त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हरायो, यस्ता बने कीर्तिमानहरू

त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हरायो, यस्ता बने कीर्तिमानहरू

काठमाडौँ : त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हराएको छ। 

बिहीबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको थियो। कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन थियो।

आज नेदरल्यान्ड्सले नेपालको कीर्तिमान तोडेको हो।

यसअघि कीर्तिपुर मैदानमा सन् २०२१ को अप्रिल २४ तारिखमा खेलिएको नेदरल्यान्ड्सविरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो।

त्यस्तै, जारी शृंखलामा कुनै पनि टोलीले बनाएको पनि यो सबैभन्दा ठूलो योगफल हो।

नेदरल्यान्ड्सका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले उत्कृष्ट शतकीय पाली खेलेका थिए। उनले एक सय ३५ रन बनाएका थिए। जारी शृंखलामा ब्याट्सम्यानले बनाएको यो सर्वाधिक रन पनि हो। उनले केवल ६२ बलको सामना गरी १० छक्का र ११ चौकाका पनि हिर्काएका थिए।

तेस्रो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि अर्धशतकी पाली खेलेका थिए। साइब्रान्डले केवल ४० बलको सामना गरी पाँच छक्का र सात चौका प्रहार गरे। तेजा निदामनुरुले पनि टोलीको खातामा १८ रन थपेका थिए।

नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले दुई विकेट लिएका थिए।

जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ८८ रनमात्र बनाउन सक्यो।

नामिबियाका दुबै ओपनर सस्तैमा पेभेलियन फर्किएका थिए। पाँचौँ नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकले सर्वाधिक ४२ रन बनाए।

नामिबियाका लागि जेन ग्रिनले पनि अविजित ४२ रनको योगदान गरे। उनले केवल २० बलमा तीन छक्का र चार चौका हिर्काए। नामिबियाका लागि जिन पियर कोट्जीले २६ रन बनाए।

नेदरल्यान्ड्सका बलर टिम भान डर गगटेनले दुई विकेट लिए।

जारी शृंखलामा नेदरल्यान्ड्सको यो दोस्रो जित हो। यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराएको थियो।

यता, जारी शृंखलामा दोस्रो खेल खेलेको नामिबियाको यो पहिलो हार हो। यसअघि शृंखलाको उद्घाटन खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो।

दुई खेल खेलेको नेपालले अहिलेसम्म जितेको छैन।

फागुन १७, २०८० बिहीबार १६:४४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।