विपद् जोखिम न्यूनीकरणको लागि योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित

विपद् जोखिम न्यूनीकरणको लागि योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित

काठमाडौं : विपद् जोखिम न्यूनीकरणको लागि योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ।

२०७३ सालदेखि अनवरत रूपमा जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरू निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पुर्याएकोमा टेलिकमलाई उच्च कदरसहित सम्मान गरिएको हो।

काठमाडौंमा आयोजित नेसनल वर्कसप अन अर्ली वार्निङ सिस्टम कार्यक्रममा जलस्रोत तथा सिंचाई सचिव सुशिल चन्द्र तिवारीले नेपाल टेलिकमलाई सो कदर पत्र प्रदान गरेका हुन्।

नेपाल टेलिकमका हाल देशैभर रहेका दूरसञ्चार पूर्वाधारहरू जल तथा मौसम विज्ञान विभागको अर्ली वार्निङ सिस्टम अन्तर्गतको कम्युनिकेसन एण्ड डिसिमिनेसन प्रयोजनको लागि प्रयोग भइरहेका छन्।

सूचना संकलन अन्तर्गत बाढी पहिरो लगायतका विपद जोखिम क्षेत्रमा रहेका मौसम केन्द्रहरूबाट जल तथा मौसम विज्ञान विभागको केन्द्रीय सर्भरमा मौसम सम्बन्धी सूचना संकलनको लागि नेपाल टेलिकमका सिमकार्डमार्फत एमटुएम प्रविधिको प्रयोग गरी कनेक्टिभिटी उपलब्ध रहेको छ।

नेपाल टेलिकमले यसका लागि ३०० एमबी डाटा सुविधा सहितको सिमकार्ड उपलब्ध गराएको छ।

त्यसैगरी सम्बन्धित क्षेत्रमा रहेका नागरिकहरूमा सम्भावित जोखिमबाट सतर्क गराउन ११५५ कोडबाट पूर्वसूचना प्रवाह गरिरहेको छ।

यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरूको नम्बर मौसम विज्ञान विभागलाई उपलब्ध गराउदै आएको छ भने सबै सेवा निःशुल्क रुपमा उपलब्ध गराइरहेको छ।

१० चैत, २०८०, ०८:३५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।