देश आर्थिक संकटमा रहेको भन्दै पाकिस्तानी राष्ट्रपति जरदारीले पारिश्रमिक नलिने

देश आर्थिक संकटमा रहेको भन्दै पाकिस्तानी राष्ट्रपति जरदारीले पारिश्रमिक नलिने

एजेन्सी : पाकिस्तानका नयाँ राष्ट्रपति आसिफ अली जरदारीले आफ्नो कार्यकालमा कुनै पनि पारिश्रमिक नलिने घोषणा गरेका छन्।

आइतबार पद तथा गोपनियताको सपथ लिएका राष्ट्रपति जरदारीले जरदारीले देश आर्थिक संकटमा रहेकाले पनि यस्तो निर्णय गरेको उनको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले ट्विटर मार्फत जनाएको छ।

राष्ट्रिय कोषमा भार नपार्ने उद्देश्यले राष्ट्रपतिले आफ्नो पारिश्रमिक त्यागेको बताइएको छ।

राष्ट्रपतिको तलब सुविधा संसदले पारित गर्ने प्रचलन रहेको पाकिस्तानमा पूर्व राष्ट्रपति आरिफ अल्वीले प्रति महिना ८ लाख ४६ हजार ५ सय ५० रुपैयाँ पारिश्रमिक बुझ्ने गरेका थिए। पाकिस्तानमा सन् २०१८ देखि उक्त सुविधा राष्ट्रपतिले पाउँदै आएका थिए।

जरदारी पाकिस्तानका सबैभन्दा धनी राजनीतिज्ञ मध्ये एक हुन्।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का सह-अध्यक्ष आसिफ अली जर्दारीले आइतबार पाकिस्तानको १४ औँ राष्ट्रपतिका रूपमा सपथ ग्रहण गरेका थिए। इस्लामावादको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले जरदारीलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

सैन्य शासकहरूलाई छोडेर, जरदारी दोस्रो पटक राष्ट्र प्रमुखको पद ग्रहण गर्ने पाकिस्तानको पहिलो नेता बनेका छन्। यसअघि उनले सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति पद सम्हालेका थिए।

यस्तै, पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले पनि आफ्नो तलब छोड्ने निर्णय गरेका छन्। नक्वीले देशले सामना गरिरहेको आर्थिक चुनौतीलाई पनि यसको कारण बताए।

३० फागुन, २०८०, ०८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।