साई स्वागत सहकारीको दुई करोड हिनामिनाको दाबी, भरतजंगम र निकिता अभियुक्त बनेनन्

साई स्वागत सहकारीको दुई करोड हिनामिनाको दाबी, भरतजंगम र निकिता अभियुक्त बनेनन्

काठमाडौँ : भरत जङ्गम अध्यक्ष र निकिता पौडेल उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा दुई करोड २२ लाख हिनामिना भएको दाबीसहित अभियोग पत्र दर्ता भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानको आधारमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दर्ता गरेको हो।

रामहरि सहकारीको निवर्तमान लेखा समिति संयोजक र सञ्चालक समिति सदस्य हुन् भने शङ्कर उपाध्याय दाहाल सचिव, व्यवस्थापक र अहिले सञ्चालक समिति सचिव हुन्।

अभियोग पत्रमा रामहरि अधिकारी र शङ्कर उपाध्याय दाहाललाई मात्र प्रतिवादी बनाइएको छ। बचतकर्ताको रकम अपचलन भएको समयमा भरत जङ्गमसँग प्रहरीले जानकारी लिएको कागज गराएको छ। तर निकिता पौडेलको हकमा जानकारी समेत लिएको छैन।

२०७५ पुस २८ देखि २०७९ मङ्सिर ११ सम्म सहकारीको अध्यक्ष भरतमणि जङ्गम थिए भने उपाध्यक्ष निकिता पौडेल थिए। वचतकर्ताकोतर्फबाट काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा उजुरी परेपछि अनुसन्धान सुरु भएको थियो। महानगरले सिआइबीमा फाइल पठाएपछि सिआइबीले गोप्य रूपमा अनुसन्धान सुरु गरेको थियो।

सामान्य आपराधिक घटनाबारे सिआइबीले गरेको कामबारे समेत प्रेस विज्ञप्ति जारी गर्ने सिआइबीले यो सहकारीको ठगी प्रकरणबारे कुनै जानकारी सार्वजनिक गरेन।

सिआइबीले रामहरि अधिकारीलाई पक्राउ गरेको थियो। अर्का दाहाल भने फरारै छन्।

अभियोग पत्रमा विना धितो ऋण प्रभाव गरेर बचतकर्ताको बचत जोखिममा पारेको भन्दै मागवादी लिइएको छ।

अधिकारीमाथि आफूखुसी सहकारीबाट ऋण निकालेर संस्थाको कारोबार बिग्रिएपछि तमसुक बनाएको आरोप समेत लगाइएको छ। उनले सहकारीबाट विभिन्न मितिमा दुई करोड १८ लाख ऋण लिएको र ब्याजसहित गरेर दुई करोड २२ लाख तिर्न बाँकी रहेको उल्लेख छ।

साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जङ्गम र उपाध्यक्षमा नकिताहुँदा रामहरि अधिकारीको नाममा धितो नराखी ५८ लाख ऋण प्रवाह भएको प्रहरी अनुसन्धानमै उल्लेख छ। यी दुवै अध्यक्ष र उपाध्यक्ष रहेको बेलामा रामहरि अधिकारी लेखा समिति संयोजक थिए।

जङ्गम अध्यक्ष रहे पनि उनले सबै जिम्मेवारी रामहरि र दाहाललाई दिएको प्रहरी बयानमा दाबी गरेका छन्।

प्रहरी अनुसन्धानमा सो सहकारको चार करोड ३५ लाख लगानीमा चार करोड ९ लाख विना धितो ऋण लगानी भएको उल्लेख छ।

प्रहरीले सहकारीको गतिविधिबारे केदारमणी पौडेल, जुनुमाया तामाङ, भरतमणि, प्रशान्त केसी र निशा थापासँग बुझेको छ। तर निकितासहितसँग सामान्य जानकारी समेत लिएको छैन।

रामहरि अधिकारीले बयानमा २०६६|०६७ मा सहकारी डिभिजनमा सहकारी दर्ता भएको र २०७४ मा आफू लेखा संयोजक भएको बताएका छन्।

उनको बयान अनुसार सहकारीमा जम्मा एक सय २५ जना मात्र बचतकर्ता छन्। उनीहरूको चार करोड ८६ लाख बचत रहेको छ।

सहकारीका अध्यक्ष जङ्गमले १६ प्रतिशत ब्याज पाउने गरी संस्थामा मुद्दती खाता खोलेर ८० लाख राखेको देखिन्छ। 

अधिकारीको बयान अनुसार उनले सो रकम बचत राखेर मौखिक निर्देशको आधारमा ऋण प्रवाह गराउने गरेका थिए। जङ्गमै निर्देशनमा काजी गुरुङलाई धितो नलिई १५ लाख ऋण प्रवाह गरेको र सो ऋण नउठेको उनको दाबी छ।

प्रहरीले भने पुरै अनुसन्धान अधिकारी र दाहालमाथि केन्द्रित गरेको देखिन्छ। अभियोग पत्रमा उल्लेख भए अनुसार प्रहरीले न वर्तमान सञ्चालक समितिका पदाधिकारीसँग जानकारी लिएको छ न त पूर्वसँग नै जानकारी लिएको छ।

जङ्गम अध्यक्ष रहेको बेलामा विना धितो ऋण प्रवाह भएकोबारे पनि अभियोग पत्र मौन छ। 

*कभर तस्बिरप्रति निकिता पौडेलले असहमती जनाएकाले सो बदलिएको छ।

असोज २७, २०८० शनिबार ००:०२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।