काठमाडौंबाट पोखरा घुम्न गएका थिए, रातभर लेकसाइड घुमेर तीब्र गतिमा मोटरसाइकल कुदाउँदा ज्यान गयो

काठमाडौंबाट पोखरा घुम्न गएका थिए, रातभर लेकसाइड घुमेर तीब्र गतिमा मोटरसाइकल कुदाउँदा ज्यान गयो
फाइल फोटो

काठमाडौं : तीब्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवाको ज्यान गएको छ।

पोखराको लेकसाइडबाट जिरोकिलोमिटरतर्फ आइरहेको बागमती प्रदेश ०२-०३४ प ५६२१ नम्बरको मोटरसाइकल जरेवरको ओरालोमा शनिबार बिहान पौने ४ बजेतिर दुर्घटनामा परेको थियो।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक सूर्य रानाका अनुसार मोटरसाइकल दुर्घटनामा परेर कैलालीको जानकी गाउँपालिका -३ का २८ वर्षीय महेश आचार्य र जानकी -९ का ३० वर्षीय शैलेन्द्रकुमार उपाध्यायको मृत्यु भएको हो।

रानाका अनुसार लेकसाइडको ‘नाइट लाइफ’मा रमाएर फर्केका उनीहरू सवार मोटरसाइकल डिभाइडरमा ठोक्किएको थियो। दुबैको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको उनले बताए।

‘सिसिटिभी फुटेज हेर्दा मोटरसाइकलको गति तीब्र देखिन्छ। रातभर लेकसाइड घुमेर फर्किने क्रममा उनीहरू सवार मोटरसाइल दुर्घटनामा परेको हो,’ रानाले भने, ‘मोटरसाइकलको गति अधिक हुनु नै दुर्घटनाको कारण हो।’

प्रहरीका अनुसार काठमाडौंमा बसोबास गर्ने उनीहरू घुमघामकै लागि पोखरा गएका थिए। मृतकद्वयको शव आफन्तले बुझिसकेका छन्।

१९ फागुन, २०८०, १८:५२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।