बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३१ जना घाइते, प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३१ जना घाइते, प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

काठमाडौं : रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको यात्रु बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका ३१ जनालाई उद्धार गरेर उपचारार्थ लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को रात्रि बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो।

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिएका छन्।

घटनास्थल बागलुङ सदरमुकामबाट करिब साढे ४ चार घण्टाको दुरीमा पर्छ। सदरमुकामबाट टाढा भएकाले घाइतेलाई स्थानीय स्वास्थ्य चौकीहरूमा पठाएर अवस्थाअनुसार सम्भव धौलागिरि अञ्चल अस्पताल ल्याउने तयारी छ।

यसैबीच यस् दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली सँगै घाइतेको उपचार प्रभावकारी बनाउन प्रशासनलाई निर्देशन दिएका छन्।

'दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशित गर्दछु,' उनले भनेका छन् ।

 

५ चैत, २०८०, २१:२६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।