डेढ अर्बको लागतमा बुटवलमा अर्को केवलकार खुल्यो, वैशाखभित्रै सञ्चालन गर्ने तयारी

डेढ अर्बको लागतमा बुटवलमा अर्को केवलकार खुल्यो, वैशाखभित्रै सञ्चालन गर्ने तयारी

बुटवल : बुटवलमा अबको एक महिना भित्रै दोस्रो केवलकार ‘सिद्धार्थ केवलकार’ सञ्चालनमा आउने भएको छ। हाल बुटवलबाट बसन्तपुरसम्म चल्ने लुम्बिनी केवलकार सञ्चालनमा छ।

नयाँ वर्ष ०८१ साल वैशाख महिनादेखि सिद्धार्थ केवलकार सञ्चालनमा ल्याउने तयारी गरिएको छ। कम्पनीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले डेढ महिनाभित्र केवलकार सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए।

मंसिरमा केवलकार सञ्चालन गर्ने तयारी भएपनि रोवको काम नभएपछि सञ्चालन हुन सकेको थिएन। अध्यक्ष गुरुङका अनुसार अहिले केवलकारको परीक्षणको काम भइरहेको बताए।

‘इटालीबाट रोव ल्याउँदा समय लाग्यो। मंसिरमा सुरु गर्न सकेनौं। अहिले परीक्षणमा छौं। यसलाई इन्टरनेशनल सर्टिफिकेशन गरेपछि वैशाख महिनाभित्र सुरु गर्छौँ’, उनले भने।

बुटवलको वडा नम्बर १/२ स्थित देउराली डाँडामा केवलकारको प्रस्थान विन्दु छ। त्यहाँ सिद्धार्थ गार्डेन निर्माण गरिएको छ, जसमा सिद्धार्थ गौतमले टेकेका छ वटा पाइलाको प्रतिक स्वरूप कमलका फूल निर्माण गरिएको छ।

माथिल्लो स्टेशन नुवाकोटमा सातौं पाइला सहितका संरचना निर्माण भइसकेको छ। त्यहाँ ५० फूट अग्लो सिद्धार्थको मूर्ति जडानको काम बाँकी रहेको अध्यक्ष गुरुङले बताए।

‘मूर्ति तयार भइसकेको छ,’ उनले थपे, ‘त्यसलाई जडान गर्न मात्र बाँकी छ।’

त्यस्तै टिकट काउन्टर र कार्यालय प्रयोजनका लागि भवन सहितका संरचना निर्माण सकिएको छ। पाल्पाको नुवाकोटगढीसम्म पुग्ने सिद्धार्थ केवलकारको ०७७ फागुन ९ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए।

दुई वर्षमा सञ्चालन गर्ने भनिए पनि रुख कटान सहितका अन्य कामले निर्माण सम्पन्न हुन ढिलाइ भएको गुरुङको भनाइ छ। उनका अनुसार केवलकार निर्माणको करिव ९५ प्रतिशत काम सकिएको छ।

हालसम्म ९० करोड लगानी भइसकेको यहाँ केवलकारको अलवा रिसोर्ट सहितका अन्य पूर्वाधार निर्माण हुने कम्पनीले जनाएको छ। ६ दशमलव ०९८ हेक्टर क्षेत्रफलमा बन्ने रिसोर्टसहितका संरचना निर्माण हुँदा लागत डेढ अर्बभन्दा माथि हुनेछ।

केबलकार सञ्चालन पछि बुटवलको पर्यटन विकासमा थप टेवा पुग्ने अध्यक्ष गुरुङको अपेक्षा छ। नुवाकोट विकास समितिका अध्यक्ष एवं केवलकार सञ्चालक समितिका सदस्य माधव नेपालले बुटवलको आर्थिक चलायमान र यहाँको पर्यटन प्रवर्द्धनको उद्देश्यले केवलकार सञ्चालन गर्न लागिएको बताए।

सिद्धार्थ केवलकारमा बुटवलकै १८५ भन्दा बढी लगानीकर्ता छन्। देउराली डाँडादेखि दुई किलोमिटर केबलकारको सात मिनेटको यात्रापछि नुवाकोट पुग्न सकिने छ। यस केबलकारको निर्माणपछि प्रत्यक्ष ६० जनाले प्रत्यक्ष र १ सय ५० भन्दा बढीले अप्रत्यक्ष रोजगारी पाउने कम्पनीको दाबी छ।

मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको नुवाकोट बुटवलदेखि नजिकै रहेर पनि ओझेलमा परिरहेकोले केवलकार सञ्चालनपछि यहाँको विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।

२५ गोन्डला रहेको केबलकारमा दैनिक १० हजारसम्म यात्रु बोक्न सक्ने क्षमता छ। ऐतिहासिक र पुरातात्विक स्थल पाल्पाको नुवाकोट बुटवलको वडा नं १ र १३ को शिवालिक चुरे श्रृंखलाको पानी ढलोको भूभाग हो।

नुवाकोटको पूर्वी भाग पाल्पाको दोभान क्षेत्र १ करोड १० लाख वर्ष पुरानो मानव पुर्खा रामापिथेकशको उद्गमस्थल हो। कर्णेल उजिर सिंह थापाले नुवाकोटगढीमा मोर्चावन्दी गरेर अंग्रेजलाई परास्त गरेका थिए। 

१९ चैत, २०८०, ०९:४२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।