गृहमन्त्री लामिछानेको आलोचना गरेपछि रास्वपाले सोध्यो स्पष्टीकरण, खरेलले राजीनामा दिए

गृहमन्त्री लामिछानेको आलोचना गरेपछि रास्वपाले सोध्यो स्पष्टीकरण, खरेलले राजीनामा दिए

काठमाडौं : रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन्।

गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट रास्वपामा आबद्ध भएका खरेलले बुधबारबाट लागू हुनेगरी राजीनामा बुझाएका हुन्।

खरेलले रास्वपा सभापति रवि लामिछाने नयाँ सत्ता गठबन्धनबाट उपप्रधान तथा गृहमन्त्री बन्न नहुने तर्क गरेका थिए। केही समयअघि उनले सहकारी ठगीको आरोप लागेका सभापति लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिनु नहुने भन्दै आलोचना गरेका थिए।

लगत्तै यसबारेमा उनलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको महामन्त्री डा. मुकुल ढकालले बताए।

‘उहाँसँग स्पष्टीकरण सोधिएको थियो,’ महामन्त्री ढकालले भने, ‘उहाँले अंग्रेजीमा राजीनामा पत्र लेखेर पठाउनुभएको छ।’

गहन विचारपछि आफू राजीनामाको निष्कर्षमा पुगेको खरेलले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

‘तुरून्तै लागू हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैले आधिकारिक रूपमा राजीनामा लेखिरहेको छु। गहन रूपमा विचार गरेपछि म पार्टीबाट अलग हुने समय आइपुगेको निर्णयमा पुगेँ। अवसर र अनुभवको मौका दिएकोमा रास्वपाप्रति आभार व्यक्त गर्दछु,’ राजीनामा पत्रमा खरेलले भनेका छन्, ‘यद्यपि पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग मेरो विचार र प्राथमिकता मिल्न सकेन।’

खरेल गत उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए।

उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए।

१४ चैत, २०८०, १५:५४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।