५ लाख नेपाली रहेको मलेसियामा जुलाईदेखि आप्रवासी श्रमिक नलिने निर्णय

५ लाख नेपाली रहेको मलेसियामा जुलाईदेखि आप्रवासी श्रमिक नलिने निर्णय

एजेन्सी : मलेसिया सरकारले आगामी जुलाईदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको हो।

मलेसियाको गृह मन्त्रालयले मे मसान्तभन्दा अगावै आवश्यक श्रमिक भित्र्याउन भनेको छ।

गृहमन्त्री सेरी सैफुद्दीन नासुसन इस्माइलले पत्रकार सम्मेलन गर्दै सरकारले आप्रवासी श्रमिकको संख्यालाई नियन्त्रण गर्न चाहेको बताए।

‘कुल श्रम शक्तिको १५ प्रतिशत मात्रै विदेशी श्रमिक राख्ने नीति तय भएको छ, त्यसअनुसार स्वीकृत कोटामा कम्पनीहरूलाई आप्रवासी कामदार भित्र्याउनका लागि मे ३१ सम्मको समय दिइएको छ,’ उनले भने।

मलेसियाको श्रम शक्ति करिब एक करोड ७० लाख छ।

सरकारी नीतिअनुसार त्यसको १५ प्रतिशत अर्थात् २५ लाख ५० हजार आप्रवासी श्रमिकलाई अवसर दिइनेछ। तर अहिले नै २१ लाख ३० हजार ९३१ आप्रवासी मलेसियामा कार्यरत छन्।

त्यसमध्ये नेपालीहरू मात्रै ५ लाख हाराहारीमा छन्।

मलेसियामा अहिले कम्पनीहरूले ओभरटाइम नदिएका कारण आप्रवासी कामदारको आकर्षण समेत घटिरहेको छ। कतिपय काम नपाएर अलपत्र समेत परिरहेका छन्।

०७५ सालयता नेपालबाट शून्य लागतसहितको श्रम सम्झौता गरेपछि मलेसियाले नेपालीहरूलाई प्राथमिकतामा राखेर लैजाने गरेको छ।

२७ फागुन, २०८०, ०९:२०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।