प्रदर्शक र अवलोकनकर्ता सन्तुष्ट बनाउँदै सकियो ‘फर्मा एक्स्पो २०२४’

प्रदर्शक र अवलोकनकर्ता सन्तुष्ट बनाउँदै सकियो ‘फर्मा एक्स्पो २०२४’

काठमाडौं : चितवनको भरतपुरमा तीन दिनसम्म सञ्चालन भएको नवौँ नेपाल फर्मा एक्स्पो २०२४ सम्पन्न भएको छ। एक्स्पो सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकहरूले बताएका छन्।

नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष महेश प्रधानले नवौँ संस्करणको एक्स्पो अत्यन्तै सफल भएको आफूहरूले महसुस गरेको बताए।

उनले भने, 'एक्स्पोमा प्रदर्शनी गर्न र हेर्न आउने सबै सन्तुष्ट भएको हामीले पायौं।'

उनले प्रदर्शनीका अवसरमा आयोजना गरिएका गोष्ठी, सेमिनार, अन्तक्रिर्या लगायतका कार्यक्रमहरू पनि निकै सफल भएको दाबी गरे।

अध्यक्ष प्रधानले थपे, 'सबै खुशी हुँदा औषधि उत्पादक संघले राम्रो काम गरेको महसुस भएको छ।'

एपोनका वरिष्ठ उपाध्यक्ष एवं एक्स्पोका संयोजक प्रभात रुङ्गटाले चितवनमा स्वदेशी तथा विदेशी पाहुनालाई राम्रो आतिथ्यता प्राप्त भएको बताउँदै धन्यवाद व्यक्त गरे।

नेपाल फर्मा एक्स्पो अन्तर्राष्ट्रियस्तरको एक्स्पोको रुपमा स्थापित गर्न सफल भएको भन्दै संयोजक रुङ्गटाले अन्तर्राष्ट्रिय स्तरबाटै सफल कार्यक्रम आयोजना गरेको भन्दै बधाई पाएको बताए।

उनले भने, 'नेपाली औषधि उद्योगलाई अझै सवल र आत्मनिर्भर बनाउने प्रतिज्ञा गर्दैछौं।'

एपोनका उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले अन्तिम दिनमा पनि अवलोकन गर्न आउनेको घुइँचो लागेको देखिएको बताए। एक्स्पो आयोजना गर्नुको मुख्य उद्देश्य आम जनसमुदायलाई नेपालमा गुणस्तरीय औषधि बन्छ भन्ने कुरा देखाउने, सिकाउने र बुझाउने नै भएको उनको भनाई छ।

उनले भने, 'जसले औषधि लेख्न, जसले औषधि बेच्छन् र जसले औषधिको काम गर्छन् उनीहरुका लागि नेपालमै गुणस्तरीय औषधि बनेको छ भन्ने सन्देश प्रवाह भएको छ।'

यही फागुन २५ गतेबाट सञ्चालित भएका एक्स्पोमा स्वदेशी औषधि उद्योग सहित नौ वटा विदेशी कम्पनीहरूले प्रविधि, प्रयोगशाला लगायत औषधिजन्य उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीको प्रदर्शन गरिएको थियो।

२८ फागुन, २०८०, १७:५४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।