निकिताले ‘साई सहकारी’को उपाध्यक्ष भएको स्वीकार गरिन् , बचत अपचलन नगरेको दाबी
काठमाडौँ : चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलले आफू साई सहकारी स्वागत बचत तथा ऋण सहकारी लिमिटेडको उपाध्यक्ष भएको स्वीकार गरेकी छिन्। उकेरामा छ महिना अगाडि प्रकाशित समाचारबारे चैत २६ को मितिमा चैत २७ गते पठाएको खण्डनमा २०७५ पुस २८ गतेको सहकारीको नवौँ वार्षिक साधारण सभाले आफूलाई सञ्चालक समिती उपाध्यक्ष पदमा नियुक्त गरेको उल्लेख गरेकी छिन्।
उनले आफू उपाध्यक्षमा नियुक्त भएको अभिलेखमा देखिए पनि आर्थिक वर्ष २०७५/०७६ को २०७६ पुस ९ को साधारण सभामा आफ्नो उपस्थिति नरहेको र २०७७ असोज ८ मा उपाध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेकी छिन्।
खण्डन पत्रमा उनले उल्लेख गरे अनुसार करिब एक वर्ष उनी सो सहकारीको उपाध्यक्ष भएर काम गरेको देखिन्छ। उनले २०७७ असोज ८ मा राजीनामा दिएको र नौ गते नै स्वीकृत भएको दाबी गरेकी छिन्। खण्डन पत्रमै उनले सहकारीले राजीनामा स्वीकृत भएको जानकारी पत्र भने २०८० असार ७ गते दिएको उल्लेख गरेकी छिन्।
उनले आफूले राजीनामा दिएपछि सहकारीको कुनै पनि जिम्मेवारी एवं भूमिकामा नरहेको र हाल उक्त सहकारी संस्थामा अरू नै व्यक्ती उपाध्यक्ष रहेको उल्लेख गरेकी छिन्। उनले सो सहकारीमा कुनै आर्थिक कारोबार बाँकी नरहेको उल्लेख गरेकाले उनी सहकारीमा रहँदा आर्थिक कारोबार रहेको सङ्केत गरे पनि के कति कारोबार गरेको हो सोबारे भने खण्डन पत्रमा उल्लेख गरेकी छैनन्।
ओम साई सहकारीले वचन फिर्ता नदिएको भन्दै काठमाडौँ महानगरपालिकामा उजुरी परेपछि उकेराले २०८० असार ४ मा ‘निकिता पौडेल उपाध्यक्ष रहेको साइ स्वागत सहकारविरुद्ध उजुरी, बचतकर्ताको पाँच करोड फिर्ता नगरेको दाबी’ शीर्षकमा पहिलो समाचार प्रकाशित गरेको थियो।
असार १४ मा ‘श्रीमतीलाई साई स्वागत सहकारीको उपाध्यक्ष बनाए पनि राजीनामा दिइसकेको रविको दाबी’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। यी समाचारबारे उनले खण्डन पत्रमा केही उल्लेख गरेकी छैनन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सो सहकारीबाट प्रवाह भएको ऋण सम्बन्धनमा अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौँमा दायर भएको अभियोग पत्रको आधारमा २०८० असोज २६ मा समाचार प्रकाशित गरेको थियो।
‘साई स्वागत सहकारीको दुई करोड हिनामिनाको दाबी, भरतजंगम र निकिता अभियुक्त बनेनन्’ समाचारमा सिआइबीको अनुसन्धानको आधारमा अभियोग लागेका व्यक्तिहरूबारे उल्लेख गर्दै सो सहकारीका अध्यक्ष भरत जङ्गम र तत्कालीन उपाध्यक्ष निकितालाई प्रतिवादी नबनाएको र निकितासँग सिआइबीले सामान्य सोधपुछ समेत नगरी उन्मुक्ति दिएकोबारे उल्लेख गरिएको थियो।
उनले सो समाचारमा समावेश तस्बिरमा ओम साइ सहकारीमा दुई करोड अपचलन भन्ने शब्द राखेकोमा खण्डन पत्रमा आपत्ति जनाएकी छिन्।
उकेराले २०८० चैत २१ मा ‘निकिता पौडेल उपाध्यक्ष भएको साइ स्वागत सहकारीमा काठमाडौँ महानगरको छापा, सिआइबीले दिएको थियो उन्मुक्ति’ शीर्षकमा प्रकाशित समाचारबारे पनि उनले खण्डन पत्रमा केही उल्लेख गरेकी छैनन्।
पत्रमा उनले असोज २६ मा प्रकाशित समाचारमा राखिएको तस्बिरमा राखिएको हेडलाइन र सो प्रकरणबारे आफूसँग नसोधिएको विषय उल्लेख गरेकी छिन्।
उनले’यदि कुनै बाँकी रहेको भए सो विषयमा कानुनी शासनको प्रत्याभूति हुनेगरि नियमसंगत एवं प्रक्रियागत तवरबाट सम्बन्धित निकायले मसँग संवाद एवं जानकारी लिन सक्नेमा सो तर्फ केही नबुझी निजी एवं व्यक्तिगत सरोकारसँग सम्बन्धित विषयलाई आम जनमानसमा भ्रम सृजना गर्ने तवरबाट समाचार सम्प्रेषण भएको’ बताएकी छिन्।
अहिले सो सहकारीबारे काठमाडौँ महानगर सहकारी विभागले अनुसन्धान गरिरहेको छ। काठमाडौँ महानगरपालिकाका सहकारी शाखा प्रमुख बलराम त्रिपाठीले उकेरालाई पोहोरै पीडितहरूबाट उजुरी आएको र महानगरको टोली साइ स्वागत सहकारी पुगेर अनुसन्धान गरिरहेको बताएका थिए।
निकिताले उकेरामा पठाएको खण्डन पत्र
चैत २७, २०८० मंगलबार १८:३१:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।