निकिता पौडेल उपाध्यक्ष भएको साइ स्वागत सहकारीमा काठमाडौँ महानगरको छापा, सिआइबीले दिएको थियो उन्मुक्ती

निकिता पौडेल उपाध्यक्ष भएको साइ स्वागत सहकारीमा काठमाडौँ महानगरको छापा, सिआइबीले दिएको थियो उन्मुक्ती

काठमाडौं : निकिता पौडेल उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा काठमाडौँ महानगरपालिकाले छापा हानेको छ।काठमाडौँ महानगरपालिकाका सहकारी शाखा प्रमुख बलराम त्रिपाठीले दिएको जानकारी अनुसार आज महानगरको टोली साइ स्वागत सहकारी पुगेको थियो।

‘पीडितको उजुरी परेको पोहोरै हो। हामीले अनुसन्धान गरिरहेका थियौँ। आज त्यस सहकारी गएका हौँ,’  उनले भने, ‘कागजपत्र ल्याएका छौँ।’

पौडेल वर्तमान गृहमन्त्री रवि लामिछानेकी श्रीमती हुन्। उनी चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष समेत हुन्।

साइ स्वागत बचत तथा ऋण सहकारी संस्थाले रकम फिर्ता नगरेको भन्दै काठमाडौँ महानगरपालिकामा असार २ गते उजुरी परेको थियो।

उजुरीमा सहकारीको अध्यक्षको नाम भरतजंगम थापा लेखिए पनि उपाध्यक्षको नाम खाली छोडिएको थियो।

महानगरपालिकामा रहेको सहकारी विभागमा सो सहकारीविरुद्ध परेको उजुरीमा बचतकर्ताको ५ करोड बराबरको रकम फिर्ता नभएको उल्लेख छ।

त्रिपाठीका अनुसार यस सहकारीको अध्यक्ष भरत जंगम हुन्। उनी भ्रष्टाचारविरुद्धको अभियन्ताको रूपमा परिचित छन्। यसको उपाध्यक्षमा निकिता हुन्।

त्रिपाठीका अनुसार उजुरीकर्ताले पौडेलले राजीनामा दिएको बताएका थिए। तर, राजीनामा पत्र भने पेश गरेका छैनन्।

त्रिपाठीले पहिलेको अध्यक्ष भरत जंगम र उपाध्यक्ष निकिता पौडेल भएको अहिलेको नयाँ समिति बनेको भन्ने जानकारी आएपनि औपचारिक रुपमा महानगरलाई थाहा नभएको बताए।

सिआइबीले निकितालाई दिएको थियो उन्मुक्ती

सो सहकारीबारे प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो। ब्यूरोको अनुसन्धानमा  सहकारी संस्थामा दुई करोड २२ लाख हिनामिना भएको दाबी गरिएको थियो। सोही दाबी अनुसार असोजमा जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दर्ता भएको थियो।

अभियोग पत्रमा रामहरि अधिकारी र शङ्कर उपाध्याय दाहाललाई मात्र प्रतिवादी बनाइयो।रामहरि सहकारीको निवर्तमान लेखा समिति संयोजक र सञ्चालक समिति सदस्य हुन् भने शङ्कर उपाध्याय दाहाल सचिव, व्यवस्थापक र अहिले सञ्चालक समिति सचिव थिए।

बचतकर्ताको रकम अपचलन भएको समयमा भरत जङ्गमसँग प्रहरीले जानकारी लिएको कागज गराएको थियो। तर निकिता पौडेलको हकमा सामान्य सोधपुछ समेत गरेन ब्यूरोले।

​​​अनुसन्धानमा ​​​​२०७५ पुस २८ देखि २०७९ मङ्सिर ११ सम्म सहकारीको अध्यक्ष भरतमणि जङ्गम थिए भने उपाध्यक्ष निकिता पौडेल रहेको देखिन्छ। 

सामान्य आपराधिक घटनाबारे सिआइबीले गरेको कामबारे समेत प्रेस विज्ञप्ति जारी गर्ने सिआइबीले यो सहकारीको ठगी प्रकरणबारे कुनै जानकारी सार्वजनिक नगरी सरकारी वकिलको कार्यालयमा प्रस्तावित राय सुझाव बुझाएको थियो।

सिआइबीले रामहरि अधिकारीलाई पक्राउ गरेको थियो। अर्का दाहाल भने फरारै थिए। अभियोग पत्रमा विना धितो ऋण प्रभाव गरेर बचतकर्ताको बचत जोखिममा पारेको भन्दै मागवादी लिइएको थियो।

