समताको बदमासी ६ : पैसामा लफडा परेपछि अमेरिकाको सहयोगी संस्था बाहिरियो, साथै लागेर अमेरिका पुगेका मह जोडी बोल्नै मानेनन्

समताको बदमासी ६ : पैसामा लफडा परेपछि अमेरिकाको सहयोगी संस्था बाहिरियो, साथै लागेर अमेरिका पुगेका मह जोडी बोल्नै मानेनन्

काठमाडौं : सन् २०२२ नोभेम्बर महिनामा अमेरिकामा रहेका केही नेपालीहरूले नेपालको समता शिक्षा निकेतनलाई  आर्थिक सहयोग संकलन गर्न सांस्कृतिक कार्यक्रम ‘समता साँझ’ आयोजना गरे। कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ समेत संलग्न भएको उक्त कार्यक्रममा अन्य कलाकारहरू पनि जोडिए। 

‘समता ग्लोबल सिनेट’को आव्हानमा नोभेम्बर ५ देखि २२ सम्म अमेरिकाको विभिन्न राज्यमा भएको कार्यक्रममा समता स्कुलको संस्थापक उत्तम सञ्जेललाई आमन्त्रण गरियो। कार्यक्रमबाट शुरूमा सञ्जेलले सात हजार डलर सहयोगको अपेक्षा राखेका थिए।

कार्यक्रम निकै भव्य रूपमा सञ्चालन भइरहेकै बेला  समता शिक्षा निकेतन र समता ग्लोबल सिनेटबीच पैसाको विषयमा विवाद भयो।

सञ्जेलले पछि तीन लाख डलरभन्दा बढी रकम उठाएर हिनामिना गरेको भन्दै सिनेटका अध्यक्ष उत्तम गौलीलाई सार्वजनिक रूपमै आरोप लगाए। अमेरिकाको धेरै व्यक्तिहरू जोडिएकाले विवादले उग्र रूपमा लियो। छानबिन समिति समेत बन्यो।

अहिले समता ग्लोबल सिनेट समता शिक्षा निकेतनबाट पूर्ण रूपमै छुट्टिसक्यो। डेढ वर्षअघिसम्म नेपालमा समताको विभिन्न क्षेत्रमा भएको स्कुललाई आर्थिक रूपमा सहयोग गर्दै आएका सिनेटले अहिलेसम्म पनि आफ्नो वेबसाइटमा समता शिक्षा निकेतनसँग केही सम्बन्ध नभएको भनेर प्रेस विज्ञप्ति राखिरहेको देखिन्छ।

यता सञ्जेलले अमेरिकामा त्यति ठूलो रकम हिनामिना भएको कारण नेपालको ३०/३५ वटा समता विद्यालय बन्दै गर्नुपर्ने अवस्था आएको सार्वजनिक अभिव्यक्ति दिइराखे। अन्तर्राष्ट्रिय रूपमै विवाद भएपछि यसको लागि स्वतन्त्र छानबिन समिति बन्यो। समितिले २०२३ अक्टोबरमा प्रतिवेदन पनि सार्वजनिक गर्यो।

उकेराले प्राप्त गरेको उक्त प्रतिवेदन अनुसार सञ्जेलले कार्यक्रमबाट सात हजारको अपेक्षा गरेको भए पनि पछि २९ हजार २ सय ४५ डलर माग गरेको उल्लेख छ। जुन रकमलाई तत्कालीन अवस्थामा भए गरेका संवाद र सहमति अनुसार विनियोजित रकम हस्तान्तरण गरेको समेत प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार ‘समता ग्लोबल सिनेट र समता स्कूलबीचमा संस्थागत सहकार्य सम्बन्धी कुनै पनि डकुमेन्ट नरहेको र यसमा समता ग्लोबल सिनेटले आफ्नो रणनीतिक कार्ययोजना अनुसार समता स्कुलका अध्यक्ष उत्तम सञ्जेललाई सामेल गराइएको’ भनिएको छ।

महत्वाकांक्षी सञ्जेल
प्रतिवेदनमा ‘समता ग्लोबल सिनेट र समता स्कुलबीचमा काम गर्ने, सहकार्य गर्ने विषय उक्त मिति अर्थात् नोभेम्बर १, २०२२ भन्दा अगाडि नै गो फण्ड मार्फत अमेरिकामा रहनुभएका डा. उत्तम गौली र कुमार डाँगीको समन्वयमा रकम संकलन समेत गरेको देखिएको छ। यसैले लामो समयदेखि व्यक्तिगत रूपमा सहकार्य र सहभागिता समेत गर्दै दुवै समूहले आत्मसात गरेर एक अर्कोमा सहयोग गर्दै आएको समितिको जानकारीमा आएको’ उल्लेख छ।

उक्त कार्यक्रममा अमेरिकाकै विभिन्न राज्यहरूमा विभिन्न तरिकाले प्रतिव्यक्ति हजार डलर तिरेर सिनेटर बन्न मिल्ने आयोजकले जनाएको थियो। अहिले सिनेटमा दुई सयभन्दा बढी सिनेटर छन्। प्रतिवेदनको निष्कर्ष अनुसार यी दुई संस्थाबीच मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सञ्जेल र गौलीबीच ‘भद्र सहमति’ (जेन्टलमेन्ट एग्रिमेन्ट)का आधारमा काम प्रारम्भ गरेकाले पछि विभिन्न कारणले विवाद बढ्दै गएकोले थप जटिल समस्या उत्पन्न भएको देखिएको’ प्रतिवेदनमा उल्लेख छ।

