रङ्गकर्मी खतिवडाको साहित्यमा डेब्यु, नौ कथा समेटिएको अकथ्य विमोचित

रङ्गकर्मी खतिवडाको साहित्यमा डेब्यु, नौ कथा समेटिएको अकथ्य विमोचित

काठमाडौँ : रङ्गकर्म पनि एउटा कथा वाचन गर्ने मञ्च नै हो। त्यो मञ्चमा आफ्नो पहिचान बनाइसकेका रंगकर्मी हुन् प्रवीण खतिवडा।

अभि सुवेदीद्वारा लिखित आरोहण गुरुकुलको चर्चित नाटक अग्निको कथा (२०६०) बाट रङ्गमञ्चको अभिनयमा प्रवेश गरेका उनी शनिवारबाट कथाकार समेत भएका छन्।

तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका उनले ध्रुव, महादेवको बाजी, लखन पटवारी, हेड्डा ग्याब्लर, ऊ कसको, सरजमिन, मीमांसा, माक्र्स फर्किए, विमोक्ष लगायतका नाटकको निर्देशनसमेत गरिसकेका छन्।

नेपाली चलचित्रतर्फ 'लुट'बाट चलचित्र अभिनय यात्रा सुरु गरेका उनले 'लुट २', 'ढुवानी', 'कालो पोथी', 'जात्रा', 'रङ्गेली', 'महाजात्रा', 'मनसरा', 'उमा', 'खाग' लगायतमा अभिनय गरेका छन्।

अभिनयबाट मात्रै कथा भनेर उनको चित्त बुझेनछ। त्यसैले उनी प्रिन्टरुपी कथाको सँगालो'अकथ्य' बाट साहित्यमा डेब्यु गरेका छन्।

उनको डेब्युमा नेपाल प्रज्ञा प्रतिष्ठानको मञ्चमा साथ दिन विश्लेषक सिके लाल, साहित्यकार एवम् कलाकार सगुना शाह, कलाकार सौगात मल्ल लगायतकाहरु सहभागी भएका थिए शनिवार।

नौ कथा समेटिएको उनको पहिलो कथा सङ्ग्रहबारे विश्लेषक सिके लालले लेखकले आँसु, आवेग र परिवर्तनको चाहनाका कथा लेखेको र ती कथाले पाठकलाई सोच्न र यथास्थितिमाथि प्रश्न गर्न बाध्य पार्ने टिप्पणी गरे।

 'केन्द्रीय पात्रहरूलाई स्थापित गरेर नाटक र सिनेमाको उतारचढावयुक्त संरचनामा लेखिएका कथाहरू पुस्तकमा छन्' विश्लेषक लालले भने, 'सायद त्यही भएर कथाहरूमा सहायक पात्र गौण छन्।'

साहित्यकार एवम् कलाकार सगुना शाहले प्रवीणका कथाहरू गम्भीर र गहन भएको टिप्पणी गरिन्। कलाकार सौगात मल्लले खतिवडासँग रङ्गमञ्चदेखि चलचित्रसम्म आफ्नो सहकार्य हुने गरेको चर्चा गर्दै भने 'कथा लेख्ने, सृजनात्मक लेखन गर्ने कुरा हामीबिच हुन्थ्यो। म लेख्ने काममा अलमल गरिरहेको थिएँ। तर मेरो भाइले मलाई सृजनात्मक लेखनमा उछिन्यो।'

१९ फागुन, २०८०, १९:५७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।