तिनाउका सबै जनप्रतिनिधि पोखरा भ्रमणमा, सरकारी बजेटमै घुम्नेमा माथागढी र तानसेन पनि !

तिनाउका सबै जनप्रतिनिधि पोखरा भ्रमणमा, सरकारी बजेटमै घुम्नेमा माथागढी र तानसेन पनि !

बुटवल : पाल्पाको तिनाउ गाउँपालिकाका जनप्रतिनिधिहरू सेवा नै प्रभावित हुने गरी पोखरा भ्रमणमा निस्केका छन्।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यसहितको टोली २ दिने पोखरा भ्रमणमा निस्केको हो।

जनप्रतिनिधि पोखरा हिँडे पनि कार्यालय भने कर्मचारी खोलेका छन्। तर जनप्रतिनिधिबाट हुने सिफारिस भने हुने छैन।

उनीहरुको सामूहिक भ्रमणले पालिकासहित ६ वटै वडामा फागुन २७ र २८ गते जनप्रनिधिबाट हुने सिफारिस लगायतका काम नहुने भएका हुन्। 

तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले २ दिने पोखरामा जनप्रतिनिधिहरूले विभिन्न १० वटा विषयवस्तुमा छलफल गर्ने बताए। उनले जनप्रतिनिधिहरूको अभिमुखीकरण पनि पोखरामै गर्न लागिएको बताए।

जनप्रतिनिधिको टिम पोखराको होटल पौवामा बसेको छ।

वार्षिक कार्यतालिकामै राखेर कर्मचारी र जनप्रतिनिधिलाई भनी १३ लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए।

यसपटक जनप्रतिनिधिहरूको पोखरा यात्रामा भने साढे ५ लाख बजेट खर्च हुने उनले बताए।

‘गाउँपालिकामै बैठक तथा तालिम सञ्चालन गर्दा जनप्रतिनिधिहरूले समय दिन नसक्ने तथा व्यस्त हुने भएकाले अभिमुखीकरणमा ध्यान नजाने हुँदा पोखरा पुगेर कार्यक्रम आयोजना गर्नुपरेको हो,’ प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने।

पाल्पाका स्थानीय पालिकाहरूमा सरकारी बजेटमै जनप्रतिनिधि तथा कर्मचारीहरू घुमफिरमा जाने प्रवृत्तिको आलोचना हुँदै आएपनि रोकिएको भने छैन। 

तालिम तथा गोष्ठीको नाममा जनप्रतिनिधिहरूले सिङ्गो गाउँपालिकाकै सेवा प्रभावित हुनेगरी आयोजना गरिएको भन्दै आलोचना समेत हुने गरेको छ। तर, जनप्रतिनिधिहरू टेडपुच्छर नलगाई फेरि-फेरि दोहोर्याइरहन्छन्।

यसअघि, पाल्पाकै तानसेन नगरपालिकाले पोखरा पुगेर कार्यपालिका बैठक बसेको थियो।

मेयर सन्तोषलाल श्रेष्ठका अनुसार वार्षिक समीक्षा गर्न पोखरा पुगेको अवसर पारेर उतै कार्यपालिका बैठक सम्पन्न गरिएको थियो। वर्षभरीमा गरेका कामको समीक्षा गर्न मेयर श्रेष्ठसहित उपप्रमुख प्रतीक्षा सिंजाली, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, वडाका अध्यक्षहरू तथा कार्यपालिका सदस्यको टोली गत कार्तिक २३ गते बिहिबार पोखरा पुगेको थियो।

यसैगरी, पाल्पाको माथागढी गाउँपालिकाबाट कर्मचारी तथा जनप्रतिनिधिको टोली भारत भ्रमणमा निस्केपछि आलोचना भएको थियो।

गएको कात्तिकमा पूर्वी नेपालको इलाम लगायतका ठाउँहरूको भ्रमणमा निस्किएको टोली सरकारी खर्चमै भारतको सिक्किममा समेत पुगेको थियो।

२७ फागुन, २०८०, १०:४७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।