बैंक डुब्दैछ, ऋण तिर्नुपर्दैन भनेर भ्रम फैलाउनेलाई कारबाही गर्ने अर्थमन्त्रीको चेतावनी

बैंक डुब्दैछ, ऋण तिर्नुपर्दैन भनेर भ्रम फैलाउनेलाई कारबाही गर्ने अर्थमन्त्रीको चेतावनी

काठमाडौँ :  अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरूबारे हौवा फैलाएर राजनीतिक लाभ लिने प्रयास भइरहेको भन्दै त्यस्तालाई सरकारले कारबाही गर्ने दाबी गरेका छन्।  

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा बोल्दै उनले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भनेर हौवा फैलाएर बाहिरी सङ्कट ल्याउने दुष्प्रयास भइरहेको भन्दै भने ‘म सरकारको तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही गर्न ढिलो गर्दैनौँ।’

फागुन एक गते सार्वजनिक कार्यक्रममा दुर्गा प्रसाईँले एनआइसी एसियाको नामै लिएर बैंक डुब्ने अवस्थामा रहेको भन्दै बचतै फिर्ता लिन भनेका थिए।

अर्थमन्त्री महतले प्रसाईँको नाम भने लिएनन्। तर उनले जेजस्ता अभिव्यक्तिको प्रतिवाद गरेका थिए त्यो प्रसाईँकै गतिविधि केन्द्रित थियो।

उनले कार्यक्रममा 'समाजमा भ्रममार्फत हाहाकारको अवस्था सिर्जना गरेर राजनीतिक उद्देश्य प्राप्ति हुन्छ भन्ने कसैलाई लागेको छ भने त्यो सफल नहुने दाबी गरे।

उनले पछिल्लो समय लघुवित्त र सहकारीमा देखिएको विचलन र समस्याबाट फाइदा उठाएर राजनीतिक उद्देश्य पूर्ति गर्ने प्रयास भइरहेको र त्यसमा लघु वित्त र सहकारीबाट ऋण लिएकाहरूलाई उपयोग गर्न खोजिएको भन्दै त्यो एकदमै खतरनाक प्रवृत्ति रहेको बताए।

‘लिएको ऋण तिर्नुपर्दैन, हामीलाई सहयोग गर भन्दै एक समूह आएको छ। त्यो खतरनाक प्रवृत्ति हो। सरकारले अर्बौँ राहत दिनसक्ने अवस्था छैन। भ्रममा पर्न आवश्यक छैन। ब्याजको समस्या समाधान गर्न सकिन्छ। तर ऋण तिर्नै पर्दैन भन्नु गलत हो' उनले भने।

उनले फलाना बैंक डुब्दैछ, बचत फिर्ता लिनु भन्दै बैंकमा सङ्कट ल्याउने र विचलनमा लैजान केही समूह सक्रिय रहेको र सरकारले यस्तो गतिविधि नसहने उनको चेतावनी थियो।

'सरकारले यस्तो अराजकता हेरेर बस्दैन। लघु वित्तमा जोडिएको सबै बचतकर्ताहरू मिलेर यसको प्रतिवाद गर्नुपर्छ’ मन्त्री डा. महतले भने'सँगसँगै लघु वित्तलाई स्वास्थ्य, पारदर्शी र गरिब र विपन्नलाई केन्द्रित हुनुपर्छ।’

लघु वित्त निमुखा, गरिब र महिला केन्द्रित गराउनुपर्ने भन्दै अत्याधिक ब्याज असुलीलाई बन्द गर्नुपर्ने बताउँदै नाफा कमाउने औजारको रूपमा मात्र उपयोग नगर्न सुझाव दिए।

‘ऋण लिएपछि फिर्ता गर्नुपर्ने दायित्व पूरा गर्नुपर्छ। लघु वित्तको सञ्चालक बनेर जसले उद्देश्यविपरित काम गरेको छ, दुरुपयोग गरेको छ, अपारदर्शी ढङ्गबाट व्यक्तिगत फाइदा उठाउन खोजेका छन् त्यसलाई तपाईँहरू सबै मिलेर निरुत्साहित गर्नुपर्छ’ मन्त्री महतले भने।

उनले उद्देश्यभन्दा टाढा गएकाले सहकारीमा समस्या देखिएको तर राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा भएकाले लघु वित्तलाई पुरानै लयमा फर्काउन सम्भव रहेको उनले बताए।

५ फागुन, २०८०, २०:५५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।