'कति काम नचाहेर पनि गरियो, सित्तैमा नि गरियो, तर पछुतो छैन'

'कति काम नचाहेर पनि गरियो, सित्तैमा नि गरियो, तर पछुतो छैन'

काठमाडौं : फिल्म ‘स्वर’बाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी केकी अधिकारीले अहिलेसम्म ३४ वटा फिल्ममा अभिनय गरिसकेकी छन्।

फिल्म ‘कोहलपुर एक्सप्रेस’बाट आफूलाई निर्मात्रीको रुपमा समेत उभ्याएकी केकीको लगानी यात्रा पछिल्लो समय फिल्म ‘बोक्सीको घर’ सम्म आइपुगेको छ। 'कोहलपुर एक्सप्रेस' को अनुभव सुखद भएन। 'बोक्सीको घर' आगामी वैशाख १४ गते प्रदर्शन हुँदैछ।

म्युजिक भिडियोबाट अभिनय सुरू गरेकी केकीले पछिल्लो समय रियालिटी कमेडी शो ‘कमेडी च्याम्पियन’मा पनि लगानी गरिन्। त्यसबाहेक उनले अहिले अर्को रियालिटी शो 'पोएट आइडल'की जजका रूपमा काम गरिरहेकी छिन्।

उनले निर्माण र अभिनय गरेको अधिकांश फिल्मले व्यवसायीक रुपमा असफल भएका थिए। पछिल्लो फिल्मलाई लिएर उत्साहित रहेकी केकीसँग यिनै विषयका सेरोफेरोमा रहेर उकेराकर्मी भोला अधिकारीले गरेको कुराकानी :

000

फिल्मको प्रमोसनले कतिको व्यस्तता बढेको छ?

अहिले त अत्याधिक नै बढेको छ। कलाकारको रुपमा मात्रै भन्दा पनि निर्माताका रुपमा पनि काम गरेको छु।

अनि फेरि यस्तो खाल्को विषय छानेको छु कि जुन विषयमा कमै फिल्म बन्ने गरेका छन्। र, कमै निर्माताले लगानी गर्न आँट्ने गरेका छन्। त्यस कारण पनि यो फिल्म दर्शकमाझ कसरी पुर्याउने होला भनेर लागि परेको छु।

यता, पोएट आइडलको जज र उता आफ्नै फिल्म प्रमोसनमा हिँड्नुपर्दा प्रेसर छैन?

हप्तामा एक दिन बिहान ८ बजेदेखि बेलुकाको ९ बजेसम्म सुटिङ हुन्छ, पोएट आइडलको। त्यो एक दिन मेरो लागि ब्रेक बसेको जस्तो लाग्छ। अरु दिन चाहिँ दौडधूप मात्र गरिरहनुपर्ने किसिमको काम हुन्छ। पोएट आइडलको एकदिन चाहिँ मलाई मेडिटेसन गर्न गा'को जस्तो अनुभव हुन्छ। फेरि यो प्रेसर केही हप्ताको लागिसम्म मात्र होनि त।

कविता नै नजान्ने मान्छेलाई पोएट आइडलको जज बनाइयो भनेर विवादमा पनि तानिनु भयो, त्यसलाई कसरी लिनुभएको छ?

मैले यस विषयलाई एकदमै पोजेटिभ तरिकाले लिएँ। किनभने यस्तो किसिमको कार्यक्रम गर्दा यस्तो बहस हुन एकदमै जरुरी छ। यो कार्यक्रमलाई आम मानिसले कत्तिको गम्भीरताका साथ लिनुभएको छ भन्ने कुरामा प्रस्ट हुने मौका पनि मिल्यो। यसले ममा थप जिम्मेवारी पनि बढायो।

अहिले त फरक क्षेत्रको जज हुँदाखेरि पोएट आइडल प्रतिस्पर्धा मात्र नभएर प्रस्तुति पनि हुन्छ भन्ने सन्देश गएको देख्छु।

प्रतिस्पर्धीहरुले एउटा पात्र बनेर नाटकीय रुपान्तरण गरेर, त्यो पात्रमा बाँधिएर अनि बल्ल आफ्नो कविता वाचन गर्नुहुन्छ। त्यो भइसकेपछि एउटा अभिनय पनि जानेको, चलचित्रमा लामो समयदेखि काम गरिरहेको व्यक्ति भयो भने त्यो प्रस्तुतिकरणहरुमा जज गर्न सजिलो हुन्छ भनेर मलाई लिनुभएको  हो।

अरूको क्षमतामाथि जज गर्न कतिको गाह्रो हुँदो रहेछ त?

