नक्कली अन्तःशुल्क स्टिकर भारतमा छापिने खुल्दा पनि भएन अनुसन्धान, प्रधानमन्त्रीले नै भने- ‘नियन्त्रण गर्नु’
काठमाडौँ : काठमाडौँमा फेला परेको नक्कली रक्सीसँगै नक्कली अन्तःशुल्क स्टिकरहरू फेला परे पनि न प्रहरी गम्भीर भयो न त राजश्व अनुसन्धान विभाग। काठमाडौँ उपत्यका प्रहरी कार्यालयले दुई पटक काठमाडौँमा फेला पारेको नक्कली रक्सीको फ्याक्ट्रीमा नक्कली अन्तःशुल्क स्टिकर समेत बरामद गरेको थियो।
सोधपुछमा पक्राउ आरोपहरूले सो स्टिकर भारतबाट ल्याएको बयान दिए। तर भारतको कुन स्थानबाट र कसले सप्लाई गरिरहेका छन् भन्ने पक्षमा गम्भीर अनुसन्धान भएन। जबकि अन्तःशुल्कको स्टिकर नक्कली छपाई हुनु नक्कली नोट छाप्नु बराबरै गम्भीर हो। यसबारे उकेराले पटक-पटक समाचार प्रकाशित गरेको थियो।
बल्ल आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न भन्दै नक्कली स्टिकर र नक्कली बिलको गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिए।
सिंहदरबारमा उनले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई बोलाएर आयोजित राजस्व वृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी छलफल गरेका थिए।
छलफलमा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, अर्थ सचिव डा. कृष्णहरि पुष्कर, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, गृह सचिव एकनारायण अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल समेत सहभागी थिए।
छलफलमा उनले राजस्व चुहावट र अवैध व्यापारिक कारोबारमा हुने सेटिङ्ग भत्काउने कार्यलाई प्राथमिकता दिन निर्देशन दिएका थिए। उनले झुटा तथा नक्कली विल विजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको भन्दै त्यसको गम्भीर अनुगमन गरेर एक्सन लिन भनेका थिए।
कहाँ-कहाँ भेटिएको थियो नक्कली स्टिकर?
माघ तीन गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका विभिन्न नक्कली रक्सी विक्रीमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको थियो। उनीहरूबाट प्रहरीले अन्तःशुल्क स्टिकरहरू समेत फेला पारेको थियो।
उपत्यका अपराध प्रहरी अनुसन्धान कार्यालयले बुधवार सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ थलीमा रहेको भरत थापाको दुई तल्ले पक्की घर भाडामा लिएर नक्कली रक्सी उत्पादन हुने गरेको थियो।
उनीहरूले विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रक्सीको सक्कली बोतलमा नक्कली रक्सी राखेर बिक्री गर्ने गरेका थिए।
उनीहरूले कुनै बोतलमा नक्कली अन्तःशुल्क स्टिकर त कुनैमा सक्कली स्टिकर टाँसेका थिए। सक्कली स्टिकर नेपालकै पार्टी प्यालेसबाट किन्ने गरे पनि नक्कली अन्तःशुल्क स्टिकर भारतबाट ल्याउने गरेको उनीहरूको बयानमा खुलाएका थिए।
उनीहरूले भारतबाट नक्कली स्टिकर किनेर ल्याउने दाबी गरे पनि भारतको कहाँबाट किनेर ल्याएको हो त्यो भने खुलाएका थिएनन्। हालसमम्म पनि त्यो खुलेको छैन।
आर्थिक ऐन २०८० अनुसार अन्तःशुल्क स्टिकरको मूल्य रक्सीमा अल्कोहलको मात्रा अनुसार निर्धारण हुन्छ। आर्थिक ऐन २०८० को ‘खण्ड ७३ अतिरित्ताङ्क १४ नेपाल राजपत्र भाग २ असार ३१ गते २०८०’ मा १५ युपि शक्तिको अथार्त ४८ दशमलव ५ प्रतिशत अल्कोहल भएको एक लिटरको बोतलको १ हजार ८ सय रुपैयाँ तिनुपर्छ।
अथार्त सजिलो गरी भन्दा एक लिटरको रक्सीमा ४८ दशमलव ५ प्रतिशत अल्कोहल छ भने १ हजार ८ सय अन्तःशुल्क तिर्नुपर्छ। विदेशी ब्रान्डका रक्सीलाई परल मूल्य र अन्तःशुल्क सहित जति मूल्य आउँछ त्यसको भन्सार शुल्क बुझाएर जति आउँछ त्यसको १३ प्रतिशत भ्याट पनि बुझाउनु पर्छ।
अन्तःशुल्क स्टिकरको शुल्क रक्सीमा जति मात्रामा अल्कोहल छ सोही अनुसार निर्धारण हुन्छ। अल्कोहलको मात्रा धेरै भए धेरै शुल्क, थोरै भए थोरै।
नक्कली रक्सीको बोतलमा राजस्वको सक्कली ‘स्टिकर’, दोहोरी र लाउन्ज मुख्य ग्राहक
चैत १८, २०८० आइतबार २३:३२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।