लुम्बिनी : मुख्यमन्त्री चौधरीले दिए राजीनामा, माओवादीका जोखबहादुर नयाँ मुख्यमन्त्री बन्दै

लुम्बिनी : मुख्यमन्त्री चौधरीले दिए राजीनामा, माओवादीका जोखबहादुर नयाँ मुख्यमन्त्री बन्दै

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्। आज प्रदेशसभामा आफ्नो मन्तव्य राख्दै चौधरीले राजीनामा दिएका हुन्। 

उनले प्रदेशसभामा बोल्दै सरकार फेरबदलको निर्णयले संघीयता कार्यान्वयनमा जटिलता थपिने बताए। अहिले फेरबदल भएको नयाँ सत्ता समीकरण स्थायित्व रहने वा नरहने भन्ने स्पष्ट नभएको उनको भनाई छ। 

उनले सत्ताले सबै कुरा नदिने बताउँदै प्रदेशको औचित्य पुष्टि गर्न सबै मिलेर लाग्नुपर्ने बताए।

‘फुत्त फुत्त गर्दा देशले के पाउँछ? जनताले के पाउँछन्? संघीयताप्रति जनताको दृष्टिकोण के रहन्छ?’ उनले प्रश्न गर्दै भने–‘सबै मिलेर संघीयताको औचित्य पुष्टि गरेमा मात्र देशमा समृद्ध प्राप्त हुन्छ।’

प्रदेशको विकास २८ अर्बको बजेटले गर्न नसकिने बताउँदै चौधरीले दातृ निकायको सहयोगबाट प्रदेशलाई समृद्ध बनाउनुपर्नेमा समेत जोड दिए।

उनले कुर्सी मात्र सारेर र गाडी  मात्र चढेर संघीयताको कार्यान्वयन नहुने बताए।

यसैबीच, लुम्बिनीमा नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबीच एक सहमति भएको छ।  

माओवादी केन्द्र, एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच बिहीबार नयाँ सरकार गठनका लागि साझा ढंगले अगाडि बढ्ने सहमति भएको हो।

५ बुँदे सहमति अनुसार माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने तय भएको हो।

२२ चैत, २०८०, १७:०२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।