ट्रेलरमै झसङ्ग बनाउन सफल बोक्सीको घर

ट्रेलरमै झसङ्ग बनाउन सफल बोक्सीको घर

काठमाडौँ : फिल्म ‘बोक्सीको घर’ को ट्रेलरमा अभिनेत्री केकी अधिकारीको फरक शैलीको अभिनय देखिन्छ। ट्रेलर केकी र पत्रकार बनेकी स्वेच्छा राउतको वरपर घुमेको छ। ब्याक ग्राउन्ड म्युजिकदेखि केकीको हाउभाउसम्म बलियो देखिन्छ फिल्ममा।

केकीले उकेरासँगको कुराकानीमा फिल्म हरर जनाराको नभई साइको फोसियल थ्रिलरमा आधारित फिल्म भएको बताएकी छिन्। यसरी हेर्दा गाउँको कुनै पात्र जसमा मानसिक समस्या हुन्छ उसको हाउभाउकै आधारमा उसलाई गाउँलेले दिने बोक्सीको परिचय र ती पात्रको उतार-चढावमा फिल्म केन्द्रित भएको देखिन्छ।

फिल्मको निर्माण समेत केकीले नै गरेकी हुन्। सुलक्षण भारती जस्तो रङ्गमञ्चमा खारिएका कलाकारले उनलाई फिल्ममा साथ दिएका छन्। ट्रेलरमा समावेश छायाङ्कन लगायतका पक्षहरू समेत बलियो देखिन्छ यो फिल्मको।

प्राय प्रेमिल चरित्रमा अभिनय गर्दै आएकी केकी आफैँ मूल चरित्र बोक्सी बनेको यो फिल्म वैशाख १४ मा रिलिज हुँदैछ। ट्रेलरले हेर्नेक्रममा झसङ बनाउन सफल फिल्मले हलमा दर्शकलाई कतिको तर्साउन सक्छ त्यसैमा फिल्मको सफलता निर्भर देखिन्छ।

२५ चैत, २०८०, १६:०७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।