प्रहरी कार्यालय नजिकैको घरमा पसेका चोरहरूको कुटपिटबाट सन्तोषको मृत्यु, गरगहना र नगद पनि लुटेर लगे

प्रहरी कार्यालय नजिकैको घरमा पसेका चोरहरूको कुटपिटबाट सन्तोषको मृत्यु, गरगहना र नगद पनि लुटेर लगे

काठमाडौं : घरभित्र पसेका चोरहरूको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।

बुधबार राति करिब १ बजे चोरी गर्ने उद्देश्यले ५/७ जनाको समूह जानकी गाउँपालिका -५ रुद्रपुरस्थित नयाँ बस्ती निवासी सन्तोष थारूको घरभित्र पसेका थिए। लुटेराहरूले लुट्न खोजेपछि सन्तोषले प्रतिकार गर्दा उनीहरूको कुटपिट गरे।

कुटपिटपछि गम्भीर घाइते भएका सन्तोषको उपचार क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सो घटनामा परि घाइते भएकी मृतक थारूकी श्रीमती सबिता थारूको भेरी अस्पतालमा उपचार भइरहेको छ।

सन्तोषको परिवारले प्रतिकार गर्दा धारिलो हतियार प्रयोग गरेर उनीहरूमाथि आक्रमण र कुटपिट गरिएको सबिताकी बहिनी बसन्ती चौधरीले बताइन्।

प्रहरी नायब निरीक्षक जय बहादुर थारूको कमान्डमा खटिएको प्रहरी टोलीले लुटेराहरूको खोज तलास गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

चोरहरूले थारू परिवारलाई कुटपिट गरेर घाइते बनाई उनको घरबाट दुई वटा कानको झुम्का, एउटा नाकको फुली, दुई वटा मोबाइल र करिब ४० हजार नगद लुटेर फरार भएको पनि प्रहरीले जनाएको छ।

घटना भएको स्थल जिल्ला प्रहरी कार्यालय बाँकेबाट ३ किलोमिटर मात्र दुरीमा रहेको छ।

२४ फागुन, २०८०, १९:४५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।