अब नेपालभरका सबै विमानस्थलमा नि: शुल्क इन्टरनेट, टेलिकम र प्राधिकरणबीच सहमति

अब नेपालभरका सबै विमानस्थलमा नि: शुल्क इन्टरनेट, टेलिकम र प्राधिकरणबीच सहमति

काठमाडौँ : अब नेपालभर सञ्चालनमा रहेका ३४ विमानस्थलमा वाइफाई निशुल्क हुने भएको छ। नेपाल टेलिकमले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा विमानस्थलहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको हो। शुक्रवार दुबैपक्षबीच सम्झौता भएको छ।

सहमति पत्रमा टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनीता श्रेष्ठ र प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका थिए।

सहमति अनुसार टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रि वाइफाई नेटवर्क जडान गर्नेछ। उसले नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरूमा समेत चरणबद्ध रूपमा फ्री वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्ने उल्लेख छ।

प्राधिकरणले विमानस्थलभित्र उपयुक्त स्थानमा कम्पनीको सेवा सम्बन्धी जानकारी उपलब्ध गराउन सूचना तथा सहायता कक्ष सञ्चालन गर्न दिनेछ।

फ्री वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरू जडान गर्न आवश्यक उपयुक्त स्थान प्राधिकरणले उपलब्ध गराउने र व्यवस्थापनको आवश्यक काम समेत प्राधिकरणले गर्ने सहमति पत्रमा उल्लेख छ। 

फागुन ११, २०८० शुक्रबार १७:५३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।