पार्टी कसले चलाइरहेको छ भन्ने रेशमको प्रश्नमा रञ्जिता भन्छिन्- 'रेशम र म एउटै घरमा छौं'

पार्टी कसले चलाइरहेको छ भन्ने रेशमको प्रश्नमा रञ्जिता भन्छिन्- 'रेशम र म एउटै घरमा छौं'

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीकै चिन्ताले आफू आत्महत्या गर्ने परिस्थितिमा पुगेको बताएका छन्।

पार्टीको बैठकमा भएको कुटाकुटबारे आज पत्रकारहरूसँग कुरा गर्दै चौधरीले आफूलाई कार्यकर्ताले नै आत्महत्या गर्ने परिस्थितिमा पुर्याएको बताएका हुन्।

उनले भने, 'मैले तीन महिनादेखि खाना खाएको छैन। कहिले दुई चम्चा खान्छु, कहिले के कहिले के। आत्महत्या गर्ने परिस्थितिसम्म पुगाइसके। केही पनि मान्दै मान्दैनन्। केन्द्रीय समितिको निर्णय नमान्ने भन्छन्। पार्टी कसले चलाइरहेको छ?'

रेशमले आफ्नो पार्टी वर्तमान सरकारले चलाइदिँदा समस्या उत्पन्न भएको बताइरहँदा उनकी पत्नी एवं नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले भने रेशम र आफू काठमाडौंको एउटै घरमा सँगै बसिरहेकाले पार्टी कसले चलाउने भन्ने प्रश्न नउठ्ने बताएकी छिन्।

पार्टीको कुरालाई परिवारसँग जोड्न नहुने भन्दै उनले पार्टीभित्र उठेका सबैखाले फरक मतलाई सम्मान गर्नुपर्ने बताइन्।

उनले भनिन्, 'पार्टी हामी दुई जनाको मात्रै होइन, अरू साथीहरू पनि हुनुहुन्छ। उहाँहरूको पनि कुरा सुन्नुपर्छ। उहाँ (रेशम)को फरक विचारलाई पनि सम्मान गर्छु।'

पार्टीभित्रको विवाद संघ, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने नहुनेको मात्रै भएकोले यसलाई पारिवारिक रूपमा नलिन उनको आग्रह छ।

१९ चैत, २०८०, १९:०४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।