७ वर्षमा साढे ३ किलोमिटर सडक नबनाउने ठेकेदारको म्याद चौथो पटक थपिँदै

७ वर्षमा साढे ३ किलोमिटर सडक नबनाउने ठेकेदारको म्याद चौथो पटक थपिँदै

बुटवल : बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सम्मको साढे ३ किलोमिटर सडक बनाउन ठेक्का लागेको ७ वर्ष भयो। तर सडक बनेको छैन। द कञ्चनजङ्घा बिरुवा जेभीले ठेक्का त लियो तर बनाएन। सात वर्षसम्म पनि ठेक्का पुरा नभएपछि सडक डिभिजन कार्यालय बुटवलले ठेक्का तोड्ने तयारी गरेको थियो।

तर सरकारले सार्वजनिक खरिद ऐनमा संशोधन गरेसँगै ठेक्काको म्याद थपिने भएको छ। अब म्याद थपिएमा ४ पटक हुन्छ।

ठेक्का पाएको कम्पनीले अन्तिम म्याद थपिए अनुसार २०८० असार २९ गतेसम्म सत प्रतिशत काम सम्पन्न गर्ने कार्ययोजना सडक डिभिजन कार्यालयलाई बुझाएको थियो। तर ठेकेदारले कार्ययोजना अनुसार कामै गरेनन्।

तीन किलोमिटर सडक बनाउन २०७३ चैत्र १७ गते ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार तीन किलोमिटर सडकको निर्माण ३० महिनाभित्र सम्पन्न गर्नुपर्ने थियो। तर काम भएन।

पटक–पटक म्याद थपियो। तर ठेकेदारले निर्माणको काम सक्काएनन्। म्याद सकिन लागेपछि कामको ‘वर्क सेड्युल’ डिभिजन सडक कार्यालय बुटवलमा पेस गर्ने अनि म्याद थपिएपछि चुप बस्दै आएको छ निर्माण कम्पनी।

पटक–पटक म्याद थप गर्दा समेत काम सम्पन्न नभएपछि ठेक्का तोड्ने भन्दै सडक डिभिजन कार्यालय बुटवलले अघिल्लो वर्षको फागुन ४ मा सूचना निकालेको थियो। तर भएन। असारमा म्याद सकिए पनि म्याद थपिएन। न ठेक्का नै रद्द भयो।

कार्यालयका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले असारदेखि म्याद थप नभए पनि अब म्याद थपिन लागेको बताए।

‘हामी ठेक्का तोड्ने तयारीमा थियौ। तर सरकारले सार्वजनिक खरिद ऐनको १३ औँ संशोधन मार्फत ठेक्काको म्याद थप गर्ने कानुन बाटो खुल्ला गरिदिएको छ। अब म्याद थप हुन्छ’ उनले भने।

ठेक्का तोड्ने सूचनापछि ठेकेदारले फेरि म्याद थप गरी पाऊँ भन्दै डिभिजन सडक कार्यालय बुटवलमा पत्र पठाएको थियो।

७ वर्षमा तीन पटक म्याद थप गरिए पनि साढे तीन किलोमिटरको सडक अहिलेसम्म जम्मा ५३ प्रतिशत मात्रै काम भएको छ।

अहिले चौराहदेखि गोलपार्कसम्मको मेन क्याजवेयमा लेभल मिलाउन पिच भएको छ। तर साइटको काम अधुरै छ। सडकको दायाँ र बायाँ नाली सहितको सर्भिस लेन निर्माणकै अवस्थामा छ। अहिले निर्माण कम्पनीले नालीका ढक्कन बनाउनु बाहेक अरू काम गरेको छैन।

२७ किलोमिटर लम्बाई रहेको बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत तीन वटा ठेक्का लिएको यो कम्पनीले तीनवटै काम पुरा गरेको छैन। विभिन्न चरणमा फरफरक निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिए पनि द कञ्चनजङ्घा बिरुवा जेभीले ठेक्का लिएको भागमा मात्र सडक पुरा हुन नसकेको हो।

यहीँ सडक आयोजना अन्तर्गत भन्सार नाका बेलहीयादेखि डण्डाखोला पुलपारीसम्मको सडकमा चार वर्षदेखि कुनै पनि काम अगाडी बढ्न सकेको छैन।

अञ्चलपुरदेखि लखनचोकसम्मको सडक बिरुवा एपेक्स श्रेष्ठ जेभ र भन्सार नाका बेलहीयादेखि डण्डाखोला पुलपारीसम्मको बिरुवा जेभ नाममा ठेक्का सम्झौता गरिए पनि यी दुवै ठेक्काका आधिकारिक प्रतिनिधि सुवित श्रेष्ठ रहेका छन्। श्रेष्ठ नेपाली कांग्रेस निकट निर्माण व्यवसायी हुन्।

बुटवलको साढे तिन किलोमिटर सडक निर्माणको लागि ५३ करोडमा ठेक्का लिइएकोमा निर्माण कम्पनीले हालसम्म २७ करोड भुक्तानी लगिसकेको छ।

आयोजनालाई बजेट शून्य

त्यसो त अहिले बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणका लागि बजेट नै विनियोजन गरिएको छैन। ठेकेदारले काम गरे पनि भुक्तानी पाउन कठिन छ। सूचना अधिकारी लम्सालका अनुसार ठेकेदारले काम गरेर बिल पेस गरेको २ करोड रुपैयाँ भुक्तानी नै गरिएको छैन।

सङ्घले उक्त सडकलाई बर्सेनि बजेट विनियोजन गर्दै आएकोमा यस वर्ष बजेट नै नरहेको उनले बताए।

डिजाइन परिवर्तनको प्रस्ताव

बुटवलको राजमार्ग चौराहदेखि बेलहियासम्म सडकको डिजाइन एउटै छ। दुवैतर्फ सर्भिस लेन अनि मुख्य सडक। तर बुटवलको मुख्य बजार क्षेत्र चौराहदेखि गोलपार्कसम्मको डिजाइन भने परिवर्तन गर्न बुटवल उपमहानगरपालिकाले डिभिजन सडक कार्यालयलाई प्रस्ताव गरेको छ।

दुवैतर्फ सर्भिस लेन हुँदा व्यापारमा कमी हुने भएकाले सर्भिस लेन नराख्ने र फुटपाथलाई अझ ठुलो बनाउने प्रस्ताव उपमहानगरपालिकाको छ। त्यसमा साइकल लेन पनि बनाउने गरी छलफल भइरहेको छ।

१ चैत, २०८०, १८:५०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।