कुँवर दम्पत्तीको व्यक्तिगत लगानीमा नौ महिनामै तयार भयो एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला

कुँवर दम्पत्तीको व्यक्तिगत लगानीमा नौ महिनामै तयार भयो एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला

बुटवल : गुल्मीका विनोद कुँवरले रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला ९ महिनामै तयार गरेका छन्।

तिलोत्तमा नगरपालिका वडा नम्बर १७ पूर्व दरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको पहिलो चरणको कार्य ९ महिनामै तयार गरेका हुन्। त्यसका लागि उनले १० करोड रूपैयाँमा पहिले नै जग्गा खरिद गरिसकेका थिए।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशालाको पहिलो चरणको संरचना निर्माणको काम ९ महिनामै तयार भएसँगै रंगशालाको फागुन २८ गते उद्घाटन गरिँदैछ। रंगशालाको गत जेठ ३० गते शिल्यनास गरिएको थियो।

२८ गते उद्घाटन गरे पश्चात रंगलाशामा लिजेण्ड्स कप क्रिकेट आयोजना गरिनेछ। एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुँवरले पहिलो चरणको काम सम्पन्न भएसँगै चार टिमबीच लिजेण्ड्स कप टि-१० क्रिकेट प्रतियोगिताको आयोजना गरिएको बताए।

प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन १९९६ को टोली, सन २०१४ को टी-२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाउनेछन्।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सन २०१४ टोलीको कप्तानी गर्नेछन्। सन् १९९६ को कप्तानी एलबी क्षेत्रीले गर्नेछन्। त्यस्तै रेस्ट अफ नेपालको टीमलाई कलाम अलीले कप्तानी गर्नेछन् भने रुपन्देही लेजेन्ड्सलाई हरिबहादुर थापाले कप्तानी गर्नेछन्।

नौ महिनामै खेलमैदान तयार भए पनि रंगशालाको अरु भौतिक पूर्वाधारको काम भने भएको छैन। हाल अष्ट्रेलियामा बस्दै आएका कुँवर रंगशाला उद्घाटन र खेल आयोजनाका लागि श्रीमती सदीक्षा कुँवरसँगै नेपाल आइसकेका छन्।

रंगशालामा प्याराफिट सहित अन्य संरचना बनाउन ४० करोड बढीको लगानी लाग्ने अनुमान गरिएको छ। कुँवरका अनुसार मैदान निर्माण गर्दा मात्र जग्गा बाहेक ७ करोड खर्च भएको छ। उनले १८ करोडको लगातमा प्याराफिटको काम यसै सातादेखि सुरू हुने बताए। उनका अनुसार यो रंगशाला ५ बर्षमा पूरा हुनेछ।

‘हामीले यसलाई चरण चरणमा बनाउँदै लग्नेछौँ। पहिलो वर्षमा ५ हजार दर्शक अट्ने प्याराफिट सहित मैदान बन्नेछ। मैदान तयार भएसँगै प्याराफिट समेत यहि हप्ता शिल्यनास हुन्छ र तयार गरिनेछ। यसरी क्रमश बढाउँदै ५ बर्षमा २५ हजार क्षमता सहितको रंगशाला पूरा गर्ने योजना छ’, विनोदले भने।

उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका विनोदले त्यहि गरेको मेहनत र पसिनाको मूल्यले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बनाएका हुन्।

‘पाँच वर्षअघिबाट क्रिकेट रंगशाला बनाउने योजना थियो। अहिले ९ महिनामै मैदान तयार भएको छ। आशा छ समयमै यो पूर्ण रंगशाला बन्नेछ। आफूले बुनेको सपना पूरा हुनेछ’, उनले थपे।

दश वर्ष अष्ट्रेलियामा बिताइसकेका उनले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आईटी) सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट खोलेका छन्। उनी आफैँ पनि आईटी इन्जिनियर हुन्। यहि कम्पनीका कुँवर निर्देशक र उनकी पत्नी सुदीक्षा चिफ अप्रेटिङ अफिसर हुन्।

उनै इन्जिनियर कुँवर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर नेपालमा त्यो सपना साकार बनाउन तल्लीन छन्।

कुँवरले ‘एक्स्ट्राटेक ओभल’ क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ‘ब्रान्ड एम्बासडर’को जिम्मा नेपालका चर्चित पूर्वक्रिकेटर शक्ति गौचनलाई दिएका छन्।

क्रिकेट रंगशालामा छात्रावास सहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने र उक्त एकेडेमी र ट्रेनिङ सेन्टरको सम्पूर्ण जिम्मेवारी गौचनलाई नै दिएको कुँवरले बताए।

कुँवरले अस्ट्रेलियामा स्थापना गरेको ‘एक्स्ट्राटेक ओभल’ले अस्ट्रेलियामा अध्ययन पूरा गरिसकेका विद्यार्थीहरूको क्षमता अभिबृद्धि गर्नुका साथै उनीहरूलाई योग्यता अनुरुपको काम दिलाउने गर्छ।

छोटो समयमै अस्ट्रेलियाकै सिड्नी, मेलबर्न, क्यानबिरा, ब्रिसबेनलगायत विभिन्न ठूला शहरमा उनले ‘एक्स्ट्राटेक ओभल’ को शाखा पनि विस्तार भइसकेको छ।

जसबाट कुँवरले पछि फर्कनु परेको छैन। अष्ट्रेलियामा प्राप्त गरेको सफलताले मात्र उनलाई पूर्णत खुसी मिलेको छैन। नेपालमै केही गर्ने हुटहुटी छ।

‘विदेश गएपछि नेपालको झन बढी माया लाग्ने रैछ। पैसा कमाइन्छ, त्यो ठूलो कुरा होइन। त्यसपछि मलाई मेरो देशलाई मैले गर्नुपर्ने दायित्व के हो भनेर सम्झिए,’ विनोदले थपे, ‘त्यहि दायित्ववहनको योजना क्रिकेट रंगशाला हो।’

विनोदले कुनै पनि हालतमा यो परियोजना बीचमा अलपत्र पर्न नदिने अठोट समेत गरेका छन्।

२६ फागुन, २०८०, ०९:२१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।