कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, मध्यावधि हुनसक्ने जोखिम

कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, मध्यावधि हुनसक्ने जोखिम

काठमाडौं : कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाएका छन्।

खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेतीले सोमबार दिउँसो मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन्।

माओवादी संसदीय दलको सोमबार बसेको बैठकले मन्त्री फिर्ता बोलाउने र कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। 

विश्वासको मत फिर्ता लिएको जानकारी आजै प्रदेश प्रमुखलाई गराउने संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

माओवादी संसदीय दलको बैठकले संसदको विशेष अधिवेशनसमेत माग गरेको छ।  

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशीमा एमालेको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु भएको हो।

आइतबार साँझ गठबन्धनमा आबद्ध प्रमुख दलहरू एमाले र माओवादी केन्द्रका नेताहरूबिच नयाँ सरकार गठनका विषयमा छलफल भएको थियो। छलफल सकारात्मक भएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताएका थिए।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। नयाँ गठबन्धनमा ५७ सांसद छन्। तर, सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई हटाउन सहज छैन।

सरकार गठनका संवैधानिक प्रावधानका सबै विकल्प असफल भएपछि अन्तिम विकल्प अनुसार कार्की बहुमत पुर्याउन सफल प्रदेश सभा सदस्यको हैसियतमा मुख्यमन्त्री बनेका हुन्। एमालेसहितले संविधानको सोही प्रावधान अनुसार नयाँ सरकार गठन हुनसक्ने तर्क गरिरहेका छन्। तर कार्की नेतृत्वको सरकार ढलेमा कोशीमा मध्यावधि हुनसक्ने जोखिम छ।

 

२६ चैत, २०८०, १५:४९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।