ मा कांग्रेसले एमालेभन्दा चार सयभन्दा बढी मत ल्याएको थियो।

कांग्रेसले ३२ हजार ९ सय ७८ मत पाउँदा एमालेले ३२ हजार ५ सय २७ पाएको थियो। माओवादीले २ हजार ७ सय १७, जसपाले ५ सय ५४, एकीकृत समाजवादीले २ सय ७७ र  राप्रपाले  १ सय ३० मत पाएका थिए।

त्यस्तै, २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २२ हजार ३ सय ३३, एमालेले २६ हजार ५ सय ६२, माओवादी केन्द्रले पाँच हजार १ सय ५३, जनता समाजवादीले ९ सय ६, एकीकृत समाजवादीले ५ सय ८६ र स्वतन्त्रले ४ हजार ६ सय ८६ मत प्राप्त गरेका थिए। पछिल्लो समय करिब ६ सय जति नयाँ मतदाता थपिएका छन्।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्न नसके पनि एमाले उम्मेदवार सुहाङलाई माओवादीको समर्थनहुँदा एमालेको पुरानो मत जोगाउन सके पाँच हजार मत थपिन सक्छ। तर मिलनको पृष्ठभूमि माओवादी नै रहेको र उनले इलाममा माओवादीमै रहेर राजनीति गरेकाले माओवादीले उम्मेदवार नउठाउँदा त्यसको फाइदा मिलनले पाउने सम्भावना पनि छ नै।

मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी लगायतको मत पहिचान पक्षधरको मत हो।

पहिचान फ्याक्टर

यो क्षेत्रमा यसपटक पहिचान मुद्दाको प्रभाव बलियो देखिन्छ। कोशी नामाकरणसँगै सुरु भएको आन्दोलनले अहिले त्यहाँ पहिचानको मुद्दा सशक्त बनाएको छ। देशभरका सबै पहिचानवादीहरू अहिले इलाममा केन्द्रित भएका छन्।

तथापि गत वर्षको सङ्घीय चुनावको परिमाणलाई हेर्दा पहिचानवादी दलहरूले चौथोदेखि सातौँ स्थान हासिल गरेको देखिन्छ। 

कोशी नामाङ्कनपछि प्रदेशको पुनः नामाकरण गर्न पहिचानवादी समूहले थुप्रैपटक आन्दोलन गरिसकेको छ। यस आन्दोलनकाबीचमा पहिचानवादीका तर्फबाट लाजेहाङ लिम्बूले वीरगति पाए। सरकारले उनलाई शहीद घोषणा गरेको छ। पहिचानवादीले यसलाई आफूहरूको आन्दोलनको सफलता मान्ने गरेका छन्।

यस आन्दोलनको नेतृत्वकर्ता थेगिम अहिले चुनावी मैदानमा छन्। उनलाई यायोख्का, याक्थुम, चुम्लुङ लगायतका ४२ वटा पहिचानवादी समूहले लिखित समर्थन दिएका छन्।

८० प्रतिशत बढी राई, लिम्बू लगायतका आदिवासी जनजातिको बसोबास रहेको त्यस क्षेत्रमा पहिचानवादी समूहको समर्थनको ठुलै अर्थ राख्छ।

सँगै, कोशी प्रदेशको पुनः नामाङ्कन आन्दोलनमा एउटै मोर्चामा रहेका प्रेमदीप थाम्सुहाङ जनमत पार्टीबाट उम्मेदवार बनेका छन्। केही समयअघि पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली झापा जाँदा ढुङ्गा प्रहार गर्ने समूहको नेतृत्व उनै प्रेमदीपले गरेका थिए। यस मानेमा उग्र पहिचानवादीको मत प्रेमदीपलाई जान सक्छ। त्यसो हुँदा पहिचानवादीकै मत बाँडिने देखिन्छ।

उसो त रास्वपा उम्मेदवार मिलन पनि माङ्सेबुङकै स्थानीय हुन्। कट्टर पहिचानवादी पहिचान बनाउने प्रयास गरिरहेका मिलनको पक्षमा पनि मत जान सक्छ।

एमालेको छवि पहिचान विरोधी देखिए पनि इमानी नेताको छवि बनाएका अनि पहिचानको पक्षमा वकालत गरेका स्व. सुवासको इमानको ब्याज सुहाङले नपाउने कुरै भएन।

धर्म फ्याक्टर

उक्त क्षेत्रमा निर्वाचन जित्न किरात धर्मगुरु आत्मनन्द लिङ्देनको आशीर्वाद अनिवार्य जस्तै देखिएको छ। महागुरु फाल्गुनन्दका चेला आत्मनन्द अहिले आफैँ गुरु बनेका छन्। यसअघिका सबैजसो निर्वाचनमा नेम्वाङलाई उनै धर्मगुरुको समर्थन थियो।

माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ र ३ तथा आसपासका भूभागमा ती धर्मगुरुको प्रभाव जबरजस्त देखिन्छ।

मतदाताहरू पनि 'गुरुको कुरा काट्न नसक्ने' भन्दै मतदान गर्ने गरेको पाइन्छ। इलाम -२ का एक मतदाताका अनुसार धर्मगुरुले मतदानको एक दिनअघि सर्कुलर गर्ने र मतदाताले त्यही अनुसार मत जाहेर गर्ने गरेका छन्।

