उप-निर्वाचनमा सत्ता गठबन्धनको सकस, सत्तामा मात्र सहकार्य कि निर्वाचनमा पनि?

उप-निर्वाचनमा सत्ता गठबन्धनको सकस, सत्तामा मात्र सहकार्य कि निर्वाचनमा पनि?

काठमाडौँ : सत्तामा मात्र सहकार्य कि निर्वाचनमा पनि? एक प्रतिनिधि सभा र एक प्रदेश सभाको उप-निर्वाचनसँगै सत्ताधारी दलबिच यो प्रश्न पेचिलो बन्दै गएको छ।

केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी सहभागी सरकार छ। यस अगाडिको निर्वाचनमा कांग्रेससहितको एक गठबन्धन र एमाले-राप्रपाको अर्को गठबन्धन निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका थिए।

२०७९ मंसिर ४ को निर्वाचनमा इलाम-२ कांग्रेसको भागमा परे पनि एमाले उम्मेदवार सुवास नेम्वाङ निर्वाचित भएका थिए। उनको निधनपछि रिक्त भएको स्थानमा निर्वाचन आयोगले उप-निर्वाचन गर्न लागेको हो। बझाङका प्रदेश सभा (क) का सदस्य  पृथ्वीबहादुर सिंहको मृत्यु भएपछि एक स्थान रिक्त भएको थियो। उनी कांग्रेसबाट उम्मेदवार बनेर गठबन्धनको उम्मेदवारका रूपमा विजयी भएका थिए।

केन्द्रमा रहेको गठबन्धन अनुसार निर्वाचनमा पनि सहकार्य गर्ने या एक्ला एक्लै प्रतिस्पर्धा गर्ने भन्ने सहमति अगाडि नै एमालेले पार्टीको तर्फबाट सुहाङ नेम्वाङ र  दमनबहादुर भण्डारीलाई उम्मेदवार घोषणा गरेर आफ्नो उम्मेदवारलाई समर्थन गर्न दबाब बढाइसकेको छ।

सुहाङ सुवास नेम्वाङका छोरा हुन्। बाबुको मृत्युपछि उनी राजनीतिमा आउन सक्रिय भएका थिए। इलाम-२ को उप-निर्वाचनमा सुहाङलाई उम्मेदवार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले पहल सुरु गरेपछि एमालेले उनलाई कानुन विभागको सदस्य बनाउँदै उप-निर्वाचनमा आधिकारिक उम्मेदवार बनाउने निर्णय गर्यो।

एमालेले बझाङ–१ को प्रदेश सभा उपचुनावका लागि दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय समेत गरिसकेको छ।

 

सुहाङ र भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै एमालेले सत्ता साझेदार दल रास्वपासँग सहयोगको आग्रह गर्यो भने एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरे।

वैशाख १५ मा हुने केन्द्र र प्रदेश दुवैको उप-निर्वाचनमा दलबाट उम्मेदवार उठाउन माओवादीभित्र दबाब देखिन्छ। तर माओवादीले के गर्ने भन्ने निर्णय गरिसकेको छैन।

एकीकृत समाजवादीले इलाम र बझाङमा पार्टीबाट उम्मेदवार उठाउने दाबी गरे पनि बझाङ पाएमा इलाम छाड्न सक्ने देखिन्छ। तर निर्णय भने भइसकेको छैन। पार्टीका नेताहरूले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दाबी गरिरहेका छन्।

रास्वपाले प्रदेशको निर्वाचनमा सहभागी नहुने निर्णय गरिसकेको छ। इलामको हकमा भने उसले सत्ता घटकसँग सहकार्य नगरी चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको छ।

सुहाङ एमालेमै बसेपछि उम्मेदवारको खोजीमा रहेको रास्वपाले चैत १७ गते उम्मेदवार घोषणा गर्ने तयारी गरिरहेको छ। पछिल्लो समय रास्वपाले माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुसँग छलफल अगाडि बढाएको छ।

पात्रकारिता पृष्ठभूमिमा कट्टर जातिवादी राजनीतिक सोच देखाएका उनी निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारको रूपमा प्रचारमा सक्रिय भइसकेका छन्।

कांग्रेस एक्लै निर्वाचनमा

 

सत्ता गठबन्धन बदलिएसँगै प्रमुख प्रतिपक्षी दल बनेको कांग्रेस इलाम र बझाङको उप-निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने तयारीमा देखिन्छ। उसले विपक्षमा रहेका दलबिच सहकार्यको पहल समेत गरेको छैन।

इलाममा जनमत पार्टीले उम्मेदवारी दिने घोषणा गरिसकेको छ। राप्रपा लगायतका अन्य दलले के गर्छन् निर्णय भइसकेको छैन।

इलाम क्षेत्र नम्बर २ का लागि ७ जना आकाङ्क्षीको नाम केन्द्रमा आइसकेको छ। प्रदेशले भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेको छ।

२०७९ मंसिरको निर्वाचनमा कांग्रेसबाट डम्बरबहादुर खड्का उम्मेदवार भएर झिनो मतले नेम्वाङसँग पराजित भएका थिए।

उता बझाङका लागि कांग्रेसबाट सत्यराज भण्डारी, विष्णु कुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्र बहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ,  ध्रुवराज उपाध्याय, नारायण हमाल र अभिषेक सिंहको नाम सिफारिस गरेको छ।

१२ चैत, २०८०, २०:५५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।