भारतमा ७ चरणमा हुँदैछ लोकसभा निर्वाचन, दुई गठबन्धनबीच प्रतिस्पर्धा हुँदै

भारतमा ७ चरणमा हुँदैछ लोकसभा निर्वाचन, दुई गठबन्धनबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी : भारतमा १८ औं लोकसभा निर्वाचनको मिति घोषणा भएको छ।

शनिबार त्यहाँको केन्द्रीय निर्वाचन आयोगले यसपालिको लोकसभा निर्वाचन ७ चरणमा गर्ने गरी मिति घोषणा गरेको छ।

पहिलो चरणमा २१ राज्यका १०२ सिटमा निर्वाचन हुनेछ।

बिबिसीका अनुसार अरूणाञ्चल, असम, बिहार, छत्तिसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अन्डमान निकोबार, जम्मू कस्मिर, लक्षद्विप, पुद्दुचेरीका विभिन्न १२० सिटमा मार्च १९ तारिखका दिन मतदान हुनेछ। दोस्रो चरणको निर्वाचन १३ राज्यका ८९ सिटमा निर्वाचन हुनेछ।

असम, बिहार, छत्तिसगढ, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीरका कुल ८९ सिटमा अप्रिल २६ मा मतदान हुने बिबिसीले उल्लेख गरेको छ।

तेस्रो चरणको मतदान १२ राज्यका विभिन्न ९४ सिटमा हुनेछ। ती सिटहरूमा मे ७ तारिखका दिन मतदान हुने बताइएको छ।

त्यस्तै, चौथो चरणमा १० राज्यका विभिन्न ९६ सिटमा निर्वाचन हुनेछ। ती सिटहरूमा मे १३ तारिखका दिन मतदान हुने बिबिसीले उल्लेख गरेको छ।

पाँचौ चरणमा ८ राज्यका ४९ सिट, छैटौं चरणमा ७ राज्यका विभिन्न ५७ वटा सिट र सातौं चरणमा विभिन्न ८ राज्यका ५७ सिटका लागि निर्वाचन हुनेछ।

पाचौं चरणको निर्वाचन अन्तर्गत मे २० मा, छैटौं चरणको मे २५ मा र सातौं चरणको १ जुनमा मतदान हुने बिबिसीले जनाएको छ।

सबै चरणको मतदान सकिएपछि मात्रै मतगणना सुरू गरिने बताइएको छ। सातौं चरणको मतदान १ जुनमा सकिने हुँदा मतगणना ४ जुनबाट सुरू हुने भनिएको छ।

भारतमा ९६.८ करोड मतदाता छन्। तीमध्ये ४७.१ करोड महिला र ४९.७ करोड पुरूष मतदाता रहेको बिबिसीले उल्लेख गरेको छ।

८५ वर्षमाथिका व्यक्तिहरूलाई घरबाटै मतदान गर्न मिल्ने व्यवस्था गरिएको छ।

सन् २०१९ मा निर्वाचित लोकसभा सदस्यहरूको पदावधि आगामी जुन १६ देखि सकिँदैछ।

यसपालिको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडिए र कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ।

भारतमा २०१४ र २०१९ को लोकसभा चुनाव भाजपाले जितेर लगातार दोस्रो कार्यकाल मोदी प्रधानमन्त्री छन्। संसदीय निर्वाचनसँगै चार प्रदेशमा विधानसभा निर्वाचन मिति पनि तोकिएको छ।

ओडिशामा मे १३, मे २०, मे २५ र जुन १ तारिखका दिन विधानसभा निर्वाचनको मतदान हुनेछ।

त्यहाँको निर्वाचन आयोगका अनुसार अरूणाञ्चल र सिक्किममा १९ अप्रिलमा एकै चरणमा तथा आन्ध्र प्रदेशमा १८ तारिखमा विधानसभा निर्वाचनको मतदान हुने छ।

३ चैत, २०८०, १९:१९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।