धेरै गाह्रो कुरा हो। घरीघरी त मलाई यति ठुलो जिम्मेवारी लिएको छु, यो मैले सक्छु कि सक्दिँन भन्नेमै अल्झिन्छु। बरू आफ्नो समीक्षा आफैं गर्न सकिँदो रहेछ। तर अरूको क्षमतामाथि जज गर्न निकै कठिन हुने रहेछ।

अरुकोमा त कसरी गर्ने! सबै जनाको फरक फरक क्षमता हुन्छ। जुन कविता वाचनकै क्रममा पनि के चिजलाई आधार मानेर जज गर्ने, कवितालाई प्रायोरिटीमा राख्ने कि, पात्र कसरी बाँचेको थियो, त्यसलाई वाचन कसरी गरिरहेको छ भन्ने चीजलाई प्रायोरिटी राख्ने की... कति कुराहरुलाई सोचेर हामीले निर्णय गर्नुपर्ने हुन्छ।

जज मान्छेले हेरेजस्तो, देखे जस्तो सजिलो त रैन्छ। तर पनि जतिसक्दो आफ्नो बेष्ट दिने प्रयास गरेको छु।

फिल्म ‘बोक्सीको घर’मा तपाईँको जुन क्यारेक्टर देखिएको छ यसमा काम गर्ने सोचाइ कसरी आयो?

यो चाहिँ मैले हेरेको नाटक थियो। सन् २०१५ ताका, बोक्सीको घर नाम गरेकै नाटक। यसलाई चलचित्रकै लेखक तथा निर्देशक सुलक्षण भारतीले लेख्नुभएको थियो। सरिता गिरी दिदीले पर्फमेन्स गर्नुभएको थियो।

मलाई यो पात्रको यति लोभ लाग्यो त्यतिबेला, मैले चलचित्रमा पनि यतिको बलियो पात्रको भूमिका निवार्ह गर्न पाएको थिइँन र सायदै पाउँछु कि पाउँदिन थाहा छैन।

किनभने फिमेल क्यारेक्टर त्यति पावरफुल तरिकाले लेखिएको कमै पाइन्छ। हुन त यसमा पनि हाम्रो कमजोरी होला, त्यो चिजहरू हामीले खोजेका छैनौँ पनि। त्यही भएर पनि होला यो नाटकको पात्रले मलाई तानिरहेको थियो।

नाटकमा सीमित दर्शकमाझ मात्रै देखाइन्छ, आम दर्शकमाझ कसरी पुर्याउने होला भन्ने मेरो सोचाइ थियो। अनि त्यसलाई मनोरञ्जन पनि दिन सक्ने र सामाजिक सन्देश पनि दिनसक्ने बनाएर फिल्म बनाइएको छ।

कति फिल्ममा मनोरञ्जन हावी हुन्छ, सामाजिक सन्देश ओझेल पर्छ। कतिमा सामाजिक सन्देश दिन्छ, मनोरञ्जन कम हुन्छ। यसले दुवै थिममा बसेर दर्शकलाई बाँधेर राख्ने भएको हुनाले निर्माताका रुपमा पनि हात हालेको हो।

हरर फिल्म होस् या बोक्सीको कथामा निर्माण भएका फिल्महरूले खासै सफलता हात पारेको देखिँदैन नि?

खासमा सुरुवातबाट नै हरहर फिल्म, हरहर फिल्म भन्ने तरिकाले लिइएको छ। खासमा यो साइको फोसियल थ्रिलर हो। यो हरर फिल्म होइन। र, यो जनरामा लुट जस्ता चलचित्रहरु बनेका थिए।

त्यो सस्पेन्स थ्रिलर थियो भने यो चाहिँ समाजमा नै भएको चीजहरुबाट, हामीले कुनै पात्रको थ्रुबाट कथाको रहस्य एकपछि अर्को बिस्तारै खोल्दै जाने जनरा हुन्छ नि चलचित्रमा। त्यही जनरालाई समातेको हो।

को छ यो चलचित्रमा भन्दा पनि के छ भन्ने बिषय महत्वपूर्ण हुन्छ। त्यस कारण लामो समयसम्म पनि यो फिल्मले दर्शकलाई आकर्षण गर्छ भन्ने विश्वास छ।

लभ स्टोरी फिल्ममा काम गरिरहनु भएको थियो। फरक कथा बोकेको फिल्ममा काम गर्दा अप्ठ्यारो भएन?

