तल्लो पेट सफा गर्दा मृत्यु भएकी भिमाको परिवार आन्दोलित, मृत्युको कारण गम्भीर रोग रहेको अस्पतालको दाबी

तल्लो पेट सफा गर्दा मृत्यु भएकी भिमाको परिवार आन्दोलित, मृत्युको कारण गम्भीर रोग रहेको अस्पतालको दाबी

सुर्खेत :  तल्लो पेट दुखेपछि  २०८० चैत २६ गते उपचाका लागि आएकी दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २२ बर्सिया भिमा गुरुङ बलामी फर्किएर घर जान पाइनन्।

आठ महिनाकी दुधे छोरी काखमा च्यापेर उपचारका लागि उनी २७ गते सुर्खेत आएकी थिइन्। सुर्खेतस्थित राना मेडिकलमा चेकजाँच गर्दा पाठेघरमा बच्चाको सालनाल रहेको भन्दै कर्णाली प्रदेश अस्पतालमा रिफर गरे।

श्रीमानलाई फोन गरेर सबै बताइन्। नेपाली सेनाका जागिरे उनका श्रीमान् नवराज बलामी बुटवलबाट हिँडे। २७ गते नै प्रदेश अस्पतालमा पुगेर भिमाले चिकित्सकलाई देखाइन्। चिकित्सकले पाठेघरमा सफा गर्न अप्रेसन गर्नुपर्ने भन्दै २८ गते आउन भने।  

उनी र नवराज २८ गते अस्पताल पुगे। भिमा अस्पताल भर्ना भइन्। आठ महिने छोरीलाई काखीमा च्यापेर नवराज भिमाको स्याहार गरिरहेका थिए।

चैत २९ गते १ बजे उनको अप्रेसन गर्ने समय थियो। ठिक भइहाल्छ भन्दै चिकित्सकले सान्त्वना दिए। रगत लगायत अप्रेसनमा चाहिने सामग्रीको बन्दोबस्त गरे नवराजले। १ बजे अप्रेसन कक्षमा लगिएकी भिमाको १ : ३० सम्म पनि कुनै रिपोर्ट आएन। चिकित्सकले अवस्था सामान्य रहेको बताए।

२ : ४५ तिर चिकित्सकले अवस्था अलि गाह्रो भएको बताए। जब श्रीमतीको अवस्था बुझ्न नवराज भित्र गए भिमाको श्वास प्रश्वास रोकिएर कृत्रिम श्वासप्रश्वास दिएको देखे। त्यसको १५ मिनेटमै अस्पतालले भिमालाई मृत घोषणा गर्यो।

अस्पतालले शव बुझ्न भने पनि परिवारले मानेनन्। शव पोस्टमार्टम गृहको फ्रिजमा राखिएको छ। उनका आफन्त उचित क्षतिपूर्ति र घटनाको छानबिन गर्नुपर्ने माग राख्दै आन्दोलनमा छन्।

पटक–पटक अस्पताल र प्रदेश सरकारसँग वार्ता हुँदा पनि वार्ता सफल भएको छैन। परिवारका सदस्यहरूले चिकित्सकको लापरबाहीले मृत्यु दाबी गरिरहेका छन्।

उनका श्रीमान् नवराज बलामी एकोहोरो उपचारमा लापरबाही भएको दाबी गरिरहन्छन्।

‘आफन्तको घरमा बसेका छौँ, आठ महिनाकी छोरी साथमै छे। उसले आमा खोज्दै रुन्छे, म उसकी आमा कहाँबाट ल्याइदिऊँ,’ नवराजले भने।

मृतकका बुवा गोविन्द गुरुङले राहत, क्षतिपूर्ति, छानबिन समिति बनाई दोषीलाई कारबाही, बालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र रोजगारीको ज्ञारेन्टी नभएसम्म शव नबुझ्ने बताए।

पीडित परिवारकोतर्फबाट वार्ता गर्न आदिवासी जनजाति महासङ्घ सुर्खेतका कार्यवाहक अध्यक्ष अशोक राजीको संयोजकत्वमा वार्ता समन्वय समिति बनेको छ। उक्त समितिले अस्पताल प्रशासन, सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री यामलाल कँडेलसँग समेत विभिन्न चरणमा वार्ता गरिरहेको छ।

उक्त घटना बाहिर आएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशले समेत चासो देखाएका छन्। बिहीबार पीडित परिवारले इन्सेक र मानव अधिकार आयोगसँग संयुक्तरुपमा भेटघाट गरेर  ध्यानाकर्षण गराएका थिए।

प्रदेश अस्पतालका मेडिकल रेकर्डर अधिकृत तथा सूचना अधिकारी विनोद बस्नेतले विभिन्न चरणमा भएको वार्ताबाट सहमति हुन नसकेको बताए।

‘तीन–चार चरणको वार्ताबाट पनि सहमति हुन सकेको छैन। अस्पतालले घटनाको विषयमा जाँचबुझ समिति गठन गरेर अगाडि बढ्ने लगायतका विषयमा  सकारात्मक हुँदा पनि पीडित परिवारले मान्नुभएको छैन,’उनले भने, ‘क्षतिपूर्ति, बालिकाको पालनपोषण र शिक्षा, स्वास्थ्यको समेत माग राख्दै आएपछि सहमति हुन सकेको छैन।’

अस्पतालले रगत बग्ने (PV Bleeding) को समस्या भएर उनी आउँदा भिडियो एक्स-रे गर्दा पाठेघरमा सालको ट्युमर (Molar Pregnancy) देखिएको र सोको उपचारको लागि सोही दिन प्रसूति वार्डमा भर्ना गरी विशेषज्ञ चिकित्सकहरूको सल्लाह बमोजिम २०८० चैत २९  गते  एक पिन्ट रगत चढाए पश्चात् पाठेघर सफा गर्न अप्रेसन थिएटर लिएर सफा गरेको उल्लेख गरेको छ।

त्यसपछि बिरामीमा मोलार प्रिगनेन्सी (Molar Pregnancy) को एक गम्भीर जटिलता  पोल्मोनरी एम्बोलिजम (Pulmonary Embolism देखा परेको र त्यसको पहिचान गरी विशेषज्ञ चिकित्सकको टिमले बचाउने प्रयास गर्दा उनको मृत्यु भएको जनाएको छ।

जानकार चिकित्सकका अनुसार पोल्मोनरी एम्बोलिजम लाखौँ गर्भवती मध्ये एक जनामा हुने गर्छ। यसलाई एक घातक रोगका रूपमा लिइन्छ। यसको उपचार भनेको सफा गर्नु नै हुने जानकार चिकित्सकले बताए।

सफा गरेपछि अक्सिजन बन्द हुने, मुटु र फोक्सोमा रगतको सर्कुलेसन बन्द भई बिरामीको मृत्यु हुनसक्छ। एक स्त्रीरोग विशेषज्ञका अनुसार यस्तो केसमा बिरामी बाँच्न सक्ने अवस्था एकदमै कम हुन्छ। चिकित्सकले यसलाई हर्ट अट्याकको रूपमा समेत लिने गरेको देखियो। 

६ बैशाख, २०८१, २१:४५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।