अधिकारीमाथि आफूखुसी सहकारीबाट ऋण निकालेर संस्थाको कारोबार बिग्रिएपछि तमसुक बनाएको आरोप समेत लगाइएको छ। उनले सहकारीबाट विभिन्न मितिमा दुई करोड १८ लाख ऋण लिएको र ब्याजसहित गरेर दुई करोड २२ लाख तिर्न बाँकी रहेको उल्लेख थियो।

साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जङ्गम र उपाध्यक्षमा निकिताहुँदा रामहरि अधिकारीको नाममा धितो नराखी ५८ लाख ऋण प्रवाह भएको प्रहरी अनुसन्धानमै उल्लेख छ। यी दुवै अध्यक्ष र उपाध्यक्ष रहेको बेलामा रामहरि अधिकारी लेखा समिति संयोजक थिए।

जङ्गम अध्यक्ष रहे पनि उनले सबै जिम्मेवारी रामहरी र दाहाललाई दिएको प्रहरी बयानमा दाबी गरेका थिए। प्रहरी अनुसन्धानमा सो सहकारको चार करोड ३५ लाख लगानीमा चार करोड ९ लाख विना धितो ऋण लगानी भएको उल्लेख छ।

प्रहरीले सहकारीको गतिविधिबारे केदारमणी पौडेल, जुनुमाया तामाङ, भरतमणि, प्रशान्त केसी र निशा थापासँग बुझे पनि उपाध्यक्ष रहेकी निकितासहितसँग सामान्य जानकारी समेत नगरी अनुसन्धानमै बदनियत राखेको थियो।

रामहरि अधिकारीले बयानमा २०६६|०६७ मा सहकारी डिभिजनमा सहकारी दर्ता भएको र २०७४ मा आफू लेखा संयोजक भएको बताएका थिए।

उनको बयान अनुसार सहकारीमा जम्मा एक सय २५ जना मात्र बचतकर्ता छन्। उनीहरूको चार करोड ८६ लाख बचत रहेको छ।

सहकारीका अध्यक्ष जङ्गमले १६ प्रतिशत ब्याज पाउने गरी संस्थामा मुद्दती खाता खोलेर ८० लाख राखेको देखिएको थियो। अधिकारीको बयान अनुसार उनले सो रकम बचत राखेर मौखिक निर्देशको आधारमा ऋण प्रवाह गराउने गरेका थिए। जङ्गमै निर्देशनमा काजी गुरुङलाई धितो नलिई १५ लाख ऋण प्रवाह गरेको र सो ऋण नउठेको उनको दाबी छ।

प्रहरीले भने पुरै अनुसन्धान अधिकारी र दाहालमाथि केन्द्रित गर्यो। अभियोग पत्रमा उल्लेख भए अनुसार प्रहरीले न वर्तमान सञ्चालक समितिका पदाधिकारीसँग जानकारी लिएको देखियो न त पूर्वसँग नै जानकारी लिएको थियो।

जङ्गम अध्यक्ष रहेको बेलामा विना धितो ऋण प्रवाह भएकोबारे पनि अभियोग पत्र मौन थियो। श्रीमती निकिता सहकारी ठगीमा जोडिएपछि रविले सार्वजनिक रुपमै उनको पक्षमा उभिएका थिए।

त्यो बेलामा सहकारी पीडितहरु माइतीघरमा धर्ना थिए। उनको श्रीमतीबारे धर्नाकारीहरुले प्रश्न उठाएपछि उनी धर्नास्थलमा गएर परिचित साथीहरूबाटै उपाध्यक्ष बस्न आग्रह गरेपछि परिवारको सदस्य (श्रीमती) उपाध्यक्ष बसेको बताउँदै आफूले सो सहकारीबाट एक करोड ऋण लिएको समेत स्विकारेका थिए। 

केही दिन अगाडि माइतीघरमा धर्नामा रहेकी एक सहकारीकी पीडित बचतकर्ताले लामिछानेले साथ नदिएको भन्दै आक्रोश पोखेको थिइन्। त्यस क्रममा ती महिलाले लामिछानेकी श्रीमती पनि ठगीमा संलग्न रहेको आरोप लगाएकी थिइन्। उक्त भिडियो भाइरल भएपछि आरोप लगाउने ती महिलालाई लामिछाने भेट्न गएका थिए। 

सम्बन्धित समाचार :

चैत २१, २०८० बुधबार १९:५४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।