यो चलचित्र पृथक छ। कामको दृष्टिकोणले, काम गराइको दृष्टिकोणले, यसअघि प्रदर्शनमा आएको मेरो चलचित्र ‘परदेशी २’ पनि लभ स्टोरीमा नै आधारित थियो। अहिलेसम्म ३३ वटा चलचित्रमा काम गर्दाखेरि आफ्नो कम्फर्टमा रहेर क्यारेक्टर गरियो।

मलाई धेरै जे क्यारेक्टर सुहाउँछ, त्यही क्यारेक्टर खोजियो। देखिरहेकै क्यारक्टरका लागि अफर आउँछ र त्यो भन्दा बाहिर हामी उम्कन सकिरहेको हुँदैनौँ। किनभने काम पनि गर्नैपर्ने हुन्छ। त्यही भएर पनि दर्शकलाई हरेक फिल्ममा सधैँ देखिरहेको, एउटै क्यारेक्टर लागिरहेको होला भनेर त्यस्ता फिल्म कम गर्न थालेकी छु।

भलै, त्यसमा पनि आफूले काम गर्ने अवसर त पाइन्छ। तर, मेरा ३३ वटामा काम गरेको चलचित्रको भन्दा यो फरक छ।

आफैं निर्माता, आफैं कलाकार हुँदा खास के हुने रैछ?

धेरै फरक हुन्छ नि। यसअघिको चलचित्र ‘कोहलपुर एक्सप्रेस’, ‘कमेडी च्याम्पियन २’ प्रोड्युसरका रुपमा काम गरियो। यिनीहरुमा कोही न कोही न केहि न केहि रुपमा कामको जिम्मेवारी बाँडफाँट हुन्थ्यो। यस पटक त एकदमै रिक्सी चलचित्र पनि छ र सोलो प्रोड्युसर पनि छु। यस हिसाबले रिक्स एकैचोटी बढेको पनि छ।

त्यसो भएपछि काम गराइको मजा पनि आउँछ। कसै न कसैले रिक्स लिनै पर्छ र लिइयो पनि। कलाकारको जिम्मेवारी एकदमै थोरै हुन्छ। कसैले दिएको जिम्मेवारी इमान्दारपुर्वक लिने मात्रै हो। अनि प्रमोसनको समयमा दौडने हो।

तर, चलचित्र निर्माणको आइडिया आएदेखि हलमा चलिसकेपछि पनि प्रोड्युसरको काम सकिँदैन।

आजसम्म त तपाईंलाई दर्शकले धेरै जसो लभ स्टोरी फिल्ममा देखिरहेका छन्। अब चाहिँ यस्तो खाल्को फिल्ममा काम गर्न पाए भन्ने कुनै छ?

लाग्छ। सबै खाल्को पात्रमा अभिनय गर्न पाए हुन्थ्यो भन्ने जो कसैलाई पनि लाग्छ। फरक-फरक कथा र पात्रमा अभिनय गर्न पाए हुन्थ्यो भन्ने लोभ हुन्छ। यो चलचित्र भन्दा अघिको चलचित्र फरक गरौँ भन्ने हुन्छ। तर सधैं यस्तो अवसरहरू पाइँदैन।

एकै जनराका धेरै फिल्म बन्छ नेपालमा। त्यसो भएपछि उस्तै कथाहरू दोहोरिने भए, उस्तै पात्र दोहोरिने भए नै। त्यस कारण अबको फिल्म आउँदाखेरि अभिनय गरिरहेको भन्दा फरक खाल्को होस् भन्ने चाहिँ लागेको नै छ।

‘स्वर’ फिल्मबाट अहिलेसम्म दर्जनौं फिल्ममा काम गरिसक्नुभएको छ। तपाईँका अधिकांश फिल्मले व्यवसायीक रुपमा गतिलो व्यापार गर्न सकेका छैनन्, कतिको स्वीकार्नु हुन्छ?

मैले ३४ वटा फिल्ममा आइपुग्दाखेरि थोरै चलचित्र सफल भए होलान्। धेरै चलचित्र असफल भए होलान्। अब सफलताको मापदण्ड पनि केलाई मान्ने भन्ने पनि हुन्छ।

जस्तो बक्स अफिसको रिपोर्ट कै हिसाबले हेर्ने हो भने अधिकांशले कमाएका छैनन् होला। थोरै चलचित्रले मात्रै लगानी उठाएको होलान्। अझ थोरैले ५१ दिन, सय दिन मनाएको पनि होला। तर मैले चाहिँ मेरो सफलता र असफलता भन्दा पनि काम गर्न अवसर मिलिरहेको छ भन्ने रूपमा बुझेको छु। यसबाट उर्जा मिल्छ।