विवादपछि सञ्जेलले माग गरेको भन्दा पनि बढी रकम दिएको भन्दै गौलीले पनि सार्वजनिक अभिव्यक्ति दिए। गौलीले उक्त कार्यक्रमबाट तीन लाख छ हजार १ सय ६८ डलर उठेको बताइएको छ। जसमध्ये ६१ हजार ५ सय २० डलर कार्यक्रममा खर्च भएको र २९ हजार २ सय ४५ समता स्कुललाई दिएको बताए। बाँकी रकम भने अक्षय कोषमा गएको समेत उनले बताए।

यता सञ्जेलले भने उक्त कार्यक्रम आफ्नो जिन्दगीकै कालो दिन भएको भन्दै उल्टै त्यहाँ आफैंले उठाएको ४६ हजार डलर बराबरको रकम पनि उनीहरूले खाइदिएको दाबी गरे। सञ्जेलले गौलीलाई अपराधी समेत भने। यसरी सार्वजनिक रूपमा दुवै आरोप प्रत्यारोपमा लागेपछि स्वतन्त्र छानबिन समिति बनेको थियो। 

यसबारेमा सिनेटको अध्यक्षसँग उकेराले सम्पर्क गर्दा स्कुल सम्बन्धी धेरै प्रश्नहरू आएपछि ‘सूचनानै निकालेर समता स्कुलसँग कुनै सम्बन्ध नभएको जानकारी गराउनु परेको र अहिले यस विषयमा छानबिन समितिले निष्कर्ष सहितको प्रतिवेदन नै सार्वजनिक गरेपछि थप कमेन्ट गर्ने अवस्था नरहेको' बताए।

स्कुलप्रति आफ्नै धेरै अनुत्तरित प्रश्न भएको समेत उनले जिकिर गरे। यस कार्यक्रमको सुरुवातदेखि नै जोडिए पनि यसबारे अहिले केही कुरा नगर्ने मदनकृष्ण र हरिवंशले बताए। यता सञ्जेल भने सम्पर्कमा नै आएनन्।

कसरी जोडिए समता सिनेट र समता शिक्षा निकेतन ?
गौलीले पनि अन्य पीडित जस्तै समता स्कुलबारे मिडियाबाटै थाहा पाएका रहेछन्। अमेरिका भ्रमणको बेलामा मदनकृष्णसँग उनको भेट भयो। समता स्कुलको संरक्षक भएको कारण उनले समताको लागि केही सहयोग गर्न आग्रह गरे।

गौली आफैँ अमेरिकामा प्रोफेसर हुन्। उनी पनि शिक्षा क्षेत्रमा केही गर्ने योजनामै थिए। यसै बेला नाम पनि मिल्दोजुल्दो राखेर ‘समता ग्लोबल सिनेट’अवधारणा बन्यो।

त्यही अवधारणा अनुसार शिक्षा क्षेत्रमा काम गर्ने र नेपालमा समता स्कुललाई पनि सहयोग गर्ने कुरा भयो। त्यही वर्ष अमेरिकाको मेरिल्यान्ड राज्यमा यो संस्था पनि दर्ता भयो। तर, एक वर्ष पनि पूरा नभई विवाद भएपछि समता ग्लोबल सिनेट समता स्कुलबाट टाढा भयो।

विवादपछि सिनेटको नाम नै परिवर्तन गर्ने कुरा पनि आएको थियो। दुवै संस्थाको बीचमा नामले गर्दा पनि भ्रम उत्पन्न हुनसक्ने भन्दै नाम परिवर्तन गर्ने प्रस्ताव पारित नभएको भनेर सिनेटले आफ्नो वेबसाइटमा राखेको छ।

‘समता ग्लोबल सिनेट र समता स्कुलबीचमा भ्रम उत्पन्न हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्न र सिनेटरज्यूहरूलाई सुसूचित गर्नको लागि संरक्षक मदनकृष्ण श्रेष्ठज्यूको प्रस्ताव बमोजिम सिनेटको २०२२/१२/२५ बसेको बैठकले पारित गरिसकेको निर्णयलाई सर्वसम्मतीले पारित गर्न वार्षिक साधारणसभामा प्रस्तुत गरिएको थियो। समता ग्लोबल सिनेटको नाम परिवर्तन गरी ग्लोबल एजुकेसन सिनेट भनी नाम परिवर्तन गर्ने निर्णय साधारण सभाबाट पारित हुन सकेन। संस्थाको नाम यथावतै रहने’ वेबसाइटमा उल्लेख छ।

समताको नाममा उत्तम सञ्जेलले गरेको बदमासीबारे उकेराले लगातार समाचार प्रकाशित गर्दै आएको छ। ब्यक्तीगत जग्गा दान लिएर अलपत्र पार्ने, विद्यालय खोलेर अलपत्र पारेर सम्पर्कहीन हुने, घर भाडा नतिर्ने, शिक्षक र कर्मचारीलाई पारिश्रमिक नदिने लगायतका बदमासी खुलेका छन्।

समताबारे सञ्जेलसँग कुरा गर्न उकेराले पटक-पटक प्रयास गरे पनि उनी सम्पर्कमा आएका छैनन्। पीडितहरु भने स्थानीय सरकारदेखि अदालतसम्म पुगिरहेका छन्।

समताको नाममा उत्तम सञ्जेलको बदमासी

४ फागुन, २०८०, १०:४३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।