पुरातात्विक सामग्रीले भरिएको चारपाला सामुदायिक बनलाई ‘खुला संग्रहालय’ बनाइँदै

पुरातात्विक सामग्रीले भरिएको चारपाला सामुदायिक बनलाई ‘खुला संग्रहालय’ बनाइँदै

बुटवल : ऐतिहासिक पुरातात्विक महत्वका वस्तुहरू रहेको बुटवल-१२ स्थित चारपाला सामुदायिक बनलाई संग्रहालयको रूपमा विकास गरिने भएको छ।

बन क्षेत्रको ब्लक १ मा रहेको योगीडाँडा लगायतको क्षेत्रलाई खुला संग्रहालयको रूपमा विकास गर्न लागिएको हो।

योगीडाँडा ऐतिहासिक एवं पुरातात्विक महत्वको क्षेत्र हो। यहाँ १२४ वर्ष पहिले इस्ट इन्डियाका वरिष्ठ पुरातत्वविद्हरू पीसी मुखर्जी र ६१ वर्षअघि देवाला मित्रले भ्रमण गरेको इतिहास छ।

वौराहा खोलाको पूर्व उत्तर जंगलमा टाटे पहरो अर्थात योगीडाँडामा माटाका भाँडाका टुक्रा, गाडधन फेला पार्ने उद्घेश्यले खनिएका खाल्डाहरू छन्। पहिरो गएको स्थानमा करिब ३ मिटरको उचाइमा विभिन्न किसिमका माटाका भाँडाहरू समेत भेटिएका छन्।

चारपाला सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष जगतनाथ शर्मा पौडेलले प्राचीन कालका भग्नावशेष बन क्षेत्रमा भेटिएकाले त्यस वरपरको क्षेत्रलाई संग्रहालयको रूपमा विकास गर्ने गरी अगाडि बढेको बताए।

बौराहा खोलाको बीचमा इनार रहेको छ। इनारको बाहिरी परिधि १५ फिट ६ इन्च र भित्री परिधि २ फिट १० इन्च रहेको छ। त्यस्तै सो इनारमा प्रयोग भएका इँटाको आकार ११ इन्च लम्वाइ, ८ इन्च चौडाइ र २ इन्च मोटाइ छ।

अध्यक्ष शर्माले चारपाला सामुदायिक बन क्षेत्रमा भेटिएका पुरातात्विक महत्वका कतिपय वस्तु हाल लुम्विनीस्थित संग्रहालयमा सुरक्षित गरिएको बताए।

हाल लुम्बिनीमा रहेका बुद्धको भूमि स्पर्स मुद्राको मूर्ति, जैमाला देव्या अभिलेखयुक्त प्रस्तर स्तम्भ १२६१ लेखिएको आमलक शिला भारतीय पुरातत्वविद् सीपी मुखर्जीले देखेका थिए।

त्यस्तै सो ठाउँमा भेटिएको श्री महाराज पुण्ये मल्ल १३५३ लेखिएको प्रस्तर स्तम्भ अर्थात् शिला स्थानीय अगुवा रामप्रसाद भट्टराईले २०७५ सालको अन्त्यतिर पत्ता लगाएका छन्। हाल यो प्राकृतिक चिकित्सालयको उत्तर पश्चिम प्रस्तावित संग्रहालयमा राखिएको छ।

‘योगीडाँडा वरिपरि भेटिएका पद्मपाणिको मूर्ति, जैमाला देव्या १२६२ र श्री महाराज पुण्ये मल्ल १३५३ लेखिएका दुई शिला र ध्यानी बुद्धको प्रस्तर प्रतिमाले यो ठाउँ केही न केही हो भन्ने नै देखाउँछ। त्यसैले यसबारे थप अध्ययन अनुसन्धान हुन जरुरी छ’, अध्यक्ष शर्माले भने।

योगीडाँडामा भग्नावशेषको थुप्रो 
पद्मपाणिको प्रशस्त भेटिएको योगीडाँडामा भग्नावशेषका रूपमा इटाका टुक्रा, छानोको रूपमा प्रयोग भएका खपटा, विभिन्न आकार प्रकारका मूर्ति, दरबारमा प्रयोग गरिएका हुनसक्ने ढुङ्गाका सँगारपाटी छन्। सो ठाउँमा पद्मपाणिका मूर्ति भेटिएपछि अहिले सैनामैना ठूलो कुवामा राखिएको छ।

अध्यक्ष शर्माले चारपाला सामुदायिक बन क्षेत्रको जोगीडाँडा, ठूलो प्लेट (ठूलो पठार) तथा सानो प्लेट (सानो पठार) क्षेत्र गरी करिव दुईदेखि तीन किलोमिटर र गोलाकारमा दश किलोमिटर क्षेत्र खुला संग्रहालय बनाउने गरी अगाडि बढेको बताए।

‘खुला आकाशमुनि रहेका यहाँका भग्नावशेष मूल्यवान् छन्। यहाँ रहेका इँटा र ढुंगामा कयौं आकृति देखा पर्छन्। यस्ता महत्वपूर्ण इटा, ढुङ्गा, विभिन्न प्रकारका खपटा वा अन्य सामग्री बहुमूल्य छन्। यसको संरक्षण गर्नुपर्दछ। त्यसका लागि प्रदेश सरकार, संघ सरकार र स्थानीय तहले सहयोग गर्नुपर्छ’, उनले भने।

