राष्ट्रपति रनिङ शिल्डका लागि एक करोड ५० हजार खर्च

राष्ट्रपति रनिङ शिल्डका लागि एक करोड ५० हजार खर्च

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १४ औं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आगामी वैशाख ४ गतेदेखि सञ्चालन हुने भएको छ। 

बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै वैशाख ४ देखि ६ गतेसम्म चल्ने प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाइएको हो। 

संघीय प्रणाली अनुरूप विद्यालय तहमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थी खेलाडीहरूलाई खेल कौसल प्रदर्शन गर्ने अवसर प्रदान गर्न प्रतियोगितामा सातवटै प्रदेशबाट ६ सय ८६ खेलाडी सहभागी हुनेछन्। 

स्थानीय तह, जिल्ला तथा प्रदेश छनोट प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू सहभागी हुने यस प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलको प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। 

त्यसैगरी, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराँते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराँते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुने राखेपले जनाएको छ। 

एथलेटिक्सको छात्र छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराँते, तेक्वान्दो र उसुको छात्र÷छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र/छात्रमा समान १÷१ गरी ४ स्वर्णका लागि गरी जम्मा ६६ स्वर्णका प्रतिस्पर्धा हुनेछ। 

प्रतियोगिताको कुल पुरस्कार राशी ११ लाख ५२ हजार रुपैयाँ रहेको छ। प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ। समग्रमा टिम च्याम्पियनको उपाधि हात पार्ने टोलीलाई नगदसहित रनिङ सिल्ड प्रदान गरिने छ। 

लुम्बिनी प्रदेशले यसअघिका लगातार तीन संस्करणको उपाधि जितेको थियो। उपाधि जित्ने टोलीलाई दिइने रनिङ शिल्डका बारेमा पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। 

समग्रमा उपविजेता र तेस्रो हुने टिमलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने बताउँदै आयोजकले जुनियर राष्ट्रिय कीर्तिमानका लागि नगद १५ हजार पुरस्कारको व्यवस्था गरिएको बताएको छ। 

प्रतियोगिता सञ्चालनका लागि सरकारबाट एक करोड ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। 

२९ चैत, २०८०, २१:४१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।