हतकडीसहित भागेका थुनुवालाई पक्रिन गएका थिए, भीरबाट लडेर प्रहरी जवानको ज्यान गयो

हतकडीसहित भागेका थुनुवालाई पक्रिन गएका थिए, भीरबाट लडेर प्रहरी जवानको ज्यान गयो

काठमाडौं : दार्चुला प्रहरीको हिरासतमा रहेका एक थुनुवा भागेपछि उनलाई समात्न गएका एक प्रहरी जवानको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको ज्यान गएको हो।

प्रहरीको थुनामा रहेका महाकाली नगरपालिका-१ का उमेशसिंह कुँवर हतकडीसहित भागेपछि समात्न जाँदा लडेर सोमबार उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ।

कुँवरलाई पक्राउ गर्न जाँदा लडेका चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका निम्ति उनलाई अस्पताल पुर्याइएको थियो।

उपचारका क्रममा उनको मृत्यु भएको सुदूरपश्चिम प्रहरी कार्यालयका एसएसपी दिल्लीराज विष्टले जानकारी दिए।

भागेका कुँवरलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। उनी यसअघि माघ ७ गते दुईजना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका थिए। 

२८ फागुन, २०८०, १५:५२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।