उनले बन क्षेत्रलाई खुला संग्रहालयको रूपमा विकास गर्न सकिए लुम्बिनी, कपिलवस्तु, देवदह क्षेत्रमा आउने पर्यटकहरूलाई जोगीडाँडामा आकर्षण गर्न सकिने बताए। यसका लागि न्यूनतम पूर्वाधारको निर्माण हुनुपर्ने र त्यसका लागि सरोकारवालाले पहल गर्नुपर्ने उनको भनाइ छ।

‘हामीले सो स्थानमा अब पहुँच मार्ग बनाउनेछौ। विश्रामस्थल निर्माण गर्नेछौं र तारबार गरेर खुल्ला संग्रालयको रूपमा संरक्षणको योजना बनाउँनेछौं’, उनले भने।

बनका निवर्तमान अध्यक्ष ओमप्रकाश ठाकुरले सरकारी निकायको तदरुक्ता नहुँदा चारपाला सामुदायिक बन ओझेलमा परेको बताए। उनले सरोकारवाला निकायले सामुदायिक बनमा अपनत्व महसुस गरेर अझै संरक्षण र अनुसन्धान गरेमा बनलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए।

‘बनमा अझै उत्खनन र अनुसन्धान जरुरी छ। चारपाल बनले आफ्नो स्वामित्व नछाड्ने गरी यसमा सहयोग गर्न तयार छ’, उनले भने।

चारपाला बन उपभोक्ताको हिसाबले नेपालकै ठूलो बन हो। बनमा १४ हजार उपभोक्ता छन्। बनको क्षेत्रफल २ हजार २३ हेक्टर रहेको छ।

चारपाला बनवाटिका निर्माण गरिँदै
चारपाला सामुदायिक बनभित्र ‘चारपाला बनवाटिका’ निर्माण गर्ने योजना समूहले अगाडि बढाएको छ। बनको व्लक नं. २ मा ३० हेक्टर क्षेत्रफल मध्ये ५ हेक्टर क्षेत्रफलमा पर्यटकहरूलाई लक्षित गरेर आर्कषक पार्क बनाउँने र बाँकी २५ हेक्टर क्षेत्रफलमा बागवानी बनाउने योजना समूहले अगाडि बढाएको हो।

समूहका अध्यक्ष शर्माले ‘चारपाला बनवाटिका’को डिपिआर बनाउने कार्य सम्पन्न भएको बताए। साथै उनले जग्गा छुट्टाउने, तारबार गर्ने काम भइरहेको समेत जानकारी दिए। बस्ती नजिक रहेको यो ब्लकमा अहिले रुखहरू छैनन्। कृषि, बन र पर्यटनलाई जोडेर नयाँ काम गर्न थालिएको अध्यक्ष शर्माको भनाइ छ।

२६ करोडको डिपिआर बनिसकेको र यसलाई बहुवर्षे योजना अनुसार अगाडि लैजाने समूहको तयारी छ। त्यसका लागि स्थानीय तह, प्रदेश र संघ सरकारको सहयोग आवश्यक रहेको चारपाला सामुदायिक बन उपभोक्ता समूहका कार्यालय सचिव विनोद आचार्यले बताए।

बागबानी बनाउने २५ हेक्टर क्षेत्रफलमा फलफूल र जटिबुटीका विरुवाहरू लगाईनेछ । आँप, लिची, बेल, कटहर, जामु, तेजपत्ता, अमला, हर्रोबर्रो लगाएका विरुवाहरू रोप्ने आचार्यले बताए।

रिङ रोड समेत निर्माण हुँदै
चारपाला सामुदायिक बनले अहिले रिङ रोड समेत बनाइरहेको छ। समूहभित्र रहेको बन क्षेत्रको समथर ८०० हेक्टरमा रिङरोड निर्माण गरिरहेको छ। उत्तर दक्षिण फायरलाइन र रिङ रोडको काम भइरहेको अध्यक्ष शर्माले बताए।

समूहको कार्यालयबाट विरघाट, विरघाट बाट भालुखोला हुँदै चारपाला बगौचा र बनबाटिका हुँदै कार्यालयसम्म आउने १४ किलोमिटर रिङ रोड निर्माण समूहले गर्दै आएको छ। गतवर्ष साढे १ किलोमिटर सडक निर्माण भएमा यस वर्ष थप एक किलोमिटर सडक निर्माण भइसकेको छ। दुई वर्षभित्र रिङरोड सम्पन्न हुने समूको दाबी छ।

लोपउन्मुख पहेँलो कछुवा बनमा
चारपाला सामुदायिक बनमा विश्वमै लोपउेन्मुख पहेँलो कछुवा छ। वि.सं. २०७६ सालमा बुटवल उपमहानगरपालिका वडा नंं १२ स्थित उक्त बनमा पहेँलो प्रजातिको कछुवा भेटिएको थियो।

काठमाडौं गोल्डेन गेट कलेजबाट आएको सुरेन्द्र राजवंशीको टोलीले हालै मात्र बनमा अनुसन्धान गर्दा पहेँलो प्रजातिका ४ वटा कछुवा र अण्डा फेला पारेको थियो। यो कछुवा विश्वमै लोप हुन लागेको प्रजाति हो।
पहाडको उकालोमा घसे्रर बाँच्ने यो कछुवाको आयु ८० वर्षभन्दा बढी हुन्छ। अनुसन्धानकर्ताले फेला पारेको कछुवालाई बनमै छाडेका थिए।

२ हजार १० हेक्टर क्षेत्रफलमा फैलिएको यो बनमा हालैमात्र प्राकृतिक संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोलीले बाघको गणना गरेको थियो। बाघ गणना गर्दा चारपाला बनमा १ पाटे बाघ र २ न्याउली बाघ फेला पारिएको थियो।

२३ चैत, २०८०, १३:२३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।