लुम्बिनीमा माओवादीबाट जोखबहादुर मुख्यमन्त्री नियुक्त

लुम्बिनीमा माओवादीबाट जोखबहादुर मुख्यमन्त्री नियुक्त

बुटवल : माओवादी संसदीय दलका नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। माओवादी संसदीय दलका नेता महराले शुक्रवार बहुमत (४४) सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

केन्द्रमा माओवादी केन्द्रले सत्ता गठबन्धन बदलेसँगै मुख्यमन्त्री डिल्ली चौधरी अल्पमतमा परे पनि उनले अन्तिम समयसम्म बहुमत जुटाउने प्रयास गरेका थिए। तर नागरिक उन्मुक्ति पार्टीको विवाद र स्वतन्त्र सांसदले साथ नदिए पनि उनले बिहीबार राजीनामा दिए।

उनले राजीनामा दिए लगत्तै प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरे अनुसार महराले सत्ता गठबन्धन दलका सांसदसँगै एक स्वतन्त्रसहित बहुमत पूर्याएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

महरालाई एमाले २९, जसपा ३, एकीकृत समाजवादी १ र स्वतन्त्र सांसद खड्ग बस्नेतले समर्थन गरेका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा उनले विश्वासको मत लिनुपर्ने छ।

२३ चैत, २०८०, १६:३०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।