रविको दाबी ‘इतिहास लेख्न हिँडेकाले पत्रिकाको हेडलाइनको चिन्ता छैन’

रविको दाबी ‘इतिहास लेख्न हिँडेकाले पत्रिकाको हेडलाइनको चिन्ता छैन’

इलाम : विभिन्न सहकारीमा रहेको बचतकर्ताहरूको रकम दुरुपयोग गरेको आरोपमा घेरिएका गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको इतिहास लेख्न अघि बढेकाले पत्रिकाको हेडलाइनको चिन्ता नभएको दाबी गरेका छन्।

उनीमाथि पोखराको सुर्यदर्शन सहकारी, बुटवलको सुप्रिम अनि काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा रहेको बचतकर्ताहरूको रकम जीवी राई समूहसँग मिलेर अपचलन गरेको आरोप छ।

अनुसन्धानमै सुदर्शन र सुप्रिमबाट लामिछानेको नाममा ऋण प्रवाह भएको देखिएको छ भने उनी समेत प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालीमा विभिन्न सहकारीबाट ८० करोड बढी रकम अवैध रूपमा लगिएको सार्वजनिक भइसकेको छ।

लामिछाने सहकारी ठगीमा जोडिएकोबारे छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग चर्काएपछि सत्ताधारी दलको सहमतिमा हठात् संसद् अधिवेशन अन्त्य गरेको थियो।

इलाम- २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवारको पक्षमा माहौल बनाउन पुरेका उनले बेइमानहरूसँग आफ्नो इमानको प्रमाण पत्र नदेखाउने बताए। उनले इमानदारहरूसँग इमानको प्रमाण देखाउने दाबी गरे।

‘मलाई पत्रिकामा के लेखिन्छ, थाहा छैन? यो देशको इतिहास लेख्न हिँडेको मान्छे हुँ। पत्रिका आज सकिन्छ, इतिहास भोलि लेखिन्छ,’उनले दाबी गरे।

७ बैशाख, २०८१, १६:२८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।