'सरकारले घोषणा गरेर पनि नदिएको खेलाडीको बक्यौता यही हप्ता दिने'

'सरकारले घोषणा गरेर पनि नदिएको खेलाडीको बक्यौता यही हप्ता दिने'

काठमाडौं : पुरस्कार घोषणा गरेर पनि नबाँडेको सरकारले यही साता खेलाडीको बक्यौता फर्स्यौट गर्ने युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्। 

राजधानीमा विश्वकपको जर्सी सार्वजनिक कार्यक्रममा उनले खेलाडीहरूको पुरस्कारको विषय खेलकुद परिषद् र मन्त्रालयबाट अगाडि बढेर अर्थ मन्त्रालयमा पुगेको बताए।  

उनले भने, ‘सबै जना जिम्मेवार र आफ्नो ठाउँबाट काम गर्न सक्ने हो भने खेलकुदको लागि नयाँ युग नै सुरुवात हुन्छ। खेलाडीहरूको पुरस्कारको कुरा पनि खेलकुद परिषद् र मन्त्रालयबाट अगाडि बढाएर अहिले अर्थ मन्त्रालयमा छ। हामी सबैको आशा छ, यो हप्ताभित्र खेलाडीहरूको त्यो बक्यौता सबैले पाउनु हुन्छ।’ 

उनले नीतिगत तहमा केही उपलब्धिहरू हासिल भएको भन्दै खेलकुदमा नीति क्षेत्रलाई आबद्ध गराउने विषयमा छलफल जारी रहेको बताए।

उनले खेल क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रसँग संवादमा रहेको जानकारी गराए।

उनले भने, ‘हामीले नीतिगत तहमा पनि केही उपलब्धिहरू हासिल गर्न सफल भएका छौं। अब खेलकुद क्षेत्रमा नीति क्षेत्रलाई पनि कसरी आबद्ध गर्ने कुराहरू छलफल गर्दा यो पालिको मौद्रिक नीतिमा पनि कर्पोरेट क्षेत्र, वित्तीय संस्थाहरूले पनि खेलकुदलाई कसरी माथि उठाउने, त्यसमा उहाँहरूको सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने जिम्मेवारीहरूलाई कसरी खर्च गर्ने भन्ने कुरा छलफल गर्दा त्यसमा पनि सकारात्मक कुराहरू आएको छ।’ 

२६ चैत, २०८०, १९:५१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।