बैठकमा अनधिकृत रूपमा प्रवेश गरेर ‘म गुण्डा हुँ, याद राख्नुस्’ भन्दै धम्क्याएको भन्दै गिरिविरूद्व उजुरी

बैठकमा अनधिकृत रूपमा प्रवेश गरेर ‘म गुण्डा हुँ, याद राख्नुस्’ भन्दै धम्क्याएको भन्दै गिरिविरूद्व उजुरी

काठमाडौं : चलचित्र विकास बोर्डका सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बोर्डका खरिदार निराजन गिरीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका छन्।

उजुरीमा प्रवक्ता बुढाथोकीले मंगलबार बिहान बोर्ड बैठकमा ‘अनधिकृत रूपमा प्रवेश’ गरेका गिरीले आफू ‘गुन्डा’ भएको भन्दै भौतिक आक्रमण गर्ने आशयसहित धम्क्याएको उल्लेख गरेका छन्।

उनले गिरीमाथि कारबाही गर्न उनले माग गर्दै आफ्नो जीवन सुरक्षाका निम्ति पहल गरिदिनसमेत आग्रह गरेका छन्।

बैठक बसिरहेकै बेला गिरीले बोर्डको गरिमा र प्रतिष्ठाको बेवास्ता गर्दै गुण्डागर्दी व्यवहार प्रदर्शन गर्दा अध्यक्ष, सदस्यसचिव र सदस्यहरूले कुनै प्रतिवाद नगरेको उनको भनाइ छ। त्यसपछि अपमानित र असुरक्षित महसुस गर्दै बोर्ड बैठकबाट बाहिरिएका बुढाथोकीले उजुरी दर्ता गराएका हुन्।

‘बोर्ड बैठकमै अनधिकृत व्यक्तिले सदस्यलाई आतंकित पार्ने कार्य खेदजनक छ’, प्रवक्ता बुढाथोकीले भने ‘यस्ता व्यक्ति र प्रवृत्तिलाई निरुत्साहित एवं गर्न आवश्यक रहेकोले मैले उजुरी दिएको हुँ।’

प्रवक्ता बुढाथोकीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि सोही उजुरी दर्ता गराएका छन्।

 

 

२२ फागुन, २०८०, १७:१२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।