आफ्नै देशका नागरिकलाई काठमाडौंमा बन्धक बनाएर पैसा असुल्ने ७ भारतीय पक्राउ

आफ्नै देशका नागरिकलाई काठमाडौंमा बन्धक बनाएर पैसा असुल्ने ७ भारतीय पक्राउ

काठमाडौं : अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर ११ जना भारतीय नागरिकलाई बन्धक बनाइएको अवस्थामा नेपाल प्रहरीले गौशालाबाट उद्धार गरेको छ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै अपरेसन ‘डंकी’ मार्फत् बन्धक बनाउने गिरोह रहेको आरोपमा ७ जना पक्राउ गरेको जनाएको हो।

मेक्सिको हुँदै अमेरिका लैजाने भनेर काठमाडौं ल्याई बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई उद्धार गरिएको काठमाडौं प्रहरी प्रमुख भूपेन्द्र खत्रीले बताए। गिरोहले एक जना बराबर ४० देखि ४५ लाख भारतीय रुपैयाँ लिएको खुलेको छ।

प्रहरीले पक्राउ परेकाहरूबाट नक्कली कागजात, रबर स्टाम्प र बोर्डिङ पास बरामद भएको जनाएको छ।

‘११ जना पीडित भारतीय नागरिकहरूलाई उद्धार गरेर हामीले उहाँहरूलाई होटलमा राख्ने व्यवस्था मिलाएका थियौं। गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा अनुसन्धानलाई निष्कर्षमा पुर्यायौँ,’ प्रहरी प्रमुख खत्रीले भने, ‘अमेरिका जान एक जनाले ४० देखि ४५ लाख भारतीय रुपैयाँ बुझाउने र काठमाडौं आएपछि तीन हजार डलर र पासपोर्ट बुझाउनुपर्ने भनिएको खुलेको छ।’

प्रहरीका अनुसार बन्धक बनाइएको ठाउँमा प्रविधिको प्रयोगले वरीपरी मेक्सिकोको परिवेश बनाएर उनीहरूलाई मेक्सिकोमा राखिएको जस्तो गरेर उनीहरूका परिवारसँग पैसा मागेको खुलेको छ।

पक्राउ परेकाहरूका भारतको नयाँ दिल्लीका ४२ वर्षीय चरणजित सिंह, पन्जावका मनीषकुमार मल्होत्रा, ५१ वर्षीय निपुन गुप्ता, मध्यप्रदेश राजगढका ३० वर्षीय रवि मेवादे, ५८ वर्षीय इन्दु सिंह यादव, महिपालपुरका ५४ वर्षीय अब्दुल रहिम र राजस्थानका ४८ वर्षीय रामचन्द्र शर्मा छन्।

पक्राउ परेकामध्ये दुई जना धेरै अघिदेखि उपत्यकामा आएर काम गरिहेकाहरू रहेको खुलेको छ।

इन्दुसिंह २०४२ सालमै नेपाल आएर गार्मेन्टमा काम गरेका हुन्। उनी ललितपुरको भैंसेपाटी बस्दै आएका थिए। यस्तै, २०४६ सालमा नेपाल आएका निपुन गुप्ताले घडी पसल गरेका थिए।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

फागुन ३, २०८० बिहीबार २१:४०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।