थाइल्याण्ड पुगेका २७ वर्षीय छोरालाई फर्काएर होटल व्यवसायमा लगाएका अनन्त

थाइल्याण्ड पुगेका २७ वर्षीय छोरालाई फर्काएर होटल व्यवसायमा लगाएका अनन्त

बुटवल : बुटवलमा ईलेक्ट्रिक व्यवसायमा जमेको नाम हो, अनन्त थैव। उनको चाहना थियो- छोरा हुर्के, बढे अनि पढेपछि नेपालमै केही गरोस् र साँझविहानको खाना परिवारसँगै बसेर खान पाऊँ।

आफ्नो युवावस्थाको जोश विदेशमा पोखेर बुढेशकालमा औषधि खानको लागि मात्र नेपाल आउने अहिलेको परिपाटी उनलाई खासै मन परेको छैन। त्यसैले उनले जहिल्यै भन्थे- ‘सीप र अध्ययन विदेशमा सिकेर आऊ अनि नेपालमै केही गर।’

अनन्त थैव

अन्ततः अनन्तले भने जस्तै भयो। छोरा शान्तमले विदेशमा पढे अनि नेपालकै माटोमा केही गर्छु भनेर स्वेदश फर्किए। त्यसमा त्यसमा अभिभावकीय भूमिका निभाए अनन्तले।

बुटवलमा जन्मे हुर्केका शान्तम कक्षा ३ सम्म बुटवलमा पढे। प्लस टु काठमाडौं गरे। बीबीएका लागि भारत गए। एक बर्ष केही गरेनन्। त्यो समयमा होटलको योजना बनाए। त्यसपछि मास्टर्स पढ्न थाल्याल्यान्ड पुगे।

‘थाइल्याण्डमा धेरै अवसर देखेँ होटलमा। थाइल्याण्डमा कोरोना महामारीमा पनि होटल चलेको थियो। नेपालमा पनि नयाँ र फरक तरिकाले केही गर्न सकिन्छ भन्ने लाग्यो। बुवाले पनि यहीँ होटलकै प्राजेक्ट गर्ने भनेपछि नेपाल फर्के’, उनले भने।

नेपालमा आर्थिक मन्दी रहेपनि यो सधैँ रहँदैन भन्नेमा शान्तम विश्वस्त छन्। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले विदेशी उडान भएका छैनन्। त्यहाँ सधैँ यहि अवस्था रहन्छ भन्ने उनलाई लाग्दैन।

‘सुधार हुन समय लाग्छ। सुधार पक्कै हुन्छ। विमानस्थल चलायमान हुन समय लाग्छ। त्यसले गति लिएपछि झन् धेरै अवसरहरू आउनेछन्’, उनले भने।

उनको व्यापारिक लक्ष्य त्यतिमा मात्र सीमित छैन। बुटवल ट्रेड सिटी हो। यहाँ मार्केटिङ गर्न सके सफलता प्राप्त गर्न कुनै समस्या नभएको शान्तम बताउँछन्।

शान्तम थैव

शान्तमका बुवा अनन्त विदेशमा उच्च शिक्षा आर्जन गर्ने थलो भएको र त्यहाँबाट प्राप्त सीप र अध्ययन नेपालमै लगाउने छोराको सोचप्रति अहिले खुसी छन्।

‘युवा सबैलाई विदेश पलायन गराएर नेपाल वृद्धाश्रम नबनोस् भन्ने उद्देश्यले पनि छोरालाई नेपालमा फर्काएका हुँ,’ अनन्तल थपे, ‘यो प्रचलनको अन्त्य गर्न पनि यो प्रयास मैले गरेको हुँ।’

त्यसो त शान्तम अध्ययनकै क्रममा पनि व्यापारिक माहोलबाट टाढा थिएनन्। अध्ययन गर्न बुटवल बाहिर भएपनि वर्षमा तीन–चार पटक घर आउँथे। घर आएपछिको समय उनको व्यापारमा बुवालाई सघाउँथे। दिनभर नै उनी पसल समाल्थे।

‘विदेश म ६ वर्ष मात्र बसेँ। त्यहाँ धेरै सिकेँ। त्यहिँ सिकेको सीप, आर्जन गरेको शिक्षा र अनुभवलाई यहाँ लगाएको छु। थाहा छ केही चुनौती अवश्य छन् तर मलाई बुवाको साथ छ’, उनले थपे।

उमेरले भर्खर २७ लागेका शान्तमले तिलोत्तमास्थित जानकीनगरमा रहेको ‘दि क्राउन इन होटल प्रालि’ हाँकेका छन्। उनी होटलका म्यानेजिङ डिरेक्टर (एमडी) हुन्।

होटलका अध्यक्ष शान्तमका बुवा अनन्त थैव हुन्। उनले ४० करोडको ‘दि क्राउन ईन होटल प्रा.लि’ छोरा शान्तमलाई जिम्मा दिएका छन्। जेठो छोराले ईलेक्ट्रिक विजनेश समाल्दा आफूले सबैतिर अभिभावकत्व प्रदान गरिरहेका छन्। उनी रिटायर्ड भएर बसेका छन्।

जानकीनगरमा २ कठ्ठा क्षेत्रफलमा बनेको ६ तले भवनमा ‘दि क्राउन ईन होटल प्रालि’ नयाँ वर्ष २०८१ देखि ग्राण्ड ओपनिङ हुन लागेको होटलको तीन महिना अघि नै सफ्ट ओपनिङ भएको थियो।

होटलमा सेमि स्वटी, डिलक्स र सुपर डिलक्स गरी तीन क्याटेगोरीका ४० कोठा छन्। होटलका अध्यक्ष अनन्त थैव आफ्नो देशमा केही हुँदैन, सबै खत्तम भयो भन्ने निराशाजनक कुरा गर्न छाडेर केही वर्षमा पक्कै राम्रो हुन्छ भन्ने आशाका साथ काम गर्नुपर्ने बताउँछन्। सोही विश्वासका साथ आफूले होटलमा लगानी गरेको उनको भनाइ छ।

‘हस्पिटालिटीमा राम्रो सम्भावना छ। हामीले गुणस्तरिय सेवालाई सकेसम्म सस्तोमा दिने सोच राख्यौँ भने व्यवसाय सफल हुन्छ भन्ने मान्यता राखेका छौँ। त्यसैले थाइल्याण्डमा व्यवस्थापन विषयमा माष्र्टर डिग्री गरेको छोरालाई नेपालमा फर्काएर होटलमा लगानी गरेको हुँ’, उनले थपे।

होटलका जनरल म्यानेजर देविलाल सोमै पाहुनाका लागि थ्री बी र थ्री एसको सिद्धान्तअनुसार काम गरिरहेको बताए। बेष्ट बेड, बेष्ट बाथ, बेष्ट ब्रोडव्याउण्ड तथा बेष्ट सर्भिस, बेष्ट सेक्युरिटी र बेष्ट सेफ्टीलाई आफूहरूले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ।

‘यो पूर्णत विजनेश होटल हो। सबै रुमहरू पाँच तारे होटल स्टाण्डर्ड मेन्टेन गरेका छौँ’, उनले भने।

हाल होटलमा ५० जनाले रोजगारी पाएका छन्। होटललाई चेन विजनेश बनाएर फैलाउने प्रबन्ध निर्देशक शान्तमको योजना छ।

२९ चैत, २०८०, ०८:५४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।