कोशी सरकार फेर्न गठबन्धनभित्र छलफल : एमाले नयाँ सरकार बनाउन चाहन्छ, एकीकृत समाजवादी बैठकमै गएन

कोशी सरकार फेर्न गठबन्धनभित्र छलफल : एमाले नयाँ सरकार बनाउन चाहन्छ, एकीकृत समाजवादी बैठकमै गएन

काठमाडौं : कोशी प्रदेश सरकार परिवर्तन गर्ने विषयमा प्रारम्भिक छलफल सुरू भएको छ। केन्द्रीय सत्ता गठबन्धन परिवर्तन भएको लामो समयपछि गठबन्धनका नेताहरूबीचमा आइतबार छलफल सुरु भएको हो।

अहिले कोशीमा कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकार छ। एमाले कोशीका संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन गर्न एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागेको छ।

बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेत रेवतीरमण भण्डारीले बैठक सकारात्मक भएको र चाँडो  सरकार परिवर्तनको प्रक्रियामा जाने भन्ने छलफल भएको जानकारी दिए। उनले समर्थन फिर्ता, नेतृत्वको दाबी र विशेष अधिवेशन माग गर्ने तयारी भएको बताए। 

बैठकमा एमाले नेता हिक्मत कार्की, उपनेता राम राना साथै माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो,  दुर्गा चापागाईं र जीवन आचार्यको उपस्थिति रहेको थियो।

उक्त छलफलमा केन्द्रीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राई उपस्थित नै भएनन्। उनले यसअघि पनि कोशीमा सत्ता परिवर्तन गर्ने विषयमा फरक मत राख्दै आएका छन्। 

एमाले सचेतक भण्डारीका अनुसार अन्य दलका नेताहरू काठमाडौं गएको र आएपछि बैठक बस्ने सहमति भएर आजको बैठक टुङ्गिएको हो।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। नयाँ गठबन्धनमा ५७ सांसद छन्। तर, सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई हटाउन सहज छैन।

सरकार गठनका संवैधानिक प्रावधानका सबै विकल्प असफल भएपछि अन्तिम विकल्प अनुसार कार्की बहुमत पुर्याउन सफल प्रदेश सभा सदस्यको हैसियतमा मुख्यमन्त्री बनेका हुन्। एमालेसहितले संविधानको सोही प्रावधान अनुसार नयाँ सरकार गठन हुनसक्ने तर्क गरिरहेका छन्। तर कार्की नेतृत्वको सरकार ढलेमा कोशीमा मध्यावधी हुनसक्ने जोखिम छ।

२५ चैत, २०८०, १३:००:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।