एकपछि अर्को मेकरले पत्याइदिनुहुन्छ। मिडियाकर्मीहरुले उसले कामलाई सिरियस तरिकाले लिने व्यक्ति हो भनेर जसरी लिइदिनुहुन्छ नि यसलाई चाहिँ मैले सफलताको मापदण्ड बनाएको छु। त्यस कारण खासमा मैले गरेका कामहरू अहिलेसम्म सबै सफल छन्। त्यही भएर नै म यहाँसम्म आइपुगेको छु र यस्ता चलचित्र निर्माणमा आँट्न सक्ने भएको छु।

कहिलेकाँही तपाईंलाई पैसामुखि भइन् भन्ने आरोप पनि लाग्ने गरेको छ नि!

एकाध चलचित्रहरु त्यसरी पनि गरियो होला। हामी सबै जनाको संघर्ष आफ्नै हुन्छ। घरका समस्या आफ्नै हुन्छन्। त्यो हिसाबले पनि कति कामहरू नचाहेर पनि गरियो।

तर ती सबै काम गरेँ भनेर मलाई रिग्रेट छैन। त्यसले पनि त्यो समयका बेला, केहि न केहि गरिनुपर्ने भएर नै गरियोँ। त्यसले केहि न केहि कुरा सिकाएरै पठाएको छ। यस्ता आरोपहरूले के गर्न हुन्छ, के गर्न हुँदैन भनेर क्लियरिटी पाउन सकिन्छ।

यसमा मलाई कुनै रिग्रेट छैन र कतिपय फिल्महरू सित्तैमा पनि गरेको छु। चलचित्रको कथा,पात्रको लोभले पनि भो मलाई एक रुपैयाँ पनि चाहिँदैन भनेर पनि काम गरियो। सबैको आ–आफ्नै चीजहरू हुन्छ।

यस्ता आरोपहरूले तपाईँका धेरै गसिपहरु समेत बने, कतिको चित्त दुख्थ्यो?

मलाई कहिल्यै चित्त दुखेन। किनभने मेरो कामलाई नियाल्नुभएको, महत्व दिनुभएको चीजमा चाहिँ चित्त दुखाउनुपर्ने केहि छैन। गसिपबाट आफूले सिक्ने हो र आफूलाई सुधार्ने हो। यस्ता कुराहरुलाई सकिन्छ पढ्ने हो नत्र इग्नोर गर्ने हो। अब

पारिवारिक कुरा गरौँ, सफल व्यवसायी भनेर चिनिएका रोहित तिवारीसँग बैबाहिक बन्धनमा बाँधिनुभयो? सुटुक्क विवाह गर्नुको कुनै कारण थियो?

मेरो विवाह भयो भने तामझामका साथ गर्दिन भन्ने  नै सोच थियो। सानो विवाह गर्ने मेरो व्यक्तिगत रहर पनि थियो। दुवै परिवारको कुरा पनि हो। यसबाट म के सन्देश पनि दिन चाहन्थेँ भने, विवाह भन्ने बित्तिकै आफ्नो जिवनभरको कमाई लगाएर, बुबा आमालाई ठुलो सपना बोकाएर आफूले पनि ठूलो सपना बोकेर गर्नु हुँदैन भन्ने लाग्थ्यो।

सानो तरिकाले पनि खुशी हुन सकिन्छ। धेरै खर्च गरेर केहि हुँदैन भन्ने म आफूलाई लाग्ने भएको हुनाले पनि सामान्य तरिकाबाट गरेको हो। अर्को कुरा तपाईंले भने जस्तो सुटुक्क चाहिँ होइन। किनभने दुवै परिवारका मान्छेहरू बसेर गरेको बिहे सुटुक्क कसरी हुन्छ? (हाहाहाहा)।

अरु अभिनेत्री भन्दा फरक देखिन खोज्नुभएको हो कि?

हैन। हरेक व्यक्ति आफैंमा फरक हुन्छन्। आ–आफ्नो सोच हुन्छ,आफ्नै किसिमको कामहरू अगाडि बढाउने किसिमको छनोट हुन्छ। मेरो चाहिँ यही खाल्को थियो।

अब अन्तमा, विवाह गरेको २ वर्ष हुनै लागेको छ, काखमा सन्तान खेलाउन मन लागिसकेको छैन?

अहिले त मेरो बच्चाबच्चीको भन्दा पनि चलचित्र प्राथमिकतामा परेको छ। त्यस कारण मेरो सोच यतातर्फ गएको छैन। अलिक पछि त्यसका बारेमा सोचिन्छ होला।

२५ चैत, २०८०, ११:३०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।