बाँसबारी जग्गा प्रकरणमा न्यायाधीश आचार्यको आदेशमा बदनियत देखिएपछि मुगु सरुवा

बाँसबारी जग्गा प्रकरणमा न्यायाधीश आचार्यको आदेशमा बदनियत देखिएपछि मुगु सरुवा

काठमाडौँ : बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यक्तिको बनाएकोबारे प्रहरी अनुसन्धानमै रहेकोबेलामा पक्राउ परेका तीन आरोपीलाई हाजिर जमानीमा छाड्न बाध्यात्मक आदेश दिएका  न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ।

आचार्यलाई काठमाडौँबाट हटाएर काजमा जिल्ला अदालत मुगु सरुवा गरिएको सर्वोच्च अदालतको प्रशासनले पुष्टि गरेको छ।

सरकारी जग्गा अपचलनको आरोपमा ठगी र किर्तेको अनुसन्धानमा रहेका व्यवसायी अरुणकुमार चौधरी, सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर र तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण थापा पक्राउ परेका थिए।

कानुनले अनुसन्धान सुरु गरेर मुद्दा दायर गर्न २५ दिनको हदम्याद दिएको आरोपमा दोस्रो पटक म्याद थपका लागि लैजाँदा आचार्यले तथ्य छाडेर नेपालमा रोजगारी दिएका जस्ता भावनात्मक तर्कमा टेक्दै दुई दिन म्याद र म्यादभित्र अनुसन्धान नसकिएर हाजिर जमानीमा छाड्न आदेश दिएका थिए।

चौधरी र थापा पक्राउ परे पनि उनीहरू प्रहरी हिरासतमा थिएनन्। स्वास्थ्यकाकारण अस्पतालमा थिए। ठाकुर भने प्रहरी हिरासतमा थिए।

कुनै कसुरमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका व्यक्ति भाग्न सक्ने वा नसक्ने, प्रमाण नष्ट हुने वा नहुने लगायतका जोखिम हेरेर हाजिर जमानीमा छाड्ने अधिकार कानुनले सम्बन्धित अनुसन्धान अधिकृतलाई नै दिएको छ।

तर सिआइबीले न्यायिक हिरासतमा राख्नपर्नाको नौ बुँदे कारण खुलाउँदा समेत आचार्यले हाजिर जमानीमा छाड्न आदेश दिए। उनको आदेश अनुसार तीनै जना रिहा भइसकेका छन्। रिहा भए पनि उनीहरू निर्दोष ठहर भएका भने हैनन्। उनीहरू अहिले पनि आरोपी नै हुन्। प्रहरी अनुसन्धानमै देखिन्छ।

आचार्यको सो आदेशपछि अदालतमा विचलन देखिएको,'घराना'को प्रभावमा परेको भन्दै आलोचना भएको थियो। प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले नै आदेशको आधारबारे चासो राख्दा अनुसन्धानको प्रक्रिया प्रभावित पार्ने नियतबाट कानुनी तथ्यभन्दा बाहिर गएर आदेश दिएको देखिएपछि आइतबार आचार्यलाई मुगु जिल्ला अदालतमा काजमा सरुवा गर्ने निर्णय गरे।

बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयरहुँदै प्रालीको नाममा गएको पुष्टि भएपछि अनुसन्धान सुरु गरेको ब्युरोले माघ १८ गते औपचारिक अनुसन्धान सुरु गर्दै चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो। चाँदबाग रेसिडेन्ट प्रालीको शेयर सदस्यमा अरुणकी श्रीमती समेत रहे पनि प्रहरीले अहिलेसम्म उनलाई औपचारिक रुपमा अनुसन्धानको दायरामा ल्याएको छैन।

माघ २९, २०८० सोमबार १२:०७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।