सिआइबीले सभामुखलाई भन्यो- 'कांग्रेस सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको छ'

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई कांग्रेस सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको विषयमा लिखित जानकारी गराएको छ।
सिआईबीले आज एक पत्र पठाएर बाँसबारी छालाजुत्ता कारखाना अन्तर्गत सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान भइरहेको जानकारी दिएको हो।
सीआईबीका अनुसन्धान अधिकृत होविन्द्र बोगटीले लेखेको पत्रमा भनिएको छ, ‘…बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०-०-०-० (दस रोपनी) जग्गा गैह्रकानूनी तवरबाट च्याम्पियन फुटवेयर लि.को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघिय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ।’
यसअघि कुनै पनि सांसदमाथि फौजदारी अभियोगमा अनुसन्धान भइरहेको विषय सभामुखलाई जानकारी दिने अभ्यास नभए पनि यसपटक चौधरीमाथिको अनुसन्धानबारे सिआईबीले औपचारिक पत्र नै लेखेर सभामुख देवराज घिमिरेलाई जानकारी दिएको हो।
संविधान तथा प्रतिनिधिसभा नियमावली २०७९ ले अनुसन्धानकै क्रममा रहेको विषयबारे सभामुखलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छैन।
यतिबेला कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गर्दै संसद अवरुद्ध गरिरहेको छ।
यसैबीच, कांग्रेस सांसद चौधरीको अनुसन्धानबारे सीआईबीले सभामुखलाई पत्र पठाउनुले कांग्रेसलाई गलाउन खोजेको बुझिएको छ।
चैत ७, २०८० बुधबार २०:४८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।