'अस्तिको (एक वर्षअघिको) चुनावमा पनि सधैँ जस्तै नै भयो,' ती मतदाताले भने, 'हाम्रो गाउँका सबै जना अन्तै मत हाल्ने पक्षमा थियौँ। तर, अघिल्लो दिन गुरुले अर्कैतिर मत हाल्न भन्नुभयो। गाउँमा गुरुको कुरा काट्ने लगभग कोही छैन भन्दा हुन्छ।'

ती धर्मगुरुले आफ्नो प्रभाव क्षेत्रको ४ हजार ५ सय देखि ५ हजार मतसम्म प्रभाव पार्न सक्ने बताइन्छ, जुन निर्वाचन हार्न वा जित्न निर्णायक हुनसक्छ।

यस हिसाबले यो निर्वाचनमा पहिचानवादी उम्मेदवार थेगिमलाई फाइदा हुनसक्छ। थेगिम धर्मगुरुका चेला समेत हुन्। कोशी नामाङ्कनपछि एमालेसँग बिच्किएका धर्मगुरुले एमाले उम्मेदवार सुहाङलाई समर्थन गर्ने पक्षमा नदेखिएको र मिलनलाई विश्वास गर्ने अवस्था बनिनसकेको धर्मगुरु निकट स्रोतले उकेरालाई बतायो।

पटक पटक जित्दा समेत किरात धर्मगुरुको क्षेत्रमा माग गरे अनुसारको विकास नगरेको आरोपसमेत एमालेले खेप्दै आएको छ।

कोशी प्रदेशको नामकरणको विषय वा पहिचानको मुद्दा र दुर्गा प्रसाईँको अभियानले देशव्यापी रूपमा ठुला दलहरूलाई परेको असरबाट इलाम पनि अछुतो छैन।

प्रदेश नम्बर १ लाई कोशी नामाकरण गर्ने सरकारको नेतृत्व एमालेले गरेको र पहिचानका विषयमा एमाले नेतृत्वले पटक पटक दिएको विवादास्पद अभिव्यक्तिले पहिचानवादीको निसानामा एमाले देखिन्छ।

किरात धर्मगुरुको आशीर्वाद र जातीय मतलाई आफ्नो पक्षमा पार्दै आएको एमालेले यसपटक ती दुवै पक्ष गुमाउने देखिन्छ।

कुनै न कुनै रूपमा सो क्षेत्रमा क्रिश्चियन मतदाताको पनि प्रभाव छ नै। क्रिश्चियन धर्मावलम्बीहरू पनि विभिन्न समूहमा विभाजित भए पनि निर्वाचनमा उनीहरूको प्रभाव पर्ने नै छ। सो क्षेत्रमा हिन्दु धर्मावलम्बीहरूको उपस्थिती पनि कमजोर छैन।

राष्ट्रिय तहमै ह्विमका रूपमा रहेको रास्वपा क्रेजले मिलनलाई केही थप सहानुभूति मत आउन सक्छ। तर उनी स्वतन्त्र उम्मेदवार बन्दा साथ दिएका धरान उपमहानगरका मेयर हर्क अनि रास्वपाको उम्मेदवार बनेपछि बिच्किएर उनको विपक्षमा सामाजिक सञ्जालमा सक्रिय छन्। त्यसको केही हदसम्म प्रभाव पर्ने नै देखिन्छ।

खुल्लेयाम रूपमा दिनमै १० भन्दा बढी स्ट्याटसहरू लेखेर मिलनलाई अवसरवादी र रास्वपालाई पहिचानविरोधी भन्दै गाली गरिरहेका हर्क बुधवार इलाम पुगेका थिए।

यसअघि काठमाडौँ महानगरका मेयरलाई समेत भेटेर पहिचानवादी उम्मेदवार डेकेन्द्रको पक्षमा समर्थन जुटाउन लागिपरेका साम्पाङले अहिले इलाममा डेकेन्द्रको पक्षमा क्याम्पियन चलाइरहेका छन्।

सचेत मतदाताले विकासको मुद्दालाई मतदान गर्न सक्छन्। बहुपतिक्षीत आयोजनाहरू रवि–राँके सडक, इलाम–मंगलबारे सडक, जितपुर–सिद्धीथुम्का सडक, रतुवा खोला पुल वर्षौँदेखि अलपत्र छन्।

त्यहाँबाट एमालेले पटक पटक जितिरहेको हुनाले कांग्रेस, रास्वपा, एकीकृत समाजवादी, राप्रपा जस्ता पार्टीहरूले आफूहरू राज्यको जिम्मेवार ठाउँमा नपुगेको भन्दै आरोपबाट उन्मुक्ति पाइरहेका छन्।

इलामको बेसार, अदुवा, चिया लगायतलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने ब्रान्डिङ गर्न सक्ने जनप्रतिनिधि अहिलेसम्म नपाएको त्यहाँका मतदाताको गुनासो सधैंझै यसपटक पनि छ नै। यो मुद्दालाई प्रभावकारी रूपमा उठाउन सक्ने उम्मेदवारलाई सहानुभूति मत आउन सक्छ।

२३ चैत, २०८०, १६:०३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।