भरतपुर भ्रमण वर्ष २०२४ फागुन १८ बाट, प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर भ्रमण वर्ष २०२४ फागुन १८ बाट, प्रधानमन्त्रीले उद्घाटन गर्ने

चितवन : भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना गर्ने भएको छ। फागुन १८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमण वर्षको उद्घाटन गर्दैछन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा मेयर रेनु दाहालले उद्घाटन समारोहमा ५० हजार व्यक्ति सहभागी हुने बताइन्।

महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षहरूको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातीय समुदाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातिहरू सांस्कृतिक झाँकीसहित सहभागी हुने दाहालले जानकारी दिइन्।

भ्रमण वर्ष सफल बनाउन महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिति तथा ७ सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, सल्लाहकार समिति, विभिन्न ३० वटा उपसमितिहरू गठन भइसकेको छ।

भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाइमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको छ।

भ्रमण वर्षमा आउने पर्यटकहरूको सुविधाका लागि महानगरपालिका भित्र होटलहरुमा ७ हजार ५ सय र सौराहादेखि गैँडाकोटसम्म १५ हजार बेड तयारी अवस्थामा राखिएको छ।

भ्रमण वर्ष अवधिभरि अन्तर्राष्ट्रिय सफारी मार्ट, जङ्गल फेस्टिभल, युवा सम्मेलन, अन्तर्राष्ट्रिय लगानी सम्मेलन, साहित्य कार्यक्रम, हेरिटेज, म्याराथन, सेमिनारहरूको आयोजना, राजदूत, लेखक, ब्लगरहरूको भ्रमण, ट्राभल एजेन्सी, टुर अपरेटरहरूको सम्मेलन, विज्ञ समूह सहितको कार्यशाला गोष्ठी, खेलकुद प्रतियोगिताहरू, पर्यटन तथा वातावरणसँग सम्बद्ध दिवसहरू, जातीय सांस्कृतिक कार्यक्रम, फुड फेस्टिवल जस्ता क्रियाकलापहरू सञ्चालन हुने महानगरले जानकारी दिएको छ।

१५ फागुन, २०८०, १९:५४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।