ठूला दलको सत्ता स्वार्थमा साना दलमा रडाको, नागरिक उन्मुक्तिमा कुटाकुट, हानेपाको दुई सांसद दुईतिर

ठूला दलको सत्ता स्वार्थमा साना दलमा रडाको, नागरिक उन्मुक्तिमा कुटाकुट, हानेपाको दुई सांसद दुईतिर

काठमाडौँ :  सत्ता गठबन्धन बदलिएसँगै केन्द्रमा सरकार जोगिए पनि प्रदेश सरकारको नेतृत्व बदल्न त्यति सहज छैन। कर्णाली बाहेक अन्य प्रदेशमा गठबन्धनमा रहेका दलहरूको सांसद सङ्ख्याले मात्रै सरकार बन्दैन। त्यसका लागि साना अनि स्वतन्त्र सांसदको समर्थन चाहिन्छ।

सत्ता गठबन्धन बदलिएसँगै प्रमुख प्रतिपक्षी दल बनेको कांग्रेसको नेतृत्व रहेको प्रदेशमा सरकार बनाउन र आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकार जोगाउन गठबन्धन सक्रिय छ। उता कांग्रेस पनि आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकार जोगाउने कसरतमा छ।

ठूला दलबीच आफ्नो नेतृत्वको सरकार जोगाउने अनि बनाउने प्रतिस्पर्धाको प्रभावमा पर्दा साना दलमा भने भद्रगोल सुरु भएको छ।

प्रदेशमा समेत प्रतिनिधित्व रहेको जनमत, जनता समाजवादी पार्टीमा ठूला दलको तानातानको प्रभाव देखिएको छैन। तर सुदुरपश्चिममा सरकार बनाउन निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी र बागमतीमा जम्मा दुई सांसद रहेको हाम्रो नेपाली पार्टी भने छिन्नभिन्न हुने अवस्थामा पुगेको छ।

श्रीमान् संरक्षक अनि श्रीमती अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीमा त सुदुरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा बस्ने कि सत्ता गठबन्धनसँग मिलेर नेतृत्व गर्ने भन्ने विषयमा श्रीमान् रेशम चौधरी र श्रीमती रञ्जिता श्रेष्ठका समर्थकबीच सोमबार बैठकमै कुटाकुट भएको घटना सार्वजनिक भयो।

रेशम प्रमुख प्रतिपक्षी दलसँग मिलेर सुदूरपश्चिम सरकारमा बस्न चाहन्छन्। उनको रणनीति अनुसार पार्टीका प्रदेश सांसदहरू मन्त्री समेत भएका छन्।

उता रञ्जिता भने वर्तमान सत्ता गठबन्धनसँग मिलेर केन्द्रमा एक मन्त्रालय लिने र सुदूरपश्चिमको सरकारको नेतृत्व गर्ने पक्षमा छिन्। श्रीमान्-श्रीमतीबीचको यही विवादले पार्टीमा दुई गुट बनाएर कुटाकुटसम्म पुग्यो।

पार्टीका केन्द्रीय सदस्यले पत्रकार सम्मेलन गरेर रेशमले सुदूरपश्चिमको सरकार ढले चार जनाको ज्यान जाने धम्की दिएको सार्वजनिक गरे।

बागमतीमा माओवादी केन्द्रको नेतृत्वको सरकार जोगाउन गठबन्धन दललाई एक मत नपुग्दा त्यसको असर हाम्रो नेपाली पार्टीमा पर्यो।

बहुमत पूर्याउन ५६ सांसद चाहिनेमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसद जोड्दा ५५ मात्र पुग्यो। हानेपामा एक निर्वाचित र एक समानुपातिक सांसद थिए।

पार्टीको केन्द्रीय समितिले प्रदेशको नेतृत्वको दाबी गर्दै सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्यो। तर त्यही पार्टीका प्रत्यक्ष निर्वाचित काठमाडौँ ८ का प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्य पर्यटनमन्त्रीहुँदै सरकारमा सहभागी भए।

पार्टीले उनलाई निर्णय विपरीत सरकारमा गएको भन्दै सरकारबाट फिर्ता हुन निर्देशन दियो। तर उनले मानेनन्। पार्टीले कारबाहीको चेतावनी दिए पनि उनले सोमबार सालिकराम जम्मकट्टेललाई विश्वासको मत दिएर सरकार जोगाइदिए।

तर सोही पार्टीकी समानुपातिक सांसद सरिता खड्गीले भने पक्षमा मतदान गरिनन्। सो पार्टीका अध्यक्ष अनन्त घिमिरेले आफ्नो सांसदलाई सरकार जोगाउन सत्तापक्षले अपहरण गरेर कब्जा गरेर राखेको आरोप लगाएका थिए।

सोमबार बज्राचार्य प्रदेश सभामा उपस्थित भएर पछिल्लो समय बढेको राजनीतिक दबाबका कारण आफू सिटामोल खाएर बस्नुपरेको भन्दै मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा मत मागेका थिए। उनले पक्षमा मत पनि दिए र बागमतीमा जम्मकट्टेल नेतृत्वको सरकार पनि जोगियो।

कर्णालीमा मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन्। तर एमालेले नेतृत्वको दाबी गरिरहेको छ। नागरिक उन्मुक्तिमा बढेको विवादका कारण सुदूरपश्चिम र लुम्बिनी सरकारबारे निर्णय हुनै सकेको छैन। कोशीका मुख्यमन्त्री चलाए मध्यावधि हुने जोखिम छ। गण्डकीमा एकीकृत समाजवादीमा आएका स्वतन्त्र सांसद राजीव गुरुङ पुन स्वतन्त्र भएर सरकारमा जाँदा सत्ता गठबन्धनसँग आवश्यक बहुमतै पुग्दैन। उता मधेस सरकारबारे के गर्ने न सत्ताधारी प्रस्ट देखिएका छन् न प्रतिपक्षीले कुनै कदम चालेका छन्।

चैत १९, २०८० सोमबार २०:५४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।