रविको बचाउमा प्रधानमन्त्रीको जवाफ- ‘लिएको ऋण पर्छ्यौट भइसक्यो, उजुरीमा प्रमाण नै छैन’

रविको बचाउमा प्रधानमन्त्रीको जवाफ- ‘लिएको ऋण पर्छ्यौट भइसक्यो, उजुरीमा प्रमाण नै छैन’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन्।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले हालसम्मको अनुसन्धानमा लामिछाने सहकारीको कुनै पनि जिम्मेवारी नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहिँ कतै नजोडिएको बताए।

‘लामिछानेविरुद्धको जाहेरीमा सहकारी हिनामिनामा संलग्न भएको कुनै आधार र प्रमाण केही पनि पेश नगरिएकाले प्रहरीले उक्त जाहेरी दर्ता नभएको हो,’ उनले भने, ‘उहाँ(लामिछाने)को नाममा प्रवाह भएको ऋण पर्छ्यौट भएको देखिएकाले अनुसन्धान गर्नुनपर्ने भन्ने ब्रिफिङ प्रहरीबाट स्पष्ट रूपमा भएको छ।’

सुशासन कायम गर्ने सवालमा आफूले कम्प्रमाइज नगर्ने प्रतिबद्धता व्यक्त गर्दै अनुसन्धानबाट कैफियत देखिएमा कारबाही गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारे।

‘मुद्दा बुझाइसक्दा सम्म उहाँको नाममा उजुरी वा मुद्दा केही छैन,’ उनले भने, ‘उजुरी पर्दैमा राजीनामा दिनुपर्ने हो भने के हुन्छ? ठाडो उजुरी पर्नासाथ राजीनामा दिने सहमति हामी गर्न सक्छौं त?’

मुद्दा प्रभावित पार्ने मनसाय भए सरकारमा सहभागी भएकै आधारमा पनि पार्न सक्ने भन्दै उनले यस विषयमा अनावश्यक राजनीतिकरण नगर्नसमेत आग्रह गरे।

‘गृहमन्त्रीबाट चैं हटाउ, मुद्दा प्रभावित हुन्छ भन्न खोज्नुभएको हो भने, प्रभावित पार्ने मनसाय भएकाले अर्को मन्त्रालयमा बसे पनि प्रभावित पार्ला? सरकारमा बसे मात्र पनि प्रभाव पार्न सक्ला। त्यसैले यो विषयलाई राजीनिकरण नगर्न म आग्रह गर्न चाहन्छु।’

सूर्यदर्शन सहकारीका एक हजारभन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै २०८० साउन २२ गते दर्ता गरेको जाहेरी दरखास्त दिएका थिए। उक्त मुद्दामा कसैको पनि नाम उल्लेख गरिएको थिएन।

उक्त दरखास्तमाथि प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका अधार सहकारीको रकम हिनामिना गरेको अभियोगमा १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा असोज १८ गते मुद्दा दायर गरेको थियो।

ती १९ जनामध्ये चार जना पक्राउ परेका छन् भने बाँकीको प्रहरीको खोजी गरिहेको छ। मुल उजुरी परेको छ महिनापछि माघ १६ गते जिल्ला प्रहरी कार्यालयमा पुरक जाहेरी दिइएको थियो। जसमा रवि  लामिछानेसहित १८ व्यक्ति तथा कम्पनीलाई विपक्षी बनाइ जाहेरी पेश भएको थियो।

चैत ६, २०८० मंगलबार १३:२७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।