लुम्बिनीका मुख्यमन्त्री चौधरीले बोलाए संसदीय दलको बैठक, राजीनामाबारे छलफल हुने

लुम्बिनीका मुख्यमन्त्री चौधरीले बोलाए संसदीय दलको बैठक, राजीनामाबारे छलफल हुने

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संसदीय दलको बैठक बोलाएका छन्।

दिउँसो १ बजे आह्वान गरेको बैठकमा उनले आफ्नो राजीनामा दिने वा विश्वासको मत लिने भन्ने विषयमा छलफल हुने नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिए।

विश्वासको मतका लागि आज अपरान्ह ४ बजे प्रदेशसभाको अधिवेशन बोलाइएको छ।

गत वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्रगरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका चौधरी माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछि अल्पमतमा छन्।

८७ सदस्यीय प्रदेशसभामा राप्रपाका एक सांसद निलम्बनमा परेपछि हाल प्रदेश सांसदको संख्या ८६ छ। बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ।

चौधरी नेतृत्वको गठबन्धनसँग स्पष्ट बहुमत छैन। कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, राप्रपा, लोसपा, जनमतका ३/३ तथा जनमोर्चाका १ सांसद गरी ४१ सांसद चौधरीको पक्षमा छन्। यद्यपि नागरिक उन्मुक्ति पार्टीमा भने विवाद छ।

नयाँ बनेको गठबन्धनमा पनि स्पष्ट बहुमत छैन। उसले एक सांसद फकाउनुपर्नेछ। एमालेका २९, माओवादीको सभामुख बाहेक १०, जसपा ३, एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको साथ लिएर नयाँ सरकार बनाउन बहुमत पुग्ने देखिन्छ।

साथै लुम्बिनीमा माओवादीले नयाँ सरकार बनाउन दलहरूसँग छलफल अघि बढाएको छ। संसदीय दलका नेता जोखबहादुर महरा आफ्नो नेतृत्वमा सरकार बनाउने गरी छलफलमा जुटेका छन्।

२२ चैत, २०८०, १२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।