नक्कली रक्सीको बोतलमा राजस्वको सक्कली ‘स्टिकर’, दोहोरी र लाउन्ज मुख्य ग्राहक

नक्कली रक्सीको बोतलमा राजस्वको सक्कली ‘स्टिकर’, दोहोरी र लाउन्ज मुख्य ग्राहक

काठमाडौँ : उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार १६ प्रकारका नक्कली विदेशी मदिरा विक्री गरेको आरोपमा सात जनालाई पक्राउ गर्यो।

प्रहरीले नीरज उप्रेती, धर्मी गौडेल र गणेशबहादुर रानामगरलाई पक्राउ गर्यो। पक्राउमध्ये उप्रेती ललितपुरको कुपण्डोलस्थित ‘द टेस्ट लिक्वायर स्टोर’का सञ्चालक हुन्। गौडेलले काठमाडौँको मित्रनगरस्थित ‘एसटी लिक्वायर स्टोर’ सञ्चालन गर्छिन्। 

विनोद कार्की, भगवान् बस्नेत, गोपाल पुन मगर, हरि वली, मनोज खत्री, गौरव तामाङ र गोपीकृष्ण श्रेष्ठ समेत विदेशी ब्रान्डका सक्कली बोतलमा नक्कली मदिरा राखेर विक्री गरेको आरोपमा पक्राउ परे।

भदौ १० मा जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली रक्सी उत्पादन गरेको आरोपमा कोटेश्वर र भक्तपुरबाट वली, बस्नेत, खत्री र श्रेष्ठलाई पक्राउ गरेको थियो।

थप अनुसन्धान गर्दा प्रहरी उनीहरूको गोदाम र कारखानामै पुग्यो। प्रहरीले उनीहरूको गोदामबाट ज्याक डेनियल, डबल ब्ल्याक, ब्ल्याक, सिग्नेचर रेड, ८८४८ भोड्का, सिग्नेचर ग्रिन, खुकुरी रम, गोल्डेन वाक, रुस्लान भोड्कालगायतका १६ भन्दा धेरै ब्रान्डका नक्कली रक्सी  फेला पार्यो।

प्रहरीका अनुसार उनीहरूले ‘क्यारमेल’ नामको ‘केमिकल’ मिसाएर नक्कली रक्सी बनाउने गरेका थिए। यसरी उत्पादित रक्सीहरू काठमाडौँ लगायतका स्थानमा रहेको लाउन्ज, पार्टी प्यालेस, दोहोरी साँझ र रेष्टुरेन्टहरुमा सस्तोमा दिने गरेका थिए।

प्रहरी अनुसन्धानमा उनीहरूले प्रति बोतल २ हजारसम्म सस्तोमा विक्री गर्दा स्टक क्लियर गर्न सस्तोमा दिएको दाबी गर्ने गरेको देखिएको छ। प्रहरीले उनीहरूले कुन कुन लाउन्ज र दोहोरीहरूमा यस्तो रक्सी विक्री गरे भन्ने खुलाएको छैन।

ललितपुरमा नक्कली रक्सीको स्टोर

सरकारले विदेशी मुद्रा जोगाउन विभिन्न विदेशी सामानको आयातसँगै विदेशी मदिराको आयात समेत रोक्यो। बजारमा विदेशी मदिराको अभाव सुरु भयो। सो समूहले त्यही मौका छोपेर विदेशी ब्रान्डका सक्कली बोतलमा नक्कली रक्सी भरेर विक्री गर्न थालेका थिए।

प्रहरीले गत शुक्रवार काठमाडौँको मित्रनगरस्थित ‘एसटी लिक्वायर स्टोर’, ललितपुरको कुपण्डोलस्थित ‘द टेस्ट लिक्वायर स्टोर’ मा छापा मारेको थियो।

अनि ललितपुरको महालक्ष्मीथानको टिकाथलीस्थितमा रहेको कारखानामा छापा मार्दा एक हजार सात सय बोतल रक्सी फेला पर्यो। परीक्षण गर्दा ती सबै नक्कली देखिएको कार्यालयले आइतबार सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरणमा उल्लेख छ।

नक्कली बोतलमा अन्तःशुल्कको सक्कली स्टिकर

प्रहरीले नक्कली भनेको रक्सीका बोतलहरूमा आन्तरिक राजस्व विभागको ‘स्टिकर’ भने सक्कली नै रहेको प्रहरीको दाबी छ।

विभिन्न ब्रान्डका रक्सीको बिर्कोमा  फेला परेको राजश्वको ‘स्टिकर’ सक्कली भएको कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरले बताए।

उनीहरूले केमिकल मिसाएर नक्कली मदिरा बनाएर सक्कली ब्रान्डका बोतलमा भर्ने,राजश्वको सक्कली स्टिकर टाँस्ने अनि तातो हावाको सहयोगमा सिलबन्दी गरेर सक्कली भन्दै केही सस्तोमा विक्री गर्ने गरेको प्रहरीको दाबी छ।

१५ माघ, २०७९, २३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।