'बद्री बहादुर' फ्लप हुने देखियो, जयकिशनले कला यात्रा छाड्लान् त !

'बद्री बहादुर' फ्लप हुने देखियो, जयकिशनले कला यात्रा छाड्लान् त !

काठमाडौं : भारतीय कमेडियन कपिल शर्माको शुभकामनादेखि फिल्म नचले कलाकारिता यात्रा नै छाड्नेसम्मको घोषणाले पनि दर्शकलाई फिल्म हेर्न हलसम्म ल्याउन 'बद्री बहादुर' टिम सफल भएन।

रिलिज भएको दिनदेखि नै अति कम शो पाएको फिल्म आइतबार पुग्दा जम्मा छ शोमा खुम्चिएको छ।

हलमा नेपाली फिल्म हेर्न दर्शक नआएका हैनन्। तर, ती बद्री बहादुर हैन महाजात्रा हेर्न आइरहेका छन्।

तेस्रो हप्तामा फिल्म पुग्दा पनि शो संख्या एक सय ५० हाराहारी पाइरहेको छ महाजात्राले। निर्माण टिमले दोस्रो हप्तासम्मको कारोबार सार्वजनिक गर्दै साढे १० करोड ग्रस कलेक्सन भएको दाबी गरेको थियो।

त्यति चर्चा नभए पनि जयकिशन बस्नेतले आफ्नै दर्शक समूह निर्माण गर्न सफल भएका थिए। तर पछिल्ला उनका फिल्महरू चल्न सकेका छैनन्। यसले उनले दर्शक गुमाएको देखियो।

बद्री बहादुर कमेडी जनारामा बनेको फिल्म हो जसलाई शोभित बस्नेतले निर्देशन गरेका हुन्।

सलोन बस्नेतले अभिनय गरेका छन्। महाजात्रा पनि कमेडी जनाराकै फिल्म हो। फिल्म मध्यम तहको भए पनि कमेडीमा डबल मिनिङको प्रयोग नगर्नु, परिवारका सबै उमेर समूहका सँगै बसेर हेर्न मिल्ने तहको निर्माण हुनुले फिल्मलाई दर्शकले रुचाए।

उता जयकिशनको ब्रान्ड नै डबल मिनिङको प्रयोग हो। ट्रेलरमै त्यो देखिन्छ। अभिनय मध्यम नै देखिन्छ।

पछिल्लो समय भाइरलको लोभमा जे विषयमा पनि प्रतिक्रिया दिने, विवादमा आइरहने उनको स्वभावले पनि जयकिशनलाई दर्शकले साथ नदिएको देखियो।

उनले लगातार फिल्म फ्लप भएकाले बद्री बहादुर पनि फ्लप भए कलायात्रा छाड्ने दाबी गरेका थिए।

तर उनको छवि बोलीमा अडिने खालको देखिन्न। तीन दिनको न्यून शो संख्याले फिल्म फ्लप सूचीमा चढिसकेको अवस्थामा उनले यो पटक बोलेको पूरा गर्दै कला यात्रा छाड्लान् त?

२४ चैत, २०८०, २१:१०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।