आजको युग!

आजको युग!

युग फेरियो, जमाना फेरियो
पुस्ता फेरियो, प्रविधि फेरियो!
बाउको तमाखु-हुक्का, छोराको लागि फ्लेभर भयो,
घट्टको सट्टा मेसिन आयो,
तराजुको सट्टा डिजिटल मान आयो,
च्यातिएको वस्त्र लगाउँदा दुःख पाएछ भन्ने एक बेला थियो 
तर, त्यहि अहिले ग्रन्ची भयो,
परिवारको ढुकुटी अनि सन्दुके धनमाल,
आज बैंक ब्यालेन्स बन्यो,
ऐँचोपैँचो चलन हटाएर ब्याज प्रसादको सुरुवाती गर्यो यो युगले 
समाजको हितैसी दृष्टिकोण
फेसबुक, इन्स्टाग्राम अनि ट्विटरले धानेको छ,
मुखामुख बोल्न नसक्ने, सामाजिक सञ्जालमा भरिपूर्ण लेख्छ,
आज एक घरले अर्को घर, छिमेक नचिन्ने भयो,
सहयोग, सद्भाव अनि मित्रता त दूरको कुरा

प्रश्नको उत्तर,
दुध कहाँबाट आउँछ भन्दा डेरीबाट,
चामल कहाँबाट आयो भन्दा मिलबाट भन्नेहरूको कमी छैन यहाँ,
बुवाको कोट चकको धुलोले मैलिन्थ्यो
छोराले मार्कर पायो अनि नातिले मोबाइल/ट्याबलेटमा गुगल स्लाइड,
अचाक्ली जमाना फेरियो, प्रविधिको वृद्धि-विकास भयो
बुवाको साइकल चढ्दा पछिल्ला पुस्ता बेनिली हुँइकिए,
भुटेको मकैका दाना दुर्लभ भए, पपकर्न मौलाए,
बिहेको रत्यौली आज पार्टी प्यालेसले खोस्यो,
भारी बोकेर उकाली-ओरालीमार्फत गरिएका व्यायामलाई जिमखानाले बिर्सायो।  

पछिल्लो पुस्ताले अनुक्रम, मूल्य-मान्यता बिर्सियो,
आमाले तरकारीमा पाएको डिस्काउन्ट छोरोले क्याफेमा टिप्स बाँड्छ,
बुवाले पैदल हिँडेर जोगाएको २० रुपैयाँ, छोरो सिगरेटमा उडाउँछ,
आमाले खाना पकाउँदै दमको व्यथा झेलिन्
अबको पुस्ता ‘इट्स टु बोरिङ्ग’ भन्दै रेस्टुरेन्ट धाँउछ,
फुटेको ओठमा लिप्स्टिक लाएझैँ 
परिवार सन्ततिको माग पूरा गर्न तत्पर हुन्छन्।
छोरो चक्रपथको धुवाँमा रुमलिन्छ,

आमाको पनि कसरत उस्तै, 
सन्तान हुर्के, कमाइ न्यून, माग चर्को 
सुधामापत्नी शुशीला झैँ पुरानो साडीले वर्षौं काट्छिन्,
छोरीलाई पार्टीपिच्छे कै भिन्न पहिरन चाहिन्छ,
बा-आमाका पीडा, परिवारिक मित्रतालाई झरना झैँ सुन्दर देखाउने,
छहराको अन्तरकथामा उस्को पनि त ढुङ्गामा बजारिनुको पीडा बेग्लै होला सायद
पारिवारिक थ्यौरीमा पनि सायद नियम यही होला,

मास्टर साब बनेर जिन्दगीमा गाउँमै एउटा घर जोडे बाले,
छोरो राजनीतिमा लागेर ललिता निवासमा नजर लाउँछ,
त्यसै होइन जमाना फेरियो भनेको,
करेसा सिमेन्टले लिपेर, कौशीखेतीको नौटंकी गर्नेको कमी छैन यहाँ,
सँग-सँगै कौशीखेती-२०८० पोस्ट्याउने विद्धान लेखकको पनि कमी छैन आज!

१० चैत, २०८०, ०